‘जनसेवामा लाग्न प्रधानमन्त्री दाहालको निर्देशन’

इनेप्लिज २०७३ कार्तिक १२ गते १३:५८ मा प्रकाशित

dकाठमाडौँ, १२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्तालाई विकास र जनसेवामा सहभागी हुन गाउँ–गाउँमा जान निर्देशन दिनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) निकट मोर्चा तथा जनवर्गीय सङ्गठनका प्रमुखसँग आज भएकोे सामूहिक भेटमा प्रधानमन्त्रीले भन्नुभयो, “पार्टीको सम्पूर्ण शक्तिलाई विकास र जनसेवाका काममा लगाउन जरुरी छ । त्यसका लागि सरकारले पूरक बजेट ल्याएर भए पनि जनताका आकांक्षा सम्बोधन गर्नेछ । तपाईंहरु पनि कार्यक्रम बनाएर गाउँ गाउँमा जानुस् ।”

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री दाहालले गरीबका लागि सरकार कार्यक्रम, युवा स्वरोजगार र जनता पेन्सन कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “१० देखि १५ अर्ब बजेटको व्यवस्था गरेर गरिबका लागि सरकार कार्यक्रमलाई प्रभावकारी बनाइँदैछ । युवा स्वरोजगार कार्यक्रम पनि पहिलेभन्दा प्रभावकारी रुपमा जान्छ ।” उहाँले जनताका लागि जनता वा किसान पेन्सन कार्यक्रम ल्याउन लागिएको जानकारी दिँदै यसले जनतामा नयाँ आशा सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले एउटा तप्का सरकारले जतिसुकै राम्रो गरे पनि विरोध गर्ने नियतसहित लागेकाले त्यसबाट भ्रमित नहुन र सरकारका सकारात्मक कामको स्वामित्व लिने गरी काम गर्न नेतालाई आग्रह गर्नुभएको थियो ।

मोर्चा र जनवर्गीय सङ्गठनका प्रमुखले सरकारले अहिलेसम्म लिएका निर्णय सकारात्मक रहेको र जनतामा आशा जागेको भन्दै कार्यक्रमलाई जनतासम्म लैजान विशेष पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

भेटमा माओवादी केन्द्र निकट प्राध्यापक सङ्गठन, किसान महासङ्घ, जनसांस्कृतिक महासङ्घ, वाइसिएल, ट्रेड युनियन महासङ्घ, विद्यार्थी सङ्गठन, बुद्धिजीवी सङ्गठन, महिला, दलित, प्रेस सेन्टर, शिक्षक, बेपत्ता परिवारलगायतका नेताको सहभागिता थियो ।

प्रतिक्रिया