पर्वत शालिग्रामकी अपांग बेसहारा बालिका आशा । पढ्न पनि मेधावी । विडम्बना ! उनी विद्यालयबाट निकालिइन् । कारण— विद्यालयमा तिर्ने शुल्क थिएन उनीसँग । सन् २०११ को घटना हो यो ।
टेलिभिजन र अनलाइन न्युजमा यो घटना देखेपछि इजरायलमा केयर गिभर (वृद्धावृद्धाको हेरचाह)को काम गर्दै आएका नवराज आचार्यको मन खुबै पोल्यो । नवराजले सोचे— यी बालिकाको लागि केही गर्नैपर्छ । र, यी एउटी होइनन् यस्ता बालबालिका नेपालमा धेरै छन् । ती बालबालिकाका लागि पनि मैले सोच्नैपर्छ ।
कसरी यस्ता बालबालिकासँग जोडिने भनेर धेरै घोत्लिए उनी । अन्ततः उनको दिमागमा एउटा उपाय फु¥यो— नेपालबाट पुस्तक मगाएर इजरायलमा बेच्ने । पुस्तकबाट आएको नाफा परोपकारसँग जोड्ने ।
यसो गर्दा समस्यामा परेका धेरैले सहयोग पाउने र आफूलाई आत्मसन्तुष्टि पनि मिल्ने ।
सन् २००७ मा इजरायल प्रवेश गरेका नवराज २०११ बाट पुस्तक बेचेर आएको नाफाबाट परोपकारमा जोडिन थाले । उनले हालसम्म झन्डै हजार हाराहारीमा पुस्तक बेचिसकेका छन् । अप्ठ्यारोमा परेका धेरैलाई सहयोग जुटाएका छन् ।
“सुरु–सुरुमा नेपालबाट पुस्तक झिकाएर छुट्टीको दिनमा पार्कतिर बसेर बेच्थें,” उनी भन्छन्, “अहिले त सामाजिक सञ्जालमार्फत नै पुस्तक बेच्ने गर्छु । पाठक भने नेपाली नै हुन् ।”
पार्कमा बसेर पुस्तक बेच्दा इजरायलीहरू पनि चासो मानेर सोध्थे रे नवराजलाई ! आफ्नो अभियान बताएपछि स्याबासी दिन्थे रे ! यसले उनमा हौसला थपिँदै गयो ।
नेपालीहरूले पनि उनको अभियानलाई साथ दिँदै गए । आफूले किनेको पुस्तकको पैसा परोपकारमा खर्च हुने भएपछि खुसी भएरै किन्छन् नेपालीहरू । विशेषगरी साहित्यिक, गैरसाहित्यक र समाजमा सकारात्मक सन्देश दिने पुस्तक बढी बिक्री हुन्छन् । पुस्तकको आम्दानीबाट नवराजले दर्जनभन्दा बढी सामाजिक संस्थालाई निरन्तर सहयोग गर्दै आएका छन् ।
खुसीको कुरा के भने नवराजले पुस्तक बेचेर परोपकारसँग जोडिरहँदा साथीहरूको सहयोग थपिँदै गयो । उनको अभियानलाई साथ दिन हालसम्म ८५ लाखभन्दा बढी साथीहरू (धेरै त सामाजिक सञ्जालमा भेट भएका)ले सहयोग गरेछन् । त्यसैगरी पुस्तक बेचेर आएको २२ लाखभन्दा बढी उनले सामाजिक क्षेत्रमा खर्च गरेका छन् ।
नवराजलाई साथीहरूले यसरी विश्वास गरेर सहयोग गर्नुको काइदा भने बेग्लै रहेछ । नवराजको एउटा क्लोज फेसबुक ग्रुप छ ‘मेरो प्रयास र सहयोग गतिविधि ।’ उनी आफू कस्तो सामाजिक काम गर्दैछु, के सामाजिक काम गरेँ, कोमार्फत सामाजिक कार्यमा हात हाल्दैछु, कसले सहयोग गरेको छ, नवराजले जसका लागि सहयोग जुटाउने अभियान थाल्छन्, जसलाई सहयोग जुटाउँछन्, जसलाई सहयोग गर्दै जन्छन्, ती सबै एक–एक गरी त्यो ग्रुपमा पोस्ट गरिदिन्छन् । सम्भव भएसम्म भिडियो, फोटो पनि पोस्ट गर्छन् । १ रुपैयाँ खर्चको समेत उल्लेख गर्छन् उनी । अरुले दिएको सबै पैसा सक्दो सामाजिक कार्यमै खर्चिन्छन् । अरु आवश्यक परे गोजीबाटै हाल्छन् । यसैले पनि उनलाई विश्वास गर्नेहरू बढ्दै गएका छन् ।
कुनै सामाजिक काम गर्न जुट्दैछु भनेर उनले पोस्ट गरे भने दाताहरूको लस्कर लाग्छ । उसो त उनको फेसबुकमा पनि सकारात्मक कुराहरूले भरिन्छ । उनी कमै लेख्छन् भने अरुले लेखेका सकारात्मक कुरा सेयर गरिहाल्छन् ।
कसलाई सहयोग गर्ने भनेर चाहिँ मिडियामा आएका समाचार र आफूले चिनेका व्यक्तिमार्फत आएका सूचनालाई आधार मान्छन् उनी । यही आधारमा एक दर्जन संस्था, कोसिस अभियानलगायत विभिन्न व्यक्तिलाई सहयोग रकम उपलब्ध गराइसकेका छन् । आफूले सहयोग गरेका व्यक्ति, संस्था, अभियानलाई उनी नेपाल आएका बेला भेट्छन् र अवलोकनसमेत गर्छन् । “मेरो सानो कार्यले धेरैलाई ठूलै सहयोग मिल्दो रहेछ,” नवराजले भने, “दुःखी, पीडित र असहायको मुहारमा खुसी आएको देख्दा सबैभन्दा बढी खुसी लाग्दो रहेछ ।”
नवराज अहिले पार्क पुस्तकालय निर्माण अभियानमा छन् । पेप्सीकोलामा निर्माण गर्न लागिएको नेपालकै पहिलो पार्क पुस्तकालयलाई लिएर उनी उत्साहित छन् । खोटाङको दिप्लुङमा २०३४ सालमा जन्मिएका नवराजलाई कोदोसँग साटेर साथीको सेकेन्ड ह्यान्ड जिन्स लगाएको अहिले पनि याद छ । पढाइ सकेपछि २०५६ बाट एउटा कम्पनीमा काम गरे । पछि त्यो छोडेर इजरायल गए । उनी आफूभन्दा अरुलाई धेरै पीडित देख्छन् अनि केही गरौंजस्तो लाग्छ ।
रोजगारीका लागि इजरायल पुगेका नवराजले ‘खान पुगोस् दिन पुगोस्’बाट पुस्तक बेच्ने यात्रा थालेका थिए । उनले अहिलेसम्म धेरै बेचेको पुस्तकसमेत यही हो ।
कुरियर गर्दा पुस्तक महँगो पर्ने हुँदा उनी नेपाल जाने–आउने साथीभाइसँग अनुरोध गरेर मगाउँछन् । इजरायलमा एउटा पुस्तक करिब १५–२० डलरमा बेच्छन् । उनको काम देखेर धेरैले पुस्तक खरिद गर्छन् ।
पेप्सीकोलामा बन्न लागेको पुस्तकालयका लागि ५० लाख हारहारीमा खर्च लाग्ने अनुमान छ । उनी यही रकम जुटाउन लागिपरेका छन् ।
प्रतिक्रिया