ईईसी एलुम्नाई एसोसिएसनका सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम

इनेप्लिज २०८३ असार ७ गते १३:०० मा प्रकाशित

असार ७,

एभरेष्ट इन्जिनियरिङ कलेज (ईईसी)मा ले कलेजका पदाधिकारी तथा ईईसी एलुम्नाई एसोसिएसनका सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। पूर्वविद्यार्थीहरूसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा आगामी योजनाहरू, संस्थागत समन्वय तथा पूर्वविद्यार्थीहरूको सहभागिताबारे व्यापक छलफल भएको थियो।

एलुम्नाई सहभागिता सुदृढीकरणमा जोड

पूर्वविद्यार्थीहरूसँगको समन्वयलाई प्रभावकारी बनाउन सन् २००१ को ब्याचदेखिका स्नातकहरूको सम्पर्क विवरण समेटिएको डाटाबेस अद्यावधिक गर्ने योजना रहेको छ। कलेजका गतिविधि, उपलब्धि तथा आगामी कार्यक्रमहरूको जानकारी नियमित रूपमा पूर्वविद्यार्थीहरूलाई उपलब्ध गराउनेछ। एलुम्नाई सदस्यहरूलाई कलेजद्वारा सञ्चालन हुने सबै कार्यक्रमहरूमा उपस्थितिको व्यवस्था गरिनेछ।

गोष्ठीहरूमा कलेजसँगको आबद्धता उल्लेखित अनुसन्धान पत्र प्रस्तुत गर्ने पूर्वविद्यार्थीहरूलाई आर्थिक सहयोग उपलब्ध गराइने निर्णय गरिएको छ।

शैक्षिक तथा व्यावसायिक सहकार्य विस्तार

पूर्वविद्यार्थीहरूको अनुभव र ज्ञानलाई सदुपयोग गर्न कलेजले एलुम्नाईहरूलाई अतिथि वक्ता, सेमिनार प्रशिक्षक तथा अन्तरक्रिया कार्यक्रममा सहभागी गराउने योजना बनाएको छ। यसबाट शिक्षण पद्धतिमा सुधार, उद्योगमैत्री सीप विकास तथा विद्यार्थीहरूको रोजगारी सम्भावना वृद्धि हुने विश्वास गरिएको छ।

पूर्वविद्यार्थीले सञ्चालन गर्ने कार्यक्रमका लागि कलेजले सेमिनार हल उपलब्ध गराउने जनाइएको छ।

एलुम्नाईहरूको प्रतिबद्धता

एलुम्नाई प्रतिनिधिहरूले एभरेष्ट इन्जिनियरिङ कलेजको निरन्तर विकास र उन्नयनमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले निम्न क्षेत्रहरूमा विशेष सहकार्य गर्ने जनाएका छन्:

अन्तिम वर्षका विद्यार्थीहरूका लागि इन्टर्नशिप अवसर उपलब्ध गराउने।
संस्थागत सुधारका लागि रचनात्मक सुझाव तथा परामर्श प्रदान गर्ने।
कलेजका विभिन्न कार्यक्रम तथा गतिविधिमा सक्रिय सहभागिता जनाउने।

आगामी योजना

निकट भविष्यमा वृहत् एलुम्नाई भेला आयोजना गरी वर्तमान ईईसी एलुम्नाई संगठनको पुनर्संरचना गर्ने निर्णय गरिएको छ। उक्त भेलाले आगामी वर्षहरूका लागि कार्यक्रमहरूको खाका तयार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

पूर्वविद्यार्थीहरूसँगको सहकार्य, मार्गदर्शन र सहभागितामार्फत कलेजले शैक्षिक उत्कृष्टता, व्यावसायिक विकास तथा संस्थागत उन्नयनको यात्रालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया