
शेखर राई, न्युह्याम्पसायर, अमेरिका | जुन २०२६
किरात राईहरुको महान सांस्कृतिक चाड उभौली साकेला अमेरिकाका विभिन्न राज्य तथा सहरहरूमा युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यूकेआरओए) को समन्वयमा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
संस्थाका अनुसार टेक्सास, मेरिल्यान्ड, क्यालिफोर्निया तथा न्यु इङ्ल्यान्ड क्षेत्रमा सम्बन्धित च्याप्टरहरूको आयोजनामा पूजा–अनुष्ठान तथा विविध सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्। यस वर्ष टेक्सास च्याप्टरले मे १० मा युलेसमा, डीएमभी च्याप्टरले मे १० मा बाल्टिमोरमा, क्यालिफोर्निया च्याप्टरले मे १६ मा सान फ्रान्सिस्कोमा तथा न्यु इङ्ल्यान्ड च्याप्टरले मे ३० मा म्यासाचुसेट्सको ब्रिमफिल्डस्थित संस्थाको आफ्नै साकेला थानमा कार्यक्रम आयोजना गरेको हो।

प्रकृति र पितृपूजक किरात राईहरूको उभौली साकेला मौलिक पहिचान बोकेको महत्वपूर्ण चाड हो। यस अवसरमा किरात राईहरू परम्परागत भेषभूषामा सजिएर साकेला थानमा सिमेभूमे र सुप्तुलुङमा पितृहरूको पूजा गर्दै ढोल र झ्याम्ट्याको तालमा सिली नाच्दै, एकआपसमा शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव र भाइचाराको सम्बन्धलाई पुनर्ताजगी गराउँदै भव्य रूपमा मनाउने परम्परा रहिआएको छ। नेपाली–अमेरिकी किरात राईहरूले पनि यस वर्ष विभिन्न राज्यका सहरहरूमा नछुङद्वारा मुन्दुमी विधिअनुसार पूजा–अनुष्ठान सम्पन्न गरेका छन्।

विशेषगरी म्यासाचुसेट्स राज्यको ब्रिमफिल्डस्थित यूकेआरओएको साकेला थान तथा माङ्खिममा मे ३० मा सम्पन्न कार्यक्रम अत्यन्त भव्य र आकर्षक रहेको थियो। उक्त कार्यक्रममा विभिन्न राज्यहरूबाट किरात राई तथा अन्य नेपाली समुदायका दाजुभाइ–दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका नछुङ तथा प्रमुख अतिथि पदमबहादुर राईले मुन्दुमी विधिअनुसार पूजा सम्पन्न गरी उभौली साकेलाको औपचारिक शुभारम्भ गर्नुभएको थियो भने उहाँलाई संस्थाका रिशिमी तथा पूर्व अध्यक्ष विष्णु राईले सहयोग गर्नुभएको थियो। मुख्य मुन्दुमी अनुष्ठानपछि साकेला थानमा सामूहिक रूपमा सिली नृत्य प्रस्तुत गरिएको थियो।

समारोहमा संस्थाका पूर्व अध्यक्षहरू शिव राई, प्रभाकर राई, मुना राई, जय थुलुङ राई, विष्णु राई, संस्थापक सदस्यहरू धौलवीर राई र सुरेश चाम्लिङ, यूकेआरओए केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष केशवराम राई, महासचिव ममता खालिङ, कोषाध्यक्ष राजन कुथुमी, न्युह्याम्पसायर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पा, केपकोड नेपाली समाजका अध्यक्ष विष्णुमान महर्जन, आदिवासी जनजाति महासंघ (FIPNA) का पूर्व अध्यक्ष तोरण गुरुङ, भुटानीज किरात राई अर्गनाइजेसन अफ अमेरिका (BKROA) का च्याप्टर अध्यक्ष विष्णु राई लगायत अन्य पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। साथै केपकोड र न्युयोर्कबाट ठूलो संख्यामा सहभागीहरू उपस्थित भएका थिए।

उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई यूकेआरओए न्यु इङ्ल्यान्ड च्याप्टरका वरिष्ठ उपाध्यक्ष शेखर राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा अतिथिहरूका रूपमा न्युह्याम्पसायर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पा, केपकोड नेपाली समाजका अध्यक्ष विष्णुमान महर्जन तथा यूकेआरओए न्युयोर्क च्याप्टरका कार्यवाहक अध्यक्ष बसन्त राईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सोही अवसरमा यूकेआरओए का केन्द्रीय उपाध्यक्ष तथा साकेला थान परियोजनाका संयोजक मुक्तिनारायण राईले यस वर्ष साकेला थान तथा माङ्खिम क्षेत्रमा श्रमदानमार्फत सम्पन्न गरिएको स्तरोन्नतिबारे प्रकाश पार्नुभएको थियो। उहाँले उक्त कार्यमा योगदान पुर्याउने सम्पूर्ण श्रमदाताहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो। साथै, उहाँले यस वर्षको अन्तिम उभौली साकेला आगामी जुन २७ मा न्युयोर्कमा आयोजना गरी समापन (मैजारो) गरिने जानकारी गराउनुभएको थियो।
त्यसैगरी किरात संस्कृति र सभ्यतामाथि डकुमेन्ट्री निर्माण गरिरहनु भएका वरिष्ठ पत्रकार तथा कवि जसकुमार राईलाई यूकेआरओए का केन्द्रीय महासचिव ममता खालिङ, पूर्व अध्यक्षहरू तथा कार्यक्रममा उपस्थित अतिथिहरू—न्युह्याम्पसायर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पा र केपकोड नेपाली समाजका अध्यक्ष विष्णुमान महर्जन लगायत—ले संयुक्त रूपमा खादा ओढाएर सम्मान गर्नुभएको थियो। सम्मानित व्यक्तित्व जसकुमार राईले आफ्नो अभियान तथा निर्माणाधीन कृतिबारे प्रकाश पार्दै आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन न्यु इङ्ल्यान्ड च्याप्टरका महासचिव चन्द्रकुमार राईले गर्नुभएको थियो भने अध्यक्षता च्याप्टरका अध्यक्ष कर्णबहादुर राईले गर्नुभएको थियो। अन्त्यमा अध्यक्ष राईले सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो।
प्रतिक्रिया