सभापति शेरबहादुर देउवामाथि लगाइएको आरोप कुण्ठा मात्रै हो : विमलेन्द्र निधी

इनेप्लिज २०७५ भदौ २८ गते १:३१ मा प्रकाशित

पछिल्लो समय सरकारको कामप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विभिन्न आरोप लगाइरहेको छ । तर कांग्रेसको आन्तरिक समस्या पनि जस्ताको तस्तै छ । यिनै विषयमा केन्द्रित रहेर ऋषि धमलाले कांग्रेस उपसभापति विमलेन्द्र निधीसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

-विमलेन्द्र निधी, उपसभापति, नेपाली कांग्रेस

अहिलेको सरकारप्रति तपाईहरुको असन्तुष्टी किन ?
सरकारले नागरिकको हितमा काम गर्न सकेन । अधिकार खोस्न थालिएको छ । नागरिक अधिकार नै हराउन थाल्यो । एउटा मन्त्रीलाई कसैले कालो झण्डा देखाउँदैमा भूमिगत समुहको सदस्य भनेर दमन गरिएको छ । दिनदिनै महिला हिंसा र बलात्कार भइरहेका छन्, सरकार मौन छ । प्रेस स्वतन्त्रता खोस्न लागिएको छ । प्रदेश सरकारको हात खुट्टा बाँधिएको छ । कम्युनिष्ट सरकारले वास्तवमै संघीयतामा विश्वास गरेको छैन । गलत ड्राइभरबाट देश संचालन भइरहेको छ ।

नेपालको लागि संघियता नै अभिषाप हुने हो कि भन्ने आशंका उब्जिएको छ नि ?
राजा महेन्द्रको पालामा पनि बहुदल र संसदीय प्रणाली नेपालका लागि अफाप हो भनिन्थ्यो । अहिले नेपालको लागि संघियता नै अभिषाप हो भन्नु पनि महेन्द्रकालिन सोच हो । संसारमा संघीय शाषन प्रणाली अति सुन्दर र उन्नत मोडल हो ।

तर संघीय प्रणालीले गर्दा जनताको टाउकोमा आर्थिक भार पर्यो । यसले कसरी जनताको हित हुन्छ ?
गिरिबी निवारण र आर्थिक प्रगति गर्न नसक्दा यो समस्या देखिएको हो । संघीय प्रणाली भनेको नेताहरु पाल्नको लागि होइन, देशको आर्थिक विकासका लागि हो । सबै स्थानीय निकायलाई जिम्मेवारी र अधिकार दिने हो भने उनीहरुले योजना बनाएर काम गर्न पाउँछन् । त्यसपछि विकासको अभियान अगाडि बढ्छ । नेपालले संघीयता धान्न सक्दैन भन्नु संघीयताविरोधी सोच हो ।

नेपाली कांग्रेसले अहिले गर्दैछ ?
विधान संशोधन मस्यौदा समिति निर्माण गरेका छौँ । समितिले छलफल गरेर मस्यौदा बन्छ । संघीयताअनुसारको संरचना निर्माण गर्छौँ ।

कस्तो विधान बन्छ ? सभापतिलाई सबै अधिकार दिने तयारी हो ?
वीपी कोइरालाका पालादेखि नै कांग्रेसमा सभापतिलाई धेरै अधिकार दिइएको थियो । अहिले आधुनिक शाषन प्रणाली दीक्षित हुँदै गएको छ । तदनुकुल नै हामीले पार्टी संगठनलाई पनि रुपान्तरण गर्दै जान्छौँ । पार्टी सभापति शक्तिशाली हुने तर तानाशाही नहुने तरिकाले विधान बनाउँछौँ ।

सभापति शेरबहादुर देउवा असफल हुनुभयो भन्ने आरोप लागेको छ । तपाईलाई के लाग्छ ?
यो पूर्वाग्रही सोच हो । आलोचना भनेको हामी सबैले पाएका छौँ । यो पुँजीवादी प्रतिस्पर्धाको नराम्रो पक्ष भनेको एक अर्काको घाँटी निमोठ्ने प्रवृत्ति हो । कांग्रेस प्रजातान्त्रिक प्रणाली भएकाले कहिलेकाँही यस्ता पूर्वाग्रही कुरा आउँछन् ।

तर देउवा सभापति भएकै बेला कांग्रेसले चुनाव त हार्यो नि ?
कांग्रेस पुरै मरेको त छैन नि । एउटा चुनावमा हार्यो भन्दैमा मरेको जस्तो व्याख्या गर्नुभएन नि । अहिले हारेको छ, अर्को पटक जित्छ । रामचन्द्र पौडेलले प्रधानमन्त्रीका लागि १७ पटक चुनाव लड्दा पनि हार्नुभयो, अब असफल भन्ने त ? त्यसैले सभापति देउवामाथि लगाइएको आरोप कुण्ठा मात्रै हो ।

प्रतिक्रिया