पहिरोका कारण सात घर विस्थापित, ३० घर जोखिममा

इनेप्लिज २०७४ साउन २१ गते १०:३७ मा प्रकाशित

सोलुखुम्बु, २१ साउन । हुँगा नदीको कटानका कारण शुरु भएको पहिरोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ बुङका सात घरपरिवार विस्थापित भएका छन् ।

पहिरोका कारण स्थानीय रामबहादुर बस्नेत, नारायणकुमार बस्नेत, प्रेमकुमार बस्नेत, लक्ष्मण बस्नेत, ताराकुमारी बस्नेत, कुमारी बस्नेत र पदमबहादुर बस्नेतको घर बगाएका कारण उनीहरुको परिवार विस्थापित भएका हुन् ।

उनीहरु अहिले छिमेकीकोमा आश्रय लिएर बसेका महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले जानकारी दिनुभयो । त्यहाँका अरु ३० घर पहिरोको उच्च जोखिममा परेका छन् ।

गत वर्ष पनि जोखिममा बसेका त्यहाँका बासिन्दाको यस वर्ष भने घरबास नै बगाएको हो । सो ठाउँमा गत हिउँदमा समेत सुक्खा पहिरो झरेको थियो । घर बगाएका अरुको शरणमा रहेको र घर जोखिममा भएकासमेत रात बिताउन अरुको घर तथा गोठको साहारा लिन थालेका छन् ।

प्रतिक्रिया