बैजनाथमा सिकाई साझेदारी बैठक

इनेप्लिज २०८३ जेठ २५ गते २२:५३ मा प्रकाशित

नेपालगन्ज । जलवायु परिवर्तन सम्बन्धी बिद्यालय स्तरीय सचेतना कार्यक्रम अन्तरगत बैजनाथ गाउँपालिकामा सिकाइ साझेदारी बैठक सम्पन्न भएको छ ।


बैजनाथ गाउँपालिकाको सहयोगमा बास नेपालद्धारा आयोजित उक्त छलफल तथा समिक्षा बैठकमा जलवायु परिवर्तन सचेतना कार्यक्रमले छोटो समयमा राम्रो उपलब्धी हासिल भएको प्रधानाध्यापकहरुले बताएका छन् । कार्यक्रमको बोल्दै श्री सुर्योदय माबि चिसापानीका प्रधानाध्यापक दिपक बहादुर शाहीले जलवायु सचेतना कार्यक्रम प्रभावकारी रहेको बताए । जलवायु परिवर्तन अहिलेको आवश्यकता रहेको बताउदै बिद्यार्थीसँगै अभिभावक सचेतनामा जोड दिनुपर्नेमा उनको जोड थियो । बिद्यालय सरसफाई र हरियालीसँगै शुद्ध पिउने पानी लगायतका आधारभुत कुराहरु समाधानमा पालिकाले जोड दिनुपर्नेमा सहभागि प्रधानाध्यापकहरुको जोड थियो । बैठकको क्रममा जलवायु परिवर्तन कार्यक्रममा सहभागि बिद्यार्थीहरुले अनुभव आदान प्रदान गरेका थिए ।

बास नेपालका केन्द्रीय महासचिब कल्पना अधिकारीले सहजिकरण गरेको बैठकमा जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रमको उद्धेश्य, कार्यक्रम अन्तरगत प्राप्त महत्वपूर्ण उपलब्धीहरु, सिकाई, समस्या र चुनौती र आगामी योजनाका बिषयमा बास नेपालका निर्देशक हेमराज भट्टले प्रस्तुतीकरण गरेका थिए । बैठकमा बैजनाथ गाउँपालिका वडा नम्बर १ को श्री सूर्योदय माबि, वडा नम्बर ५ का श्री सुन्दर आबि, श्री सिंह भवानी आबि र श्री नेरा माबि गुरुवागाँउ र वडा नम्बर ७ को श्री नेरा माबि पेडारीका प्रधानाध्यापक, सम्पर्क शिक्षक र जलवायु क्लबमा आबद्ध बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया