
अमेरिका । भुटानी शरणार्थी र मानव अधिकारका सवालमा निरन्तर कलम चलाउँदै आएका वरिष्ठ पत्रकार देवेन्द्र भट्टराई अमेरिकामा सम्मानित भएका छन्।
अमेरिका भ्रमणमा रहेका पत्रकार भट्टराईलाई भुटनीज कम्युनिटी अफ सिनसिनाटी र लिटरेचर काउन्सिल अफ भुटानको संयुक्त आयोजनामा शनिबार सिनसिनाटीमा आयोजित एक विशेष कार्यक्रममा सम्मान गरिएको हो।
लामो समयदेखि भुटानी शरणार्थीहरूको संघर्ष, समस्या र भोगाइलाई सञ्चारमाध्यममार्फत विश्वसामु उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएवापत उनलाई यो सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन्।
पत्रकार भट्टराईले वर्षौंदेखि भुटानी राजनीतिक बन्दीहरूको अवस्था, शरणार्थीहरूले भोग्नुपरेका कठिनाइ र अन्तरराष्ट्रिय ध्यान केन्द्रित हुनुपर्ने मानव अधिकारका गम्भीर मुद्दाहरूलाई निरन्तर रूपमा उठाउँदै आएका छन्। आवाजविहीनहरूको आवाजलाई मूलधारमा ल्याउन उनको पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
कार्यक्रममा भुटानी समुदायका वरिष्ठ नेताहरू तारा दाहाल र खेम रिजालका साथै भुटानी राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जिसीआरपिपिबी) का युवा संयोजकहरू भानु खनाल र सिर्जना तिम्सिना लगायतले मन्तव्य राख्दै पत्रकार भट्टराईको निरन्तरको प्रतिबद्धता र प्रभावको सराहना गरेका थिए। उपेक्षित समुदायको आवाजलाई बुलन्द पार्न र इतिहासलाई जीवन्त राख्न भट्टराईले निर्वाह गरेको भूमिका बिर्सन नमिल्ने उनीहरुले बताए ।
सो अवसरमा लिटरेरी अर्गनाइजेसन अफ भुटान र भुटानी कम्युनिटी अफ सिनसिनाटीका तर्फबाट भट्टराईलाई संयुक्त रूपमा प्रशंसा पत्र प्रदान गरिएको थियो। यसैगरी, भुटानी राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियानका तर्फबाट पनि भुटानी शरणार्थी तथा राजनीतिक बन्दीहरूको मानव अधिकारका लागि उनले पुर्याएको योगदानको कदर गर्दै छुट्टै सम्मान पत्र हस्तान्तरण गरिएको थियो।
पत्रकार भट्टराइसंग गरिएका अन्तरक्रियाहरू विशेष गरी डायस्पोरामा रहेका भुटानी युवा पुस्ताका लागि आफ्नो इतिहास बुझ्न र न्याय तथा मानव मर्यादाप्रतिको प्रतिबद्धतालाई बलियो बनाउन महत्त्वपूर्ण शैक्षिक अवसर पनि बनेका छन् ।
प्रतिक्रिया