टापुमा हमला भएपछि ठूलो हवाई आक्रमण गरेको इरानी सेनाको दाबी

'फेरि आक्रमण गरे परिणाम अझै गम्भीर हुनेछ'

इनेप्लिज २०८३ जेठ १८ गते ११:१६ मा प्रकाशित

इरानी सेना ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले सोमबार एउटा सैन्य अड्डा (एयरबेस)मा जवाफी हमला गरेको दाबी गरेको छ।

केही समयअघि अमेरिकी सेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलडमरुमध्य नजिकै रहेको इरानको सिरिक टापुमा आक्रमण गरेको थियो। इरानले सोही अमेरिकी आक्रमणको बदला लिन यो कदम चालेको बताएको छ।

इरानको अर्ध-सरकारी समाचार संस्था ‘फर्स न्युज’ का अनुसार, अमेरिकी सेनाले इरानको हर्मोजगान प्रान्तमा पर्ने सिरिक टापुमा रहेको एउटा सञ्चार टावरमा आक्रमण गरेको थियो। त्यसको लगत्तै, इरानी वायुसेनाका लडाकु विमानहरूले उक्त अमेरिकी आक्रमण सुरु भएको सैनिक अड्डा (एयरबेस)लाई नै निशाना बनाएर जवाफी प्रहार गरे।

इरानी सेनाले आफ्ना निर्धारित लक्ष्यहरू सफलतापूर्वक नष्ट गरेको दाबी गरेको छ।

आक्रमणपछि विज्ञप्ति जारी गर्दै इरानी सेनाले अमेरिकालाई कडा शब्दमा चेतावनी दिएको छ। उनीहरूले भनेका छन्, “यदि अमेरिकाले यस्तो गल्ती वा आक्रमण फेरि दोहोर्‍यायो भने, यसपटकको भन्दा पूर्ण रूपमा फरक र अझै शक्तिशाली जवाफ दिइनेछ।” इरानले यस क्षेत्रमा हुने थप तनाव र जुनसुकै खराब परिणामको जिम्मेवार स्वयं अमेरिकी सरकार नै हुने कुरा समेत स्पष्ट पारेको छ।

प्रतिक्रिया