बेलायतको क्याम्ब्रिजमा काव्ययात्रा सम्पन्न

इनेप्लिज २०८३ असार २१ गते ०:०५ मा प्रकाशित

लन्डन, ४ जुलाई, २०२६

समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा क्याम्ब्रिज सहरमा काव्ययात्रा सम्पन्न भएको छ । शिक्षाको केन्द्र तथा संसार प्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालय भएको सहरको ऐतिहासिक चौर ‘पार्कर्स पिस’ मा उक्त कार्यक्रम आयोजना गरिएको थियो । पार्कर्स पिसमा सन् १८४८ मा फुटबल खेलको आधुनिक नियम बनाएर खेल खेलाइएको थियो । त्यस नियमलाई क्याम्ब्रिज नियम भनिन्छ । सोही नियमका आधारमा फिफाको फुटबल खेलको नियम बनेको हो ।

काव्ययात्रा कार्यक्रममा लन्डन र क्याम्ब्रिजका कविहरुको सहभागिता थियो । त्यस कार्यक्रममा कवि डा. कृष्ण उपाध्याय, डा. पोषेन्द्र सत्याल, डा. लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण बजगाईंले आआफ्नो कविता वाचन गर्नु भएको थियो । उक्त कार्यक्रममा अनुराधा श्रेष्ठ, मेरिना तुलाधार र गोविन्द श्रेष्ठले शुभकामना दिनु भएको थियो ।

डा. कृष्ण उपाध्यायले कविताले पार्ने प्रभावका बारेमा बताउनु भयो । डा. लता गौतमले यस्तो कार्यक्रमबाट आफूहरु उत्साहित भएको बताउनु भयो । डा. पोषेन्द्र सत्यालले नेपालीहरु विदेशमा बसे पनि आआफ्नो क्षेत्रबाट नेपाललाई ब्यापक बनाएका छन् भन्नु भयो । योगराज ढकालले साहित्यले विदेशमा बस्ने नेपालीहरुलाई जोड्ने कुरा बताउनु भयो ।

समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष कृष्ण बजगाईंले यो कार्यक्रम काव्ययात्राको तेस्रो सृङ्खला भएको बताउनु भयो । उहाँले यस वर्ष काव्ययात्रा बेलायतको विभिन्न सहरमा आयोजना गरिने र काव्ययात्रामा वाचित कविताहरुको सङ्ग्रह प्रकाशन गरिने जानकारी दिनु भयो ।

प्रतिक्रिया