नेपाली जनसम्पर्क समिति अमेरिकाको मानवीय सहयोगका लागि हार्दिक अनुरोध !

इनेप्लिज २०७२ वैशाख १४ गते २२:४४ मा प्रकाशित
logo
मातृभूमि नेपालमा अप्रिल २५ तारिख शनिवार गएको विनाशकारी भूकम्पमा परी भएको जनधन राष्ट्रका लागि अपुरणीय छ | यस विभत्स प्राकृतिक विपत्तीमा परी ज्यान गुमाउनु भएका सबै दाजुभाई,दिदीबहिनीप्रति हामी हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं | यो महा विनाशकारी प्राकृतिक विपत्तिमा परी घाइते हुनु भएका सबैको यथोचित शीघ्र उपचारको प्रवन्ध गर्न सरकार,गैर सरकारी संघ,संस्था र अन्य सरोकारवाला पक्षसंग आग्रह गर्दछौं | यो महा विपत्तिमा परी ज्यान गुमाउनु भएका परिवारजनका सबैमा शोकको यो घडी धैर्यधारण गर्न सक्ने सामर्थ्य प्राप्त होओस् भन्ने कामना गर्दछौं |
अकल्पनीय यो विपतीको अत्यन्त हृदयविदारक क्षण हामी प्रवासमा रहेका आम नेपालीहरुको मन रोएको क्षण हो | मुलुक शोक र आपतमा डुबेको बेला हामी सबै मिली राहत तथा उद्धारका लागि सहयोग जुटाउन होस्टेमा हैंसे गरौँ |
नेपाली जनसम्पर्क समिति,अमेरिकाको तर्फबाट अमेरिकावासी सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यो क्षण हातेमालो गर्दै मुलुकका लागि आवश्यक राहत र उद्धार सहयोग जुटाउने कार्यमा सरीक हुनु हुन जनसम्पर्क समितिको तर्फबाट हार्दिक अपील गर्दछौं | जनसम्पर्क समितिका तमाम सदस्य एवं शुभेच्छुक साथीहरु र आदरणीय नेपाली समुदायका सदस्य र संघसंस्थाका प्रतिनिधिहरु र नेपालका हितैषी मित्रहरु,यो महा विपत्तीमा हाम्रो मानवीय धर्म र दायित्व निर्वाह गर्न हामीले तत्काल कुनै ठोस पहल गर्नुपर्छ | मातृभूमी नेपालमा परेको यो राष्ट्रिय शोकको घडीमा एकजुट भै सबैसंग हातेमालो गरी जुट्न आग्रह गर्दछु |
साथै नेपालमा भएको यो प्राकृतिक विनाशको जनधनको क्षतिपछि आवश्यक राहत,उद्धार र पुनर्स्थापना कार्यमा सहयोग गरिदिन रेडक्रस लगायत अन्य परोपकारी संघ संस्थासहित अन्तरार्ष्ट्रिय समुदायसमक्ष समेत आग्रह गर्दछौं |हामी आफैं नेपाल गएर राहत सामाग्री हस्तान्तरण र उद्धार कार्यमा सहभागी हुनेछौं |
यसका लागि समितिका तर्फबाट म स्वयमसहित उपसभापति धर्मराज श्रेष्ठ र कार्य समितिका सदस्य हरिबोल भण्डारीलगायतका साथीहरु नेपाल जान लागेको समेत जानकारी गराउदछु | अहिले समितिका सबै च्याप्टर र यसका शुभेच्छुकहरु यो अभियानमा सक्रियतापूर्वक लागिपर्नु भएको छ |तसर्थ हामी नेपाली समुदायका सबै सदस्यहरुलाई यो मानवीय सेवाको कार्यमा सहभागी भैदिनु हुन हार्दिक अपील गर्दछौं |
जय नेपाल !
आनन्द विष्ट
सभापति
नेपाली जनसम्पर्क समिति,
अमेरिका परिवार
Bank of America
Nepali Public Relation Committee
Routing No.021000322
Checking Account
483045521284
For Details please go to this web : 
 http://nprccusa.org/

प्रतिक्रिया