स्वास्थ्य सहयोग बढाउन दूतावासमा ज्ञापनपत्र

इनेप्लिज २०७४ असार १६ गते १३:५५ मा प्रकाशित

काठमाडौँ, १६ असार । एड्स रोगविरुद्धका अभियानकर्मीले चीनसँग स्वास्थ्यसम्बन्धी विश्व सहायता कोषमा थप रकम सहयोग गरिदिनका लागि आज चिनियाँ राजदूतावासमा ज्ञापनपत्र बुझाएका छन् ।

राष्ट्रिय एचआइभी महासङ्घ, एड्स हेल्थ केयर फाउन्डेसनलगायत स्वास्थ्यसँग सरोकार भएका अन्य संस्थाले ज्ञापनपत्र बुझेपछि दूतावासले सो चासोलाई सकारात्मक रुपमा लिएको राष्ट्रिय एचआइभी महासङ्घका अध्यक्ष अच्युत सिटौलाले जानकारी दिनुभयो । ज्ञापनपत्रमा सन् २०१७ देखि १९ सम्मका लागि एड्स, क्षयरोग तथा मलेरियाविरुद्ध लड्नका लागि विश्व कोषमा आफ्नो प्रतिबद्धतानुरुपको पूर्ण सहयोगका लागि आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझाउँदै एचएफ नेपालका राष्ट्रिय कार्यक्रम संयोजक दीपक ढुङ्गेलले चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो भन्दै, विश्वले स्वास्थ्य क्षेत्रमा चीनसँग अझ बढी सहयोगको अपेक्षा गरेको धारणा राख्नुभयो । एड्स, क्षयरोग र मलेरियाविरुद्ध विश्वव्यापी रुपमा लड्ने अभियानका लागि चीनले विश्व सहायता कोषमा एक बिलियन डलर बराबरको सहायता उपलब्ध गराउनुपर्ने ज्ञापनपत्रमा भनिएको छ । युएन एड्सका अनुसार विश्व सहायता कोषमा कटौतीको यो शृङ्खलाले सन् २०२० सम्ममा एचआइभी उपचार र सहयोगी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा समस्या हुने र यसले २१ मिलियन मानिसको ज्यान जान सक्ने खतरा रहने छ ।

प्रतिक्रिया