इरानलाई इजरायलको कडा चेतावनी: “फेरि आक्रमण गरे सहनै नसक्ने गरी ठूलो प्रहार गर्नेछौँ!”

ट्रम्पको हमलालगत्तै इजरायल पनि इरानमाथि खनिन तयार

इनेप्लिज २०८३ जेठ २८ गते ०:१५ मा प्रकाशित

अमेरिकाले इरानमाथि भीषण आक्रमण गरिरहेकै बेला इजरायलले पनि इरानलाई ठूलो सैन्य कारबाहीको चेतावनी दिएको छ। इजरायलका रक्षा मन्त्री इजरायल काट्सले आफ्नो देश इरानमाथि ‘अत्यन्तै शक्तिशाली रूपमा’ जाइलाग्न पूर्ण रूपमा तयार रहेको बताएका छन्।

बुधबार बेलुका जेरुसेलममा आयोजित एउटा समारोहमा बोल्दै रक्षा मन्त्री काट्सले इरानविरुद्धको अभियान ‘अझै नसकिएको’ प्रष्ट पारे। उनले चेतावनी दिँदै भने, “यदि इरानले इजरायलमाथि फेरि कुनै पनि आक्रमण गर्ने दुस्साहस गर्‍यो भने उसले यसपटक इतिहासकै सबैभन्दा गम्भीर र ठूलो धक्का बेहोर्नुपर्नेछ।”

इजरायली रक्षा मन्त्रीको यो कडा बयान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा लगत्तै आएको हो। ट्रम्पले बुधबार नै अमेरिकाले इरानका विभिन्न ठेगानामा फेरि नयाँ हमलाहरू गर्ने बताएका थिए, जसका कारण मध्यपूर्व क्षेत्रमा युद्धको आगो झन् सल्किएको छ। अहिले अमेरिकाले इरानमा फेरी आक्रमण गरेको छ ।

यसअघि, यही हप्ताको सुरुमा इजरायल र इरानबीच दुई महिनाको अन्तरालपछि एकापसमा क्षेप्यास्त्र हानाहान भएको थियो। अमेरिकी र इजरायली दुवै आक्रमणको चेतावनीले यो क्षेत्रमा स्थिति नियन्त्रण बाहिर जाने खतरा बढेको छ।

प्रतिक्रिया