पेन्टागनको अर्को निर्णय: अमेरिकी रक्षा बिभागको प्रेस कार्यालयमा पत्रकारहरूलाई रोक

प्रेस कार्यालय बन्यो 'गोपनीय क्षेत्र': अमेरिकामा सरकार र पत्रकारबिच तनाव बढ्दै

इनेप्लिज २०८३ जेठ १९ गते ११:०१ मा प्रकाशित

अमेरिकी रक्षा बिभाग (पेन्टागन) ले संचार माध्यममाथि थप कडाइ गर्दै आफ्नो प्रेस कार्यालयमा पत्रकारहरूको प्रवेशमा रोक लगाएको छ। पेन्टागनले अब सो कार्यालयलाई ‘गोपनीय क्षेत्र’ घोषणा गरेको छ, जहाँ पत्रकारहरू जान पाउने छैनन्।

पेन्टागनका कार्यवाहक प्रेस सचिव जोएल वाल्डेजले सामाजिक सञ्जाल एक्स मार्फत यो निर्णयको पुष्टि गरेका छन्। उनका अनुसार यो कुनै विवादास्पद निर्णय होइन। रक्षा सचिवका लागि भाषण लेख्ने कर्मचारीहरू अहिले सोही कार्यालयमा बस्न थालेकाले यस्तो निर्णय गरिएको हो।

यी भाषण लेखकहरूले देशको सुरक्षासँग जोडिएका अत्यन्तै गोप्य सरकारी दस्ताबेज र सूचनाहरू चलाउने गर्दछन्। त्यसैले, ती सरकारी गोपनीयताहरू सुरक्षित राख्नका लागि पत्रकारहरूलाई अबदेखि सो कोठा भित्र पस्न अनुमति नदिइने वाल्डेजले बताएका छन्।

‘द वासिङ्टन पोस्ट’ अखबारले पहिलो पटक सार्वजनिक गरेको यो निर्णयसँगै अमेरिकी सञ्चारमाध्यम र राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकालको सरकारबिच तनाव झन् बढेको छ।

एपीका अनुसार समाचार सङ्कलन र सूचनाको स्वतन्त्रतालाई लिएर सरकार र पत्रकारहरू बिच सार्वजनिक रूपमा र कतिपय अवस्थामा अदालतसम्मै विवाद चलिरहेको छ।

प्रतिक्रिया