
युक्रेनले रुसी क्षेत्रहरूलाई निसाना बनाएर फेरि एक पटक ठुलो मानव रहित यान (ड्रोन )आक्रमण गरेको छ। आइतबार रुसी अधिकारीहरूले दिएको जानकारी अनुसार युक्रेनको यो भीषण आक्रमणका कारण दक्षिणी रुसमा रहेको एउटा ठुलो तेल रिफाइनरी (कच्चा तेललाई पेट्रोल-डिजेल बनाउने कारखाना) मा भीषण आगलागी भएको छ भने कम्तीमा दुई जनाको ज्यान गएको छ।
युक्रेनले विगत केही समयदेखि रुसभित्रै पसेर यस्ता लागातार र ठुला हवाई आक्रमणहरू गरिरहेको छ। यसो गर्नुको मुख्य उद्देश्य रुसी सेनालाई चाहिने इन्धन र सैन्य सामानको आपूर्ति रोक्नु हो। युक्रेनी अधिकारीहरूका अनुसार रुसलाई युद्ध रोकेर वार्ताको टेबुलमा आउन बाध्य पार्नका लागि यो रणनीति अपनाइएको हो।
रुसको क्रास्नोडार क्षेत्रका गभर्नर वेनियामिन कोन्द्रात्येभका अनुसार स्लाभ्यान्स्क सहरमा युक्रेनी मानव रहित यान (ड्रोन)हरूलाई रुसी सेनाले आकाशमै खसाल्ने क्रममा तिनका भग्नावशेषहरू तेल कारखानामा खसेका थिए। त्यही भग्नावशेषका कारण उद्योगमा ठुलो आगो लाग्यो। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र श्रब्यदृश्य (भिडियो)हरूमा तेल कारखानाबाट कालो धुवाँको ठुलो बादल उडिरहेको देख्न सकिन्छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस आक्रमणको जिम्मेवारी लिएका छन्। उनले स्लाभ्यान्स्क मात्र नभई रुसको भित्री भागमा रहेको अर्को तेल कारखानामा पनि आफ्ना मानव रहित यान (ड्रोन)हरूले सफलतापूर्वक प्रहार गरेको बताएका छन्। जेलेन्स्कीले लेखेका छन्, “हाम्रो यो ‘लामो दूरीको प्रतिबन्ध’ ले रुसको दुई वटा तेल कारखानालाई ध्वस्त पारेको छ। प्रत्येक आक्रमणको अर्थ रुसी युद्धको शक्ति कमजोर हुनु र शान्तितर्फको अर्को कदम चाल्नु हो।”
विगत पाँच वर्षदेखि चलिरहेको यो युद्धमा युक्रेनले पछिल्ला महिनाहरूमा रुसको आम्दानीको मुख्य स्रोत मानिने ऊर्जा केन्द्रहरूमा आक्रमण तीव्र पारेको छ। रुसले पनि आइतबार राति युक्रेनमाथि १४२ वटा मानव रहित यान र ८ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमध्ये अधिकांशलाई युक्रेनी सेनाले आकाशमै नष्ट गरिदिएको दाबी गरेको छ।
प्रतिक्रिया