
काठमाडौँ । गायक तथा र्यापर आर रोयल (रमण खड्गी ) को नयाँ गीत ‘माया बस्ला है’ सार्वजनिक भएको छ। केहि दिन अघि रिलिज गरिएको गीत विभिन्न डिजिटल स्ट्रिमिङ प्लेटफर्मसँगै सुपरस्टार इन्टरटेन्टमेन्टको आधिकारीक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।
‘माया बस्ला है’ सुपरस्टार इन्टरटेन्टमेन्टको दोस्रो म्युजिक भिडियो परियोजना अन्तरगत सार्वजनिक गीत हो । यसअघि कम्पनीले रुथलेसको स्वरमा रहेको ‘नखोज मेरो फाइदा तिमी’ गीत सार्वजनिक गरेको थियो, जसले युट्युबमा ३० लाखभन्दा बढी भ्युज प्राप्त गर्दै उल्लेखनीय सफलता हासिल गरेको थियो।
आर रोयलको नै शब्द तथा संगीतमा रहेको गीतलाई आधुनिक डान्सिङ बिट्स र मेलोडिक शैलीमा तयार गरिएको छ । दिप्सन र रुथलेसले निर्माण गरेको गीतको मिक्सिङ तथा मास्टरिङ रुथलेसले गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा आर रोयल र निशा श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन भने भिडियोमा प्रेम र आकर्षणको भावलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको छ। विभिन्न सेट निर्माण गरेर छायांकन गरिएको भिडियोमा अश्मी भुजेलको कोरियोग्राफी र बिधान प्रधानको निर्देशन रहेको छ ।
सार्वजनिक भएको छोटो समयमै गीतले युट्युबमा ५ लाख भन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। दर्शकहरूले गीतको संगीत, भिडियोको दृश्य प्रस्तुति र कलाकारहरूको केमेस्ट्रीलाई सकारात्मक प्रतिक्रिया दिएका छन्।
गीतबारे गायक आर रोयलले आफ्नो भावना र संगीत शैलीलाई दर्शकमाझ प्रस्तुत गर्ने प्रयास गरेको बताएका छन्। निर्देशक बिधानले पनि दर्शकको माया र समर्थनप्रति खुशी व्यक्त गर्दै आगामी महिनाहरूमा थप नयाँ परियोजनाहरू ल्याउने तयारी रहेको बताएका छन्।
प्रतिक्रिया