पूर्वाञ्चलमा एक वर्षमा दुर्घटनामा ४३६ जनाको मृत्यु

इनेप्लिज २०७२ वैशाख १ गते ७:५६ मा प्रकाशित

accident-signपथरी (मोरङ), १ वैशाख । विसं २०७१ मा पूर्वाञ्चचलमा दुर्घटनाबाट ४३६ जनाले ज्यान गुमाएका छन् ।

विसं ०७१ वैशाखदेखि चैतसम्म पूर्वाञ्चलमा एक हजार ६४३ सवारी दुर्घटनामा ४३६ ले ज्यान गुमाएका हुन् । जसमा दुई हजार ८६० जना घाइते भएका छन् ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार विशेषगरी दुर्घटनामा निजी सवारी साधन मोटरसाइकल र कार जिप बढी देखिन्छ ।

यसैबीच पूर्वाञ्चल ट्राफिक कार्यालयले यो वर्ष २८ हजारभन्दा बढी विद्यार्थीलाई सचेतना कक्षा, २९ हजार चालकलाई सुरक्षा कक्षा, १४ हजार ५०० सर्वसाधारणलाई सचेतना कक्षा र अन्य विभिन्न सचेतनाका कार्यक्रम गरेको दाबी गरेको छ ।

यस्तै दुर्घटना हुने पूर्वका मुख्य ७५ स्थान पहिचान गरी त्यसमा सचेतना तथा होसियारी बोर्ड राख्ने, ४५ स्थानमा गति नियन्त्रण गर्न चेकिङ ब्यारिकेट राख्ने, रिफ्रेस सेन्टर सञ्चालन गर्ने, सवारीको हुट हटाउनेलगायतका काम गरेको जनाएको छ ।

पूर्वाञ्चल ट्राफिक कार्यालयले पूर्वमा १५३ सवारीचालकलाई ज्यान मुद्दा चलाएको र २९ लाई मापसे गरी सार्वजनिक सवारी चलाएकामा सार्वजनिक अपराधको मुद्दा चलाएको र चार हजार ३३५ जना चालकको लाइसेन्स प्वाल पारेको जनाएको छ ।

प्रतिक्रिया