नेपाली घरमा गरिमामय पद हस्तान्तरण सम्पन्न, ऋणमुक्त अभियानमा समुदायको ऐक्यबद्ध प्रतिबद्धता

नातिबाबु भट्ट २०८३ असार १४ गते ११:१४ मा प्रकाशित

जुन २७

कोलोराडो, अमेरीका

कोलोराडोस्थित नेपालीभाषी समुदायको साझा आस्था, पहिचान र गौरवको केन्द्र नेपाली घर (Nepal America Sociocultural Exchange Society) मा आज गरिमामय वातावरणबीच नवनिर्वाचीत पदाधिकारीहरूलाइ पद हस्तान्तरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा निवर्तमान अध्यक्ष बसन्त लम्सालले नवनिर्वाचित अध्यक्ष गंगा चौलागाईंलाई संस्थाको नेतृत्व तथा सम्पूर्ण जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा विभिन्न सामाजिक, सांस्कृतिक तथा पेशागत संघ–संस्थाका अध्यक्ष, प्रतिनिधि र समुदायका अग्रज व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली घरलाई ऋणमुक्त बनाउने अभियानको खुलेर स्वागत गर्दै यस अभियानलाई सफल बनाउन आवश्यक सहयोग, सहकार्य र ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गरे । उनीहरूले नवनिर्वाचित नेतृत्वलाई हार्दिक बधाई दिँदै सफल तथा उपलब्धिमूलक कार्यकालको शुभकामना पनि व्यक्त गरे।

कार्यक्रमका विशेष अतिथि कार्यबाहक राजदुत शरदकुमार आरनले विदेशमा रहेका नेपाली समुदायका लागि एकता नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै कोलोराडोमा देखिएको आपसी सद्भाव, सहकार्य र संगठनात्मक एकताको प्रशंसा गरे। उनले नेपाली घरले आगामी दिनमा दोस्रो पुस्ताका नेपाली मूलका बालबालिका तथा युवाहरूलाई पनि संस्थाका गतिविधि र नेतृत्वसँग जोड्दै लैजानुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष गंगा चौलागाईंले नेपाली घरको आगामी कार्यदिशा प्रस्तुत गरेका थिए । उनले सिटीसँग आवश्यक समन्वय गर्दै भवनसँग सम्बन्धित बाँकी रहेका सम्पूर्ण कार्यहरू यथाशीघ्र सम्पन्न गरी Full Occupancy Letter प्राप्त गर्ने दिशामा दृढताका साथ अगाडि बढाउने । जसबाट एउटा प्रशासनिक उपलब्धि मात्र हुनेछैन, नेपाली घरको स्थायित्व, विश्वसनीयता र संस्थागत भविष्यलाई सुरक्षित गर्ने महत्वपूर्ण उपलब्धि हुनेछ।

यसैगरी चौलागाईंले नेपाली घरको अडिटोरियमलाई थप व्यवस्थित, आधुनिक र आकर्षक बनाउने योजना रहेको जानकारी दिँदै विवाह, व्रतबन्ध, भोज, सांस्कृतिक कार्यक्रम, सम्मेलन तथा विभिन्न सामुदायिक गतिविधिहरू सहज रूपमा सञ्चालन गर्न सकिने बहुउद्देश्यीय हलका रूपमा विकास गरिने बताए। यसले समुदायलाई उत्कृष्ट सेवा प्रदान गर्नुका साथै नेपाली घरको आर्थिक आत्मनिर्भरता बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । युवा पुस्तालाई नेपाली घरसँग जोड्ने योजनाबारे बोल्दै उनले आजका युवाहरू नै भोलिका नेतृत्वकर्ता भएकाले उनीहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको प्रश्ट्याए । त्यसका लागि नेपाली घर परिसरमा भलिबल कोर्ट निर्माण गर्ने लक्ष्य लिइएको जानकारी दिँदै खेलकुदमार्फत युवाहरूलाई संस्थासँग भावनात्मक रूपमा जोड्ने प्रयास गरिने उल्लेख गरे । उनले नेपाली घर निर्माणको इतिहास स्मरण गर्दै नेपाली घरको सपना साकार पार्ने अभियानमा सप्ताह महापुराण एउटा ऐतिहासिक आधारशिला बनेको थियो। सम्पूर्ण समुदायको श्रद्धा, विश्वास, दानशीलता र अथक सहयोगका कारण उक्त अभियान सफल भएको र नेपाली घर निर्माणको यात्रामा त्यसले अविस्मरणीय योगदान पुर्‍याएको उहाँले स्मरण गरे ।

सम्बोधनको अन्त्यमा उनले अबको सबैभन्दा ठूलो साझा लक्ष्य नेपाली घरलाई पूर्ण रूपमा ऋणमुक्त बनाउनु रहेको उल्लेख गर्दै यस अभियानलाई कुनै एक व्यक्ति वा कार्यसमितिको अभियान नभई सम्पूर्ण समुदायको साझा अभियानका रूपमा अघि बढाउन सबैमा हार्दिक आग्रह गरे ।

कार्यक्रममा Chandra Gurung (एनआरएनका अध्यक्ष), Kiran Adhikari (अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष), Shanti Bhusal (सिस्टर ग्रुपकी अध्यक्ष), Upendra Magar (मगर संघका अध्यक्ष), Nabaraj Shrestha (ग्लोबल फिल्मका संयोजक) तथा Tamu Pelu का प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिप्रति पूर्ण ऐक्यबद्धता जनाएका थिए। उनीहरूले नेपाली घरको नयाँ नेतृत्वले संस्थालाई अझ सशक्त, समावेशी र समुदायमुखी बनाउँदै अगाडि बढाउने विश्वास व्यक्त गर्नुका साथै आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । वक्ताहरूले नेपाली घरको विकास र ऋणमुक्त अभियानमा आफ्नो संस्थाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाएका थिए ।

यसैगरी सामुदायिक सहकार्य परिषद्का वरिष्ठ उपाध्यक्ष नवीन दत्त, समाजसेवी नारायण श्रेष्ठ तथा टिका सिटौलाले पनि नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाली घरलाई अझ सशक्त, समावेशी र आर्थिक रूपमा आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रम सामुदायिक सहकार्य परिषद का संयोजक डा. बिजय राज शर्मा को शुभकामा मन्तब्य पढेर सुनाईएको थियो। कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष बसन्त लम्सालले गरेका थिए, भने प्रमुख आतिथ्यता वरिष्ठ समाजसेवी रामप्रसाद श्रेष्ठले गरेका थिए।

कार्यक्रमको एक विशेष क्षणमा स्थानीय समाजसेवी कान्त रेग्मीले नवनिर्वाचित अध्यक्षलाई शुभ, समृद्धि र दीर्घ सफलताको प्रतीकका रूपमा दुबोको माला पहिर्याउँदै सफल, उपलब्धिमूलक र अविस्मरणीय कार्यकालको आशीर्वाद प्रदान गरेकि थिइन् भने सिष्टर ग्रुपका दिदी बहिनीहरूले फुलका गुच्छाले स्वागत गरेका थिए ।

समग्रमा, आजको पद हस्तान्तरण कार्यक्रम नेतृत्व परिवर्तनको औपचारिक समारोहमा मात्र सीमित रहेन। यसले एकता, विश्वास, सहकार्य, उत्तरदायित्व र साझा संकल्पलाई पुनः स्थापित गर्दै नेपाली घरलाई ऋणमुक्त, संस्थागत रूपमा अझ सुदृढ, आर्थिक रूपमा आत्मनिर्भर तथा भावी पुस्ताको साझा केन्द्रका रूपमा विकास गर्ने नयाँ यात्राको उत्साहपूर्ण सुरुवात गरेको सहभागीहरूको विश्वास रहेको थियो।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा दिउसो १ बजेदेखी ५ बजेसम्म संचालित कार्यक्रममा राजु खनालले स्वागत भाषण गरेका थिए भने, भोला कटुवालले कार्यक्रम संचालन गरेका थिए ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया