महँगो मूल्य लिने होटल सञ्चालक पक्राउ

इनेप्लिज २०७२ वैशाख १९ गते १०:४५ मा प्रकाशित

pakrau-गजुरी (धादिङ), १९ वैशाख । विनाशकारी भूकम्पपछि राजधानीबाट बाहिरिने यात्रुसँग अत्यधिक मूल्य लिने राजमार्गका होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

राजमार्गका होटलको एक्कासि अनुगमन गर्दा यात्रुले गरेको उजुरी र अनुगमनका क्रममा भेटिएको प्रमाणका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार जिल्ला होटल सङ्घका अध्यक्ष एवम् कान्तिपुर होटल भूमेस्थानका प्रोप्राइटर राजकुमार प्याकुरेल, धार्केस्थित न्यु बुटवल होटलका सञ्चालक प्रदीप गजुरेल र भूमेस्थानस्थित हिराचन होटलका सञ्चालक सुमन रिजाललाई पक्राउ गरिएको प्रहरी निरीक्षक हेमन्त क्षेत्रीले बताउनुभयो ।

राजमार्गको खानीखोलादेखि बेनीघाटसम्मका होटल र भोजनालयमा गरिएको अनुगमनका क्रममा २१ होटलमा जिल्ला अनुगमन समितिले गरेको अनुगमनका क्रममा सुधार गर्न प्रतिबद्धता जनाउनेलाई तारेख दिइएको छ । राजमार्गका अत्यधिक मूल्य लिएको जानकारीपछि सो क्षेत्रमा अनुगमन टोली खटाइएको थियो । राजमार्गमा अत्यधिक महँगो मूल्यमा होटलमा पकाइएका खानेकुरा मात्र होइन ‘जङ्क फुड’समेत धेरै मूल्यमा बिक्री गर्ने गरेको बताइएको थियो ।

यसैगरी बढी भाडा असुल गर्ने यातायात साधनलाई समेत नियन्त्रणमा लिएर भाडा फिर्ता गराइएको छ । मितेरी यातायात एन्ड अटो प्रालिको बा५ख १२२७ नंले काठमाडौँ इटहरीसम्मको भाडा रु एक हजार ७४० लिएकामा यात्रुको उजुरीका आधारमा रु ५०० का दरले तत्काल आठ जनाको बढी भाडा रु चार हजार फिर्ता गराइएको प्रहरी निरीक्षक हेमन्त भण्डारीले बताउनुभयो ।

विनाशकारी भूकम्पले आहत भएका बेला सकेसम्म सहयोग गर्नुपर्ने र सेवा उपलब्ध गराउनुपर्नेमा यात्रुसँग ठगी गरेकालाई कारबाही गरिने प्रजिअ वासुदेव घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया