विश्वकप भकुण्डोमा अमेरिकाको धमाकेदार सुरुवात: पाराग्वेमाथि ४-१ को सानदार जित

इनेप्लिज २०८३ जेठ ३० गते ९:३३ मा प्रकाशित

अमेरिकी पुरुष राष्ट्रिय भकुण्डो (फुटबल) टोलीले फिफा विश्वकपको आफ्नो पहिलो खेलमा पाराग्वेमाथि सहज जित हात पारेको छ। क्यालिफोर्नियाको सोफी रङ्गशालामा शुक्रबार भएको खेलमा अमेरिकाले दक्षिण अमेरिकी देश पाराग्वेलाई ४-१ गोल अन्तरले पराजित गर्‍यो।

खेलको सुरुदेखि नै अमेरिका हाबी भएको थियो। खेलको सातौँ मिनेटमै पाराग्वेका मध्यपंक्तिका खेलाडी(मिडफिल्डर )डामियान बोबाडिलाको खुट्टामा ठोक्किएर आत्मघाती गोल भएपछि अमेरिकाले १-० को अग्रता लियो।

त्यसपछि ३१ औँ मिनेटमा चर्चित आक्रमणपंक्ति(स्ट्राइकर )पोलारिन बालोगुनले गोल गर्दै अमेरिकाको अग्रता २-० बनाए। खेलको पूर्वार्ध अर्थात् पहिलो हाफको अतिरिक्त समयमा बालोगुनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को बलियो स्थितिमा पुर्‍याए।

खेलको उत्तरार्धको ७३ औँ मिनेटमा पाराग्वेका माउरिसियोले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन। खेलको अन्तिम समयमा अमेरिकाका विङ्गर जियो रेइनाले अर्को एक सुन्दर गोल गर्दै टोलीलाई ४-१ को सानदार जित दिलाए। यो जितसँगै अमेरिकाले समूह ‘डी’ मा ३ अंक जोडेर शीर्ष स्थान बनाएको छ। यस समूहमा अस्ट्रेलिया र टर्की पनि छन्। अमेरिकाको अर्को खेल जुन १९ मा अस्ट्रेलियासँग हुनेछ।

चार वर्षअघिको कतार विश्वकपमा अमेरिकाले जम्मा तीन गोल मात्र गरेको थियो। तर, नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोको नयाँ रणनीति र ७० हजारभन्दा बढी दर्शकको समर्थनमा अमेरिकी टोली यसपटक निकै आक्रामक देखियो।

अमेरिकाका लागि दुई गोल गर्ने २४ वर्षीय बालोगुन खेलका नायक बने। उनले सन् १९३० पछि विश्वकपको एउटै खेलमा दुई गोल गर्ने पहिलो अमेरिकी खेलाडीको कीर्तिमान समेत बनाए। त्यस्तै, खेलको सुरुवाती गोलहरूमा मद्दत गरेका कप्तान क्रिस्टियन पुलिसिकले उत्कृष्ट प्रदर्शन गरे। यद्यपि, उनी चोटका कारण दोस्रो हाफ अर्थात् उत्तरार्धमा मैदान बाहिरिएका थिए, तर उनले आफू ठिक रहेको संकेत गरेका छन्।

हलिउड नजिकै भएको यस ऐतिहासिक खेल हेर्न कलाकारहरु टम क्रुज, लियोनार्डो डिकाप्रियो, बिल गेट्स जस्ता विश्वप्रसिद्ध बिशेष व्यक्तित्व र ख्यातिप्राप्त व्यक्तिहरू मैदान पुगेका थिए।

प्रतिक्रिया