
उत्तर-पूर्वी फ्रान्सको तोम्बलेन सहरमा आइतबार एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा सवार ११ जनाकै मृत्यु भएको छ। स्थानीय प्रशासनका अनुसार दुर्घटनाग्रस्त विमान एउटा प्यारासुट (आकाशबाट हाम फाल्ने खेल) सिकाउने बिद्यालयको थियो।
रोयटर्सका अनुसार मृत्यु हुनेहरूमा विमानका चालक (पाइलट), ५ जना प्यारासुट सिक्दै गरेका विद्यार्थी र ५ जना सिकाउने गुरु (इन्स्ट्रक्टर) रहेका छन्।
क्षेत्रीय प्रशासक यभ्स सेगुएका अनुसार विमान जमिनमा खस्नुअघि नै आकाशमै क्षतिग्रस्त भइसकेको थियो र अचानक सिधै ठाडो परेर जमिनमा बजारिएको थियो। यो दुर्घटना मानिसहरूको बाक्लो बस्ती र एउटा व्यस्त सपिङ सेन्टर (बजार) नजिकै भएको हो।
प्रशासक सेगुएले भने, “केही मिटर मात्रै यताउता भएको भए बजार वा बस्तीमा परेर अरू धेरै सर्वसाधारणको पनि ज्यान जान सक्थ्यो।”
विमान ठुलो दुर्घटनाबाट जोगिए पनि विमानभित्र रहेका कसैलाई पनि बचाउन सकिएन। घटनाको गम्भीरतालाई हेर्दै फ्रान्सका गृहमन्त्री तुरुन्तै दुर्घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।
स्थानीय सरकारी वकिलको कार्यालयले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिसकेको छ।
प्रतिक्रिया