
काठमाडौं। असार १४ गते । नेपाली गीत, साहित्य र संगीतको क्षेत्रमा करिब अढाई दशकदेखि निरन्तर सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएकी गीतकार, कवयित्री तथा साहित्यकार पुष्पा खनाललाई ‘म्युजिक खबर डायस्पोरा संगीत सम्मान–२०८२’ प्रदान गरिएको छ । ‘१३औँ म्युजिक खबर म्युजिक अवार्ड–२०८२’को अवसरमा उहाँलाई प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र संगीतको संरक्षण, संवर्द्धन तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनमा पुर्याउनुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।
वि.सं. २०५५ सालदेखि औपचारिक साहित्यिक यात्रामा लाग्नुभएकी खनालले गीत, कविता, कथा तथा अन्य विविध साहित्यिक विधामार्फत नेपाली सृजनाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्नुभएको छ । हाल अमेरिकाको भर्जिनियालाई कर्मभूमि बनाएर बसोबास गर्दै आउनुभएकी प्रवासमा रहेर पनि नेपाली भाषा, संस्कृति र संगीतलाई विश्वमाझ चिनाउने अभियानलाई निरन्तरता दिँदै आउनुभएको छ ।
उहाँका कलमबाट दुई सयभन्दा बढी गीतहरू सिर्जना भइसकेका छन् । आम-मैले पुज्ने देव, माया केवल माया, यो आँखाको पानी, एउटा माझी, जिउनै पर्छ, तिम्रो खुशी, प्यासी प्यासी र पिरतीको गीत लगायतका चर्चित गीतहरूले नेपाली श्रोताको मन जित्न सफल भएका छन्। पोखिएँ यसरी र गह पोखिएर गीतसङ्ग्रह तथा प्रतिष्ठा र अभिनव एल्बमले उहाँको सिर्जनात्मक यात्रालाई थप समृद्ध बनाएका छन् ।
पुष्पा खनालले यसअघि पनि नेपाली संगीत क्षेत्रमा पुर्याउनुभएको योगदानका लागि विभिन्न प्रतिष्ठित सम्मान प्राप्त गरिसक्नुभएको छ । उहाँ ज्योति फिल्म्स म्युजिक अवार्ड–२०७९ अन्तर्गत सर्वोत्कृष्ट गीतकार (लोकपप), सगरमाथा म्युजिक अवार्ड–२०७८ अन्तर्गत सर्वोत्कृष्ट महिला गीतकार, योङ्गमाइण्ड इन्टरटेइनमेन्ट अवार्ड–२०७६ अन्तर्गत सर्वोत्कृष्ट गीतकार (राष्ट्रिय भाव) तथा विश्व गीतकार अवार्डमा उत्कृष्ट १० (पप गीत) मा सम्मानित भइसक्नुभएको छ । यी सम्मानहरूले उहाँको सिर्जनशीलता, समर्पण र नेपाली गीतिसाहित्यप्रतिको योगदानलाई थप उजागर गरेका छन् ।
यस सम्मानको खबरले एकैपटक आश्चर्य र प्रफुल्लित दुवै बनाएको बताउँदै आगामी दिनमा नेपाली भाषा, साहित्य र संगीतको संरक्षण, विकास तथा विश्वव्यापी प्रवर्द्धनमा अझ समर्पित भएर निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्मान आयोजक म्युजिक खबर डट कम, संयोजक सबिता पोखरेल तथा आयोजक परिवारमा आभार व्यक्त गर्दै खनालले भन्नुभयो- “यो सम्मान आफ्नो सिर्जनात्मक यात्राप्रतिको विश्वास र जिम्मेवारीका साथै सम्पूर्ण नेपाली स्रष्टा, श्रोता, पाठक तथा आफ्नो यात्रामा साथ दिने सबैप्रति समर्पित गर्दछु ।”
नेपाली सृजनालाई सीमाभन्दा पर पुर्याउने अभियानमा निरन्तर सक्रिय पुष्पा खनालका लागि ‘म्युजिक खबर डायस्पोरा संगीत सम्मान–२०८२’ केवल एउटा सम्मान मात्र होइन, प्रवासबाट पनि मातृभाषा, साहित्य र संगीतप्रतिको समर्पणको राष्ट्रिय स्वीकृति र गौरवपूर्ण सम्मानका रूपमा लिन सकिन्छ ।
प्रतिक्रिया