कांग्रेस परित्याग गरेका भुपेन्द्र बस्नेत रास्वपाको महाधिवेशन प्रतिनिधि

इनेप्लिज २०८३ असार ८ गते १०:४२ मा प्रकाशित

बेद प्रसाद घिमिरे

ओखलढुंगा, ९ असार २०८३ ।

नेपाली कांग्रेस ओखलढुंगाका पुराना एवं स्थापित नेता भुपेन्द्र बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चयन भई सिधै महाधिवेशन स्थल पुगेका छन् । केही समयअघि मात्रै ३६ वर्ष लामो कांग्रेस आबद्धता तोडेर पार्टी परित्यागको घोषणा गरेका बस्नेत अहिले नयाँ राजनीतिक यात्राको महत्वपूर्ण भूमिकामा देखिएका हुन् ।

वि.सं. २०४६ सालको जनआन्दोलनदेखि जिल्लाको लोकतान्त्रिक आन्दोलनमा अग्रपंक्तिमा रहेका बस्नेतले केही समयअघि सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसको साधारण सदस्यता र सबै जिम्मेवारी त्यागेको जानकारी गराएका थिए । कांग्रेसमा रहँदा नेपाल तरुण दल ओखलढुंगाको अध्यक्ष, जिल्ला कार्यसमिति सदस्य तथा जिल्ला संगठन विभाग प्रमुख जस्तो सांगठनिक जिम्मेवारी सम्हालेका उनी गत स्थानीय तह निर्वाचनमा खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए ।

कांग्रेसभित्र पुराना र निष्ठावान कार्यकर्ताको अवमूल्यन भएको र जननायक बीपी कोइरालाको सिद्धान्त हराउँदै गएको भन्दै असन्तुष्ट बनेका बस्नेतले पार्टी परित्याग गरेलगत्तै रास्वपा रोजेका हुन् । रास्वपा प्रवेश गरेपछि मात्र उनले आफ्नो नयाँ यात्राबारे थप प्रष्ट पारेका थिए ।

चितवनमा जारी रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनका लागि ओखलढुंगाबाट महाधिवेशन प्रतिनिधि छनोट भएसँगै उनी सिधै महाधिवेशन स्थल पुगेर बन्दसत्र तथा राजनीतिक प्रक्रियामा सहभागी भएका छन् । कांग्रेसको लामो राजनीति त्यागेर राष्ट्रवाद र नयाँ राजनीतिक विकल्पका रूपमा रास्वपा रोजेका बस्नेतको यो उपस्थितिलाई ओखलढुंगाको स्थानीय राजनीतिमा निकै चासो र अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया