
नेपालको उदाउँदो राजनीतिक शक्ति तथा वर्तमान सबै भन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता नितिन नवीनबिच नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता भएको छ।
भारत भ्रमणमा रहेका सभापति लामिछानेले नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय मुख्यालयमै पुगेर सो संवाद गरेका हुन् ।
भेटका क्रममा दुई दलबिचको आपसी सम्बन्ध, नेपाल-भारत द्विपक्षीय चासो र भविष्यमा गर्न सकिने सहकार्यका विविध पक्षमा गहन छलफल भएको छ। रास्वपाका प्रवक्ता मनीष झाका अनुसार जेठ १८ देखि २२ गतेसम्म हुने यस पाँच दिने भ्रमणका क्रममा सभापति लामिछाने नेतृत्वको टोलीले नयाँ दिल्लीमा थप उच्चस्तरीय राजनीतिक र कूटनीतिक भेटघाटहरू गर्ने तालिका रहेको छ।
भाजपाले पनि नेपालको सत्तारूढ गठबन्धनको प्रमुख घटक रास्वपाका सभापतिसँगको यस भेटलाई निकै महत्त्व दिएको छ। यस संवादले दुई देशका राजनीतिक दलबिच औपचारिक संवादको सुरुवात गरेको र भविष्यमा सहकार्यको बलियो जग बसाल्ने भाजपाले जनाएको छ। भ्रमणको मुख्य उद्देश्य दुई दल बिचको सम्बन्ध विस्तार गर्नुका साथै सङ्गठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान गर्नु रहेको छ।
उच्चस्तरीय भ्रमण टोलीमा सभापति लामिछानेसँगै रास्वपाका महामन्त्री एवं सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं सांसद दीपक बोहरा र निकिता पौडेल सहभागी रहेका छन् । राजनीतिक भेटघाटका अलावा सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदायसँग पनि विशेष अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
नेपाल र भारतका दुई प्रमुख दलहरू बिच सुरु भएको यो प्रत्यक्ष र औपचारिक संवादले भविष्यमा दलगत सम्बन्ध मात्र नभई क्षेत्रीय राजनीतिक सहकार्यमा समेत नयाँ आयाम थप्ने विश्वास गरिएको छ। यस महत्त्वपूर्ण भ्रमण र राजनीतिक छलफलको व्यवस्थापन तथा समन्वय नयाँ दिल्लीस्थित नेपाली दूतावासले गरिरहेको छ।
प्रतिक्रिया