
एउटी छोरी छे– सानी
स्कुल जान थालेकी छे
किताबमा अनेक चित्र हेर्छे
र, दङ्ग पर्छे
कहिले ‘पेन्सिल चाहियो’ भन्छे
कहिले‘’कलर ल्याई देऊ’ भन्छे
र, चित्र जस्तै केही बनाई भने
आमालाई देखाउन भान्सातिर दौडिन्छे ।
ऊ त्यो टेबुलमाथिको ब्याग उसको हो
त्यो ब्यागलाई ऊ हामीलाईभन्दा बढी माया गर्छे ।
एउटी छोरी छे– सानी
स्कुलमा साथीहरू छन् उसको
ऊ तिनीहरूसंग खेल्छे
ऊ तिनीहरूसंग चल्छे
र, छिनभरमै तिनीहरूसंग‘’होइन ब्यारे’ भन्न पुग्छे ।
ऊ तिनीहरूसंग बस्छे
ऊ तिनीहरूसंग टिफिन बाँडेर खान्छे
कहिले तिनीहरूलाई घरमा लिएर आउँछे
कहिले आफू तिनीहरूसंग जान्छे ।
निन्द्रामा कहिलेकाँही बोल्छे
र, बोल्दा तिनीहरूकै नाम बोल्छे ।
एउटी छोरी छे– सानी
अचेल मलाई त्यो कसरी हुर्केली भन्ने डर लाग्छ
डर त मलाई त्यसका साथी बिरामी हुन्छन् कि भन्ने पनि लाग्छ ।
साथी बिरामी भए भने त्यो कोसंग खेल्छे?
कोसंग बस्छे?
कोसंग रमाउँछे?
अचेल त्यसका साथीहरू बिरामी भए भने
मलाई त्यसको खुशी चोइटिन्छ भन्ने लाग्छ ।
एउटी छोरी छे– सानी
हिजो साथीहरू लिएर पसलमै आइछे ।
मैले आफैले बनाएको चटपटे
छोरी र उसका साथीलाई दिनु कि नदिनु?
त्यसैले मैले अचेल चटपटे बनाउँदा
जिभ्रामा अमिलो र पिरो ट्वाक्क लाग्ने
रसायन हाल्न छाडेको छु ।
अब म यताउता प्लास्टिक पनि बाल्दिनँ ।
अब म पसलमा गुट्खा र खैनी पनि राख्दिनँ ।
बरु व्यापार कमै हओस् ।
आम्दानी थोरै हुन्छ भने पनि ठीक छ ।
म सामान्य जीवनमै रत्तिन्छु ।
अब म बजार छोप्न तरकारीमा विषादी हाल्दिनँ ।
प्रतिक्रिया