अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही जनवरी ६, २०१८ का दिन भर्जिनियाको मनासासमा सर्बोत्कृष्ट पुस्तक पुरस्कार वितरण तथा अनेसास भेला हुने भएको छ । भेलामा अमेरिकाका बिभिन्न राज्यहरु लगायत नेपाल, जापान र अन्य मुलुकहरूबाट साहित्यकारहरुको उपस्थिति रहने जनाइएको छ । कार्यक्रममा बिगत २००३ देखि प्रदान गरिंदै आएको अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार वितरण गरिने, अनेसास भेला र कवि गोष्ठी आयोजना गरिने आयोजकहरुले बताएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आफ्नै कार्यालय हालसम्म नभएकोले वाशिंगटन क्षेत्रमा यसको प्रधान कार्यालय निर्माण गर्न अनेसासको भेला आयोजना गरिएको र सो कार्यक्रममा अमेरिका लगायत बिभिन्न च्याप्टर, ट्रष्टी सदस्यहरु, पूर्व अध्यक्षहरु, आजीवन सदस्यहरु, पुरस्कारदाताहरु, पुरस्कार बिजेताहरु, अनेसासलाई मायाँ गर्ने विशिष्ट महानुभावहरुको उपस्थिति रहने र सो कार्यक्रममा सबैबाट सक्दो सहयोग प्राप्त हुने अपेक्षा गरिएको अध्यक्ष पदम विश्वकर्माले जनाउनु भएको छ ।
यसै गरि अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष डा. श्याम कार्कीले कार्यक्रममा सहभागी हुन यसका च्याप्टरहरु, ट्रष्टी सदस्यहरु, संस्थापकहरु, यसका आजीवन सदस्य र अन्य समाजसेवी, ब्यापारी, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु र पत्रकारहरुलाई उपस्थित भइ कार्यक्रम सफल बनाउन सहयोग गर्न आह्वान गर्नु भएको छ । नेपाली भाषा साहित्यको संरक्षण गर्नु सबैको उत्तिकै जिम्मेवारी रहेकोले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको यस महत्वपूर्ण कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रष्टी, पुरस्कार समितिका अध्यक्ष सिता पाण्डेले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट २००३ देखि प्रदान गर्दै आएको अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार यस बर्ष पनि प्रदान गरिने र सो समरोह भव्यरुपमा सम्पन्न हुने धारणा व्यक्त गर्नु भएको छ । २०१५ जनवरी १ देखि २०१६ डिसेम्बरसम्मको अबधिमा प्रकाशित बिभिन्न ९० भन्दा बढी कृतिहरु पुरस्कार छनोटका लागि प्राप्त भएकोमा त्यस मध्ये उत्कृष्ट ठहरिएका कृतिहरुलाई अनेसासका बिभिन्न पुस्तकहरु प्रदान गरिने र त्यस मध्ये साहित्यकार कृष्ण धराबासीको ग्रेट फल्स यस बर्षको सर्बोत्कृष्ट पुस्तक पुरस्कार पाउन सफल भएको जनाउनु भयो ।
प्रतिक्रिया