इतिहास रचेका लियोनेल मेस्सी: विश्वकप भकुण्डोमा लगातार ७ खेलमा गोल गर्ने संसारकै पहिलो खेलाडी

इनेप्लिज २०८३ असार १४ गते १०:०७ मा प्रकाशित
Screenshot

बिश्व भकुण्डो (फुटबल)का महान् खेलाडी लियोनेल मेस्सीले फेरि अर्को एउटा ठुलो इतिहास रचेका छन्। शनिबार राति भएको खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३-१ ले हराउँदा मेस्सीले विश्वकपमा लगातार ७ खेलमा गोल गर्ने संसारकै पहिलो खेलाडी बन्ने किर्तिमान बनाएका हुन्। यसका साथै उनले विश्वकप भकुण्डोमा आफ्नो कुल गोल सङ्ख्या १९ पुर्‍याएर पुरुष भकुण्डो खेलतर्फ इतिहासकै सबैभन्दा धेरै गोल गर्ने किर्तिमानलाई अझ मजबुत बनाएका छन्।

भर्खरै मात्र ३९ वर्ष पुगेका मेस्सी यो खेलमा सुरुदेखि मैदानमा थिएनन्। अर्जेन्टिना पहिले नै अर्को चरणमा पुगिसकेको हुनाले उनलाई सुरुमा आराम दिइएको थियो। तर, रङ्गशालामा उपस्थित ७० हजारभन्दा बढी दर्शकहरू मेस्सी-मेस्सी भन्दै उनलाई हेर्न आतुर थिए। खेलको ६० औँ मिनेटमा जब उनी वैकल्पिक खेलाडीका रूपमा मैदान छिरे, तब सारा रङ्गशाला खुसीले गुञ्जियो।

मैदान छिरेको केही बेरमै, खेलको ८० औँ मिनेटमा बिपक्षी खेलाडीले उनलाई लडाएपछि अर्जेन्टिनाले ‘फ्रि-किक’ (सिधा भकुण्डो प्रहार) पायो। मेस्सीले भुइँकै बाटो जमिनको सतहबाट सरर बग्ने गरी हानेको भकुण्डो बल जोर्डनका रक्षकहरूलाई छक्याउँदै सिधै गोलखम्बाको देब्रे कुनामा छिर्‍यो। यो उनको खेल जीवनको ७२ औँ फ्रि-किक अर्थात् स्वतन्त्र प्रहार गोल थियो।

यो ऐतिहासिक गोलसँगै मेस्सीले फ्रान्सका जस्ट फोन्टेन र ब्राजिलका जाइर्जिनियो जस्ता दिग्गज खेलाडीहरूलाई पनि पछि पारेका छन्, जसले यसअघि लगातार ६ खेलमा गोल गरेका थिए। खेलपछि अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीको तारिफ गर्दै भने, “उनी हरेक पटक यस्तो कमाल गर्छन् कि अब म सँग उनको प्रशंसा गर्न शब्द नै बाँकी छैन।”

८ पटक संसारकै उत्कृष्ट खेलाडी (ब्यालन डी’ओर) बनिसकेका मेस्सीले अहिलेसम्म विश्वकप भकुण्डोकै सबैभन्दा धेरै गोल गर्ने खेलाडीले पाउने ‘गोल्डेन बुट’ अर्थात् सुनको जुत्ता भने जित्न सकेका छैनन्। तर, यस पटकको विश्वकपमा उनी ६ गोलसहित सबैभन्दा अगाडि छन् र इतिहास रच्ने नजिक पुगेका छन्।

प्रतिक्रिया