
काठमाडौं। नेपाली हास्य मनोरञ्जन क्षेत्रमा छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल नाम हो पवन भट्टराई। भारतको आसाममा जन्मिएका पवनले आफ्नो प्रतिभा, मेहनत र निरन्तर संघर्षका बलमा नेपालका दर्शकमाझ लोकप्रिय कमेडियनका रूपमा स्थापित हुन सफल भएका छन्।
पवनको हास्य यात्राले वास्तविक उडान भने ‘कमेडी च्याम्पियन सिजन–२’ बाट पाएको हो। उत्कृष्ट प्रस्तुति र मौलिक हास्य शैलीका कारण उनले प्रतियोगिताको टप–६ सम्मको यात्रा तय गरेका थिए। समयानुकूल व्यंग्य, प्रस्तुतीकरणको कला र दर्शकसँगको सहज सम्बन्धले उनलाई सुरुदेखि नै फरक पहिचान दिलाएको थियो।
नेपालको पहिलो ठूलो कमेडी रियालिटी शो मानिने ‘कमेडी च्याम्पियन’ ले देशभरका प्रतिभाशाली कलाकारलाई राष्ट्रिय स्तरमा चिनाउने अवसर दिएको थियो। पवन पनि त्यही मञ्चबाट उदाएका प्रतिभाशाली हास्य कलाकारमध्ये एक हुन्।
कमेडी च्याम्पियनपछि उनको यात्रा झन् उचाइतर्फ अघि बढ्यो। ‘कमेडी क्लब विथ च्याम्पियन्स’ मा उनले ४० भन्दा बढी फरक–फरक पात्रहरूको अभिनय गर्दै आफ्नो बहुआयामिक प्रतिभा प्रमाणित गरेका छन्। हरेक पात्रमा आफूलाई स्वाभाविक रूपमा ढाल्ने क्षमता नै उनको सबैभन्दा ठूलो विशेषता मानिन्छ।
त्यसैगरी, पछिल्लो समय ‘कमेडी नाइट’ मा उनले गाइने, बालेन, हरिबहादुर, बीके भाइ, चुल्ठे अंकल लगायतका चर्चित पात्रहरू प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन दिइरहेका छन्। केवल पात्र सिर्जना मात्र होइन, कार्यक्रममा जुनसुकै अतिथि आए पनि उनीहरूको शैली, बोली र हाउभाउलाई तुरुन्तै आत्मसात् गर्दै हुबहु नक्कल गर्न सक्ने अद्भुत क्षमता उनकाे विशेष पहिचान बनेको छ।

पवन भट्टराईको यात्रा केवल एक हास्य कलाकारको सफलता कथा मात्र होइन, अवसर र प्रतिभाले सीमा नचिन्ने उदाहरण पनि हो। आसाममा जन्मिएर नेपाली भाषाको हास्य क्षेत्रमा स्थापित हुनु आफैंमा प्रेरणादायी उपलब्धि हो। आज उनी हजारौं युवाका लागि मेहनत, धैर्य, निरन्तरता र आत्मविश्वासका प्रतीक बनेका छन्।
दर्शकलाई हँसाउनु मात्र होइन, समाजका विविध विषयलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्दै सन्देश दिन सक्ने पवन भट्टराई आगामी दिनमा नेपाली मनोरञ्जन क्षेत्रका अझ महत्वपूर्ण हस्ती बन्ने अपेक्षा गरिएको छ।
आसामबाट सुरु भएको यो हाँसोको यात्रा आज लाखौं नेपाली दर्शकको मनसम्म पुगेको छ। आफ्नो कला, सिर्जनशीलता र बहुआयामिक अभिनय क्षमतामार्फत पवन भट्टराईले नेपाली हास्य क्षेत्रमा बलियो छाप छोडेका छन्। हाँसोमार्फत दर्शकको मन जित्दै आएका उनको यात्रा अझ सफल, उज्ज्वल र प्रेरणादायी बनोस्।
प्रतिक्रिया