बनभोजको भव्य सफलतासँगै ‘८औँ कलिउड नाइट २०२६’ को व्यापक तयारी, भर्जिनियामा नेपाली समुदायको उत्साह

इनेप्लिज २०८३ जेठ १९ गते १:४६ मा प्रकाशित

अमेरिकाको वासिङ्टन डिसी महानगर क्षेत्रमा स्थापित र प्रवासमा नेपाली कला, भाषा एवं संस्कृतिलाई जीवन्त राख्न निरन्तर लागिपरेको संस्था ‘केसी डान्स सेन्टर’ ले हालै एक भव्य वनभोज (पिकनिक) को आयोजना गरेको छ। यसै अवसरमा संस्थाले अमेरिका र डिसी महानगर क्षेत्रमा अत्यधिक मनपराइएको आफ्नो प्रख्यात कार्यक्रम ‘कलिउड नाइट २०२६’ को आयोजना हुनु केही महिना अगाडी नै समुदायका सदस्यहरूलाई एकै ठाउँमा जोडेको छ । हाल यस वर्षको ‘८औँ कलिउड नाइट २०२६’ को व्यापक तयारी भइरहेको छ।

गत मे ३१ का दिन केसी डान्स सेन्टरद्वारा आयोजित विशेष ‘समर पिकनिक’ ग्रीष्म बनभोजमा डिसी महानगर क्षेत्रका ३५० भन्दा बढी नेपालीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। वनभोजमा विभिन्न मनोरञ्जक खेलकुद र नाचगानको आयोजना गरिएको थियो, जसमा ‘टग अफ वार’ (डोरी तान्ने खेल) मुख्य आकर्षण बन्यो। उपस्थित सबैले स्वादिलो नेपाली खाना र रमाइला खेलहरूको भरपूर आनन्द लिएका थिए।

केसी डान्स सेन्टरका संस्थापकद्वय नवीन केसी र लुना श्रेष्ठको अथक प्रयास, निस्वार्थ योगदान र कुशल नेतृत्वका कारण उनीहरूले आयोजना गर्ने हरेक कार्यक्रममा नेपाली समुदायको सधैं यस्तै बाक्लो र लोभलाग्दो उपस्थिति हुने गर्दछ।

हरेक वर्ष अपार सफलता प्राप्त गर्दै आएको कलिउड नाइट यस वर्ष आगामी आइतबार, अक्टोबर ११, २०२६ का दिन भर्जिनियाको मनाससस्थित भव्य ‘हिल्टन पर्फर्मिङ आर्ट्स सेन्टर’ मा आयोजना हुँदैछ। सन् २०१७ देखि लगातार सफल हुँदै आएको यो ऐतिहासिक कार्यक्रम यसपालि पहिलेभन्दा अझ बढी परिष्कृत, धमाकेदार र मनोरञ्जक बनाउने तयारी तीव्र पारिएको छ।

हरेक वर्षझैँ यस वर्ष पनि सांस्कृतिक कार्यक्रम बेलुकी ५:३० बजे ठिक समयमा सुरु हुने आयोजकले जनाएका छन्। कार्यक्रमलाई सबैको पहुँचमा राख्नका लागि यस पटक पनि टिकट दर साधारण तर्फ ३० र भीआईपी तर्फ ५० डलर मात्र निर्धारण गरिएको छ।

डिसी क्षेत्रका सम्पूर्ण नेपालीहरूलाई यस विशुद्ध नेपालीपनले भरिएको सांस्कृतिक कार्यक्रममा उपस्थित भई अमेरिकामा जन्मिएका दोश्रो पुस्ता र,उनीहरुको प्रतिभा र नेपाली कला,संस्कृतिको हौसला बढाइदिन समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया