मेरिल्याण्डमा ‘मनको बहलाई बाँधी नराखौं’ शृङ्खला सुरु: नेपाली समुदायको मानसिक स्वास्थ्य सुधार्ने नयाँ पहल

इनेप्लिज २०८३ जेठ २३ गते २१:५२ मा प्रकाशित

मेरिल्याण्ड, अमेरिका। “हाम्रो आवश्यकता: स्वस्थ मानसिकता” भन्ने मूल नाराका साथ मेरिल्याण्ड नेपाली मेडिकल सोसाइटीले भोलि (आइतबार) देखि ‘मनको बहलाई बाँधी नराखौं शृङ्खला-२०२६’ सञ्चालन गर्ने भएको छ।

विगत केही वर्षदेखि नेपाली समुदायमा बृहत् वार्षिक स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको यस संस्थाले मानसिक स्वास्थ्यको क्षेत्रमा यो एउटा ठुलो र महत्त्वपूर्ण खुड्किलो चालेको हो।

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको विशेष पहलमा मन्टगोमेरी काउन्टी हेल्थ डिपार्टमेन्ट अन्तर्गतको ‘एसियन अमेरिकन हेल्थ इनिसिएटिभ्स’ सँग सहकार्य गरेर यस कार्यक्रमको भव्य तयारी मिलाइएको छ।

एमएनएमएसको मनोरोग विशेषज्ञ टोलीले आगामी १७ वटा शृङ्खलाका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको छ। यस कार्यक्रममा नेपाली समुदायका मानिसहरूले भोगेका पीर, चिन्ता, डर, रहनसहन परिवर्तनका कारण आउने असहजता, कुण्ठा, निराशा, अनिन्द्रा र हिंसा जस्ता संवेदनशील विषयहरूमा मन खोलेर कुरा गरिने छ। साथै, विशेषज्ञहरूले यी समस्याहरूबाट कसरी मुक्ति पाउने र निदान कसरी गर्ने भन्नेबारे व्यावहारिक ज्ञान सिकाउने छन्।

यस अभियानको प्राविधिक नेतृत्व मनोरोग नर्स प्राक्टिसनर(स्वास्थ्यकर्मी)द्वय रश्मी भट्टराई र लक्ष्मी खनालले गर्ने छन् भने उनिहरूलाई अन्य मनोरोग चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सहयोग गर्ने जानकारी एमएनएमएसकी संस्थापक अध्यक्ष सुनिता बस्नेत थापाले दिएकी छन् ।

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष प्रज्वल रेग्मीका अनुसार, कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले गुगल फर्म मार्फत आवेदन दिन सक्नेछन्। नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको तर्फबाट यस कार्यक्रमको संयोजन विष्णु थापाले गर्ने छन् । कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि आवश्यक परेमा यातायात (गाडी) को समेत निःशुल्क सुविधा उपलब्ध गराइने छ।

“हामी नेपाली हौँ, हाम्रा समस्याहरू मिल्दाजुल्दा छन्। आउनुहोस्, आफ्ना दुःख-सुख साटासाट गरौँ र खुसीसाथ बाचौँ,” भन्दै आयोजकले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा आमन्त्रण गरेको छ।

कार्यक्रमको विवरण:

स्थान:नेपाली पाठशाला (Cabin Branch Elementary School)
*समय:हरेक आइतबार बिहान १०:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म

प्रतिक्रिया