“अनेसास न्युयोर्क च्याप्टरद्वारा वरिष्ठ साहित्यकार कमला प्रसाईँका तीन कृतिको भव्य लोकार्पण सम्पन्न भयो।”

इनेप्लिज २०८३ जेठ २७ गते १०:५५ मा प्रकाशित

न्युयोर्क, अमेरिका | ६ जुन २०२६

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्युयोर्क च्याप्टरको आयोजनामा वरिष्ठ साहित्यकार तथा समाजसेवी कमला प्रसाईँका तीन महत्वपूर्ण साहित्यिक कृतिहरू ‘चितामाथिको लास’ (नाटकसङ्ग्रह), ‘सिमाना’ (कवितासङ्ग्रह) र ‘हृदयभित्र’ (गीतिसङ्ग्रह) को भव्य लोकार्पण कार्यक्रम न्युयोर्कस्थित नेपाली भान्छाघरमा सम्पन्न भएको छ।

कार्यक्रमको औपचारिक उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। अनेसास न्युयोर्क च्याप्टरकी अध्यक्ष जानुका ओस्ती ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली महावाणिज्यदूतावास, न्युयोर्कका वाणिज्यदूत श्री प्रेमबहादुर बुढ थापाको गरिमामय उपस्थिति रहेको थियो। नेपाली तथा अमेरिकी राष्ट्रिय गानसँगै प्रारम्भ भएको कार्यक्रमको आकर्षक एवं प्रभावकारी सञ्चालन संस्थाकी महासचिव निरु न्यौपानेले गर्नुभएको थियो।

कार्यक्रममा मातृभूमि नेपालबाट पाल्नुभएका प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो। विशेष अतिथिहरूमा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाली साहित्य पत्रकार सङ्घका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक तथा स्रष्टा समाज नेपालका अध्यक्ष वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ ‘रोदन’, नेपाल प्रज्ञा–प्रतिष्ठानका सहसचिव तथा चर्चित साहित्यकार सन्ध्या पहाडी, अनेसास केन्द्रका निवर्तमान अध्यक्ष साहित्यकार गोवर्धन पूजा तथा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष एवं न्युयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष तथा सल्लाहकार राम खत्री, समाजसेवी जिपी के फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे, कलाकार विरेन्द्र हमालको पनि सहभागिता रहेको थियो।

कार्यक्रमको प्रारम्भमा संस्थाकी उपाध्यक्ष नदिया लिबाङ्गले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण साहित्यप्रेमी, अतिथि तथा महानुभावहरूलाई हार्दिक स्वागत गर्नुभएको थियो। त्यसपश्चात् प्रमुख अतिथि, विशेष अतिथिहरू तथा कार्यक्रमकी अध्यक्षको संयुक्त उपस्थितिमा वरिष्ठ साहित्यकार कमला प्रसाईँका तीनै कृतिहरू गड्गडाहट तालीका बीच भव्य रूपमा लोकार्पण गरिएको थियो।

संस्थाका सचिव विष्णुहरि भण्डारीले साहित्यकार कमला प्रसाईँको जीवनवृत्त, साहित्यिक यात्रा तथा सिर्जनात्मक योगदानबारे प्रकाश पार्दै उहाँको नेपाली साहित्यमा रहेको विशिष्ट योगदानको चर्चा गर्नुभएको थियो।

करिब ९५ भन्दा बढी वरिष्ठ तथा नवोदित साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा अनेसास केन्द्रका प्रतिनिधिहरू तथा छिमेकी राज्य न्युजर्सी, बोस्टनबाट आगमन भएका साहित्यप्रेमीहरूको सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

लोकार्पणपश्चात् विमोचित कृतिहरूमाथि गहन चर्चा–परिचर्चा सम्पन्न भएको थियो। कृतिहरूमा अभिव्यक्त मानवीय संवेदना, सामाजिक यथार्थ, जीवनका विविध आयाम तथा भाषिक सौन्दर्यबारे वक्ताहरूले समीक्षात्मक धारणा राख्दै स्रष्टाप्रति शुभकामना व्यक्त गरेका थिए।

यस अवसरमा साहित्यकार आनन्द श्रेष्ठ, साहित्यकार किशनसिंह धामी, समकालीन साहित्यिक व्यक्तित्व, निर्देशक किशोर सुब्बा तथा ‘सानोमास्टर’का सर्जक प्राध्यापक डा. गोविन्द कोइरालाले कृतिहरूमाथि समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै साहित्यकार प्रसाईँको सिर्जनात्मक क्षमता र साहित्यिक योगदानको उच्च प्रशंसा गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यतिर कृतिकार कमला प्रसाईँले आफ्ना कृतिहरूमा जीवनका यथार्थ भोगाइ, अनुभूति, संघर्ष र संवेदनालाई कलात्मक ढङ्गले कविता, गीत तथा नाटकमार्फत अभिव्यक्त गर्ने प्रयास गरिएको बताउनुभयो। उहाँले कृतिको सिर्जना प्रक्रियादेखि प्रकाशन र लोकार्पणसम्मका अनुभवहरू साझा गर्दै कार्यक्रम आयोजक, समीक्षक, अतिथिहरू तथा उपस्थित सम्पूर्ण साहित्यप्रेमीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

साहित्य, सिर्जना र सम्वादको अनुपम संगम बनेको उक्त कार्यक्रम नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा अनेसास न्युयोर्क च्याप्टरले निरन्तर निर्वाह गर्दै आएको भूमिकाको अर्को सफल उदाहरणका रूपमा सम्पन्न भएको सहभागीहरूले बताएका छन्।

निरू नेउपाने- महासचिव
अनेसास न्यूयोर्क, अमेरिका

प्रतिक्रिया