एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस) सुबिधा नविकरणको पहल गर्न वाशिंगटन राजदुतावासलाई ज्ञापण पत्र बुझायो

इनेप्लिज २०७४ पुष ८ गते ०:३८ मा प्रकाशित


टेक्सास (अमेरिका)- अमेरिकामा रहेका हजारौं नेपालीलाई प्राप्त अस्थाई सुरक्षित दर्जा (टिपिएस) सुबिधा नविकरण गर्नका लागी नेपाल सरकार मार्फत आवश्यक पहल थाल्न गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले औपचारिक अनुरोध गरेको छ ।

अमेरिकामा रहेको नेपाली राजदुतावासलाई एनआरएन अमेरिकाले टिपिएस नविकरणका लागी नेपाल सरकार मार्फत आवश्यक पहल गरिदिन एक ज्ञापण पत्र समेत बुझाएको छ ।

हालै एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलको नेतृत्वमा गएको टिमले नेपालीलाई प्राप्त अस्थाई सुरक्षित दर्जा (टिपिएस) नविकरण गर्न अमेरिकास्थित नेपाल ककस संग सम्बन्धित कंग्रेसम्यान र होमल्याण्ड सेक्युरीटीका अधिकारीसंग अनुरोध र छलफल गरेको थियो । सो छलफलका क्रममा नेपाल सरकारले आधिकारीक रुपमा टिपिएस नविकरणका लागी अनुरोध गरेमा सम्बन्धित निकायले नविकरणका लागी प्रक्रिया शुरु गर्ने बताएपछि एनआरएन अमेरिकाले राजदुतावासलाई ज्ञापणपत्र बुझाएको हो ।

करिब ३ बर्ष अघि नेपालमा भएको महाभुकम्प पछिको परिस्थतीलाई मध्यनजर गर्दै अमेरिकामा रहेका नेपालीलाई अस्थाई सुरक्षित दर्जा(टिपिएस) प्रदान गरेको थियो ।

आउंदो जुन महिनादेखी समाप्त हुन लागेको अस्थाई सुरक्षित दर्जा (टिपिएस) नविकरण हुने कि नहुने आउंदो मार्च महिनामा निर्णय हुने सम्बिन्धत निकायका अधिकारीहरुले बताइसकेका छन् ।

ट्रम्प सरकारको पछिल्लो आप्रवासी निती र बिभिन्न देशको अस्थाई सुरक्षित दर्जा (टिपिएस )नविकरण नगरेका कारण नेपालको टिपिएस के होला भन्ने अन्यौलग्रस्त अवस्थामा एनआरएन अमेरिकाले नविकरणका लागी पहल थालेको हो ।

प्रतिक्रिया