बज्जिकाको पुरस्कार अर्पण, दुई नयाँ पुरस्कार स्थापनाको घोषणा

इनेप्लिज २०८३ असार २१ गते ९:५९ मा प्रकाशित


नेपालमा छैटौँ भाषाको रुपम रहेको बज्जिका भाषामा गत वर्ष स्थापित “विश्व–सञ्जय बज्जिका पाण्डुलिपि पुरस्कार, २०२६” महोत्तरीका साहित्यकार अजयकुमार झालाई प्रदान गरिएको छ । साहित्यकार झाको पाण्डुलिपिलाई बज्जिका साहित्य सङ्गम रौतहटले प्रकाशन गरेर प्रमाणपत्रसहित ५१ थान पुस्तक पनि प्रदान गरेको हो ।

सर्लाहीका समाजसेवी महानन्द झाद्वारा स्थापित “विश्व–सञ्जय बज्जिका साहित्य कोष (अक्षय कोष”मा उपलब्ध गराइएको रकमले कृतिको प्रकाशन गरिएको हो ।


गत वर्ष एक महिनाको समय दिएर सङ्गमले बज्जिका भाषामा लेखिएको कुनै पनि विधाको साहित्यिक तथा समालोचनात्मक वा अनुसन्धानात्मक कृतिको पाण्डुलिपि आह्वान गरेको थियो । टाइप गरेर इमेल वा ह्वाटसअप तथा पिन्ट गरेर हार्डकपी माग गरिएकोमा विभिन्न तीन विधाका पाँच कृतिको आवेदन आएका थिए । तीन जनाको स्वतन्त्र निर्णायक समिति बनाई एक कृतिलाई पुरस्कृत गर्ने निर्णय गर्नुपर्नेमा साहित्यकार झाको “दृष्टिकोण”लाई चयन गरिएको थियो ।

कार्यक्रमको आरम्भमा अमेरिकामा रहेर बज्जिकामा पनि साहित्य सिर्जना गरिरहेका विश्वराज अधिकारीले विश्व–सञ्जय बज्जिका साहित्य कोषको स्थापना तथा पुरस्कारको स्थापना र निर्णय प्रक्रिया र पुरस्कारको व्यवस्थापनबारे प्रकाश पारेका छन् । साहित्यकार अधिकारीले कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै पुरस्कार ग्रहण गरिदिएकामा साहित्यकार झालाई धन्यवाद पनि दिएका छन् । कार्यक्रममा उपस्थित सबैलाई बज्जिका साहित्य सङ्गम रौतहटकी सचिव सङ्गीता सहनीले स्वागत गरेकी छन् भने उपाध्यक्ष रेणु गुप्ता र सदस्य सहनीले उपस्थित सबैलाई गमछा ओढाएर स्वागत सम्मान गरेका छन् ।

शनिवार गरुडा नगरपालिका ५ महम्मदपुरस्थित गोपाल सेवा समितिको भवननिकट आयोजित कार्यक्रममा प्रमुख अतिथि बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहा, बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण, प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्मा, भारतीय बज्जिका साहित्यकार मणिभूषण प्रसाद सिंह अकेला, अनिता–शिव प्रतिष्ठान रौतहटका अध्यक्ष शिवचन्द्र साह तथा विश्वराज अधिकारी र सञ्जय साह मित्रले साहित्यकार झालाई “विश्व–सञ्जय बज्जिका पाण्डुलिपि पुरस्कार, २०२६” को प्रमाणपत्र संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुशवाहाले पुरस्कारले बज्जिका साहित्यको क्षेत्रमा निकै ठुलो सकारात्मक भूमिका खेल्ने बताएका छन् । यसै गरी भारतीय साहित्यकार अकेलाले नेपाल–भारत बज्जिका सम्बन्धको बारेमा चर्चा गर्दै नेपालमा अन्तर्राष्ट्रियस्तरका तीनओटा पुरस्कारको स्थापना हुनुले बज्जिका साहित्यको विकास र विस्तारमा ठुलो टेवा पुगेको बताएका छन् ।
अनिता–शिव प्रतिष्ठानका संरक्षक साहले बज्जिका भाषाको चेतना विस्तार भइरहेकोमा खुसी व्यक्त गर्दै बज्जिकाको भविष्य उज्ज्वल रहेको बताएका छन् । बारा, चिउँटाहाका प्रधानाध्यापक दिनेशप्रसाद साहले बज्जिका भाषाको मिठास र आफ्नोपनले मलाई जहाँसुकैको कार्यक्रममा तानेर लगिरहेको बताउँदै आगामी दिनमा चिउँटाहामा पनि एउटा बज्जिका कार्यक्रम गर्ने बताएका छन् । यसै गरी पूर्व जिशिअ बालदेवप्रसाद साहले बज्जिका भाषामा मानवता, नैतिकता, आचरण तथा आध्यात्मिक विषयमा अमर कृति सिर्जना गर्न सुझाव दिएका छन् । बज्जिका भाषालाई लाखौँको सम्पत्ति दान गर्ने साहित्यकार बिन्दा साहनीले बज्जिका भाषा र साहित्यको विस्तार विश्वव्यापी भइरहेकोमा खुसी प्रकट गरेका छन् ।
कार्यक्रममा भारतीय साहित्यकारहरु रामकिशोर सिंह चकवा, अवधेश तृषित, कामेश्वर मिश्र घुमक्कड तथा प्रवीणकुमार मिश्रले रचना तथा मन्तव्य व्यक्त गर्दै बज्जिकाको सम्बन्ध बलियो हुँदै गएको बताएका छन् । कार्यक्रममा उपस्थित पाँच भारतीय साहित्यकारलाई “अन्तर्राष्ट्रिय बज्जिका दूत सम्मान, २०२६” प्रदान गरिएको छ ।

यसै गरी प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्मा, बज्जिकाञ्चल मिडिया प्रालिका प्रमुख राजुकुमार श्रीवास्तव, बज्जिका साहित्य समाज सर्लाहीकी उपाध्यक्ष शैलियादेवी ठाकुर, बारा चिउँटाहाका प्रधानाध्यापक दिनेशप्रसाद साह र अनलाइनमा बज्जिका कार्यक्रम सञ्चालन गर्दै आएका सञ्जय महतो राजलाई “अन्तर्राष्ट्रिय बज्जिका दूत सम्मान, २०२६” प्रदान गरिएको छ ।
बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार मनमोहन सिंह मनोहर, बज्जिका साहित्य समाज सर्लाहीकी उपाध्यक्ष शैलियादेवी ठाकुर, सचिव मुकेश मिश्र, कोषाध्यक्ष चन्द्रशेखरप्रसाद रस्तोगी, साहित्यकार रेखा रायले रचना र मन्तव्य व्यक्त गर्दै बज्जिकामा पुरस्कारको स्थापना र व्यवस्थापनले साहित्यकार तथा भाषासेवीलाई खुसी लागेको बताएका छन् ।

कार्यक्रममा मोरङ, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका भाषासेवी तथा साहित्यकारहरुको सहभागिता थियो । यसै गरी भारत, बिहारको सीतामढी, मुजफ्फरपुर र वैशाली जिल्लाका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

दुई पुरस्कार स्थापनाको घोषणा


पुरस्कार ग्रहण गर्दै साहित्यकार अजयकुमार झाले बज्जिका भाषामा रहेको लालित्यबारे प्रकाश पार्दै आफ्नो कृति पुरस्कृत भएकोमा खुसी व्यक्त गरेका छन् । मन्तव्यको क्रममा साहित्यकार झाले “बज्जिका भाषा र साहित्यको सेवा गर्नेहरूलाई पुरस्कृत तथा सम्मानित गर्न आफूले एउटा पुरस्कारको स्थापना गर्ने” घोषणा गरेका छन् ।

यसै गरी सम्मान ग्रहण गर्दै बज्जिकाञ्चल मिडिया प्रालिका प्रमुख राजुकुमार श्रीवास्तवले “बज्जिका पत्रकार समाजलाई क्रियाशील बनाउँदै प्रतीक दैनिकले स्थापना गरेको जस्तै आफ्नो पत्रिकाको वार्षिकोत्सवमा वितरण गर्ने गरी एउटा बज्जिका पत्रकारिता पुरस्कारको स्थापना गर्ने” घोषणा गरेका छन् । दुई नयाँ पुरस्कार स्थापनाको घोषणालाई उपस्थित भाषा तथा साहित्यसेवीहरुले हर्षोल्लासले ताली बजाएर स्वागत गरेका छन् ।

यसअघि तुलसी साहित्य पुरस्कार, अनिता शिव अन्तर्राष्ट्रिय बज्जिका सर्वोच्च कृति पुरस्कार सम्मान, कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कारलगायतका पुरस्कारहरु बज्जिका भाषा र साहित्यको क्षेत्रमा स्थापित भएका छन् ।

प्रतिक्रिया