इरानमा ठूलो राजनीतिक हलचल: राष्ट्रपति पेजेस्कियानद्वारा राजीनामा पत्र पेस

इनेप्लिज २०८३ जेठ १८ गते ०:०६ मा प्रकाशित

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो पदबाट राजीनामा दिन सर्वोच्च नेताको कार्यालयमा पत्र पठाएको खबर बाहिरिएको छ। ‘इरान इन्टरनेसनल’ नामक संचार माध्यम (मिडिया)ले एउटा स्रोतलाई उद्धृत गर्दै आइतबार यो समाचार सार्वजनिक गरेको हो।  

राजीनामा पत्रमा राष्ट्रपति पेजेस्कियानले देशका ठूला र महत्त्वपूर्ण निर्णयहरूमा आफू र आफ्नो सरकारलाई कुनै भूमिका नदिई पाखा लगाइएको गुनासो गरेका छन्। यसरी निर्णय गर्ने ठाउँमा सरकार नभएपछि सिर्जना भएको खाली ठाउँको फाइदा उठाउँदै इरानको शक्तिशाली सेना, ‘इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स’ का कट्टरपन्थी गुटहरूले देशका मुख्य मामिलाहरूमा पूर्ण नियन्त्रण जमाएका छन्।

यस्तो परिस्थितिमा उनले प्रभावकारी रूपमा देश चलाउन र आफ्नो कानुनी जिम्मेवारी पूरा गर्न सक्दैनन्,राष्ट्रपतिले पत्रमा लेखेका छन् ।  त्यसैले उनले तुरुन्तै आफ्नो पदबाट हट्न पाऊँ भनी अनुरोध गरेका छन्। फक्सन्यूजका अनुसार तर, इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीको कार्यालयले यो राजीनामा स्वीकृत गर्छ कि गर्दैन भन्ने कुरा अझै प्रष्ट भइसकेको छैन। इरानी अधिकारीहरूले भने यो राजीनामाको खबरलाई हल्ला मात्र भन्दै अस्वीकार गरेका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरू धेरै कडा वार्ताकार भएको भन्दै अमेरिकासँगको व्यापक सम्झौता सुरक्षित गर्न अमेरिकाले धैर्यता अपनाइरहेको बताएका छन्।

यसअघि अप्रिल महिनामा ट्रम्पले इरानको आन्तरिक राजनीतिक प्रणाली निकै कमजोर र विभाजित भएको टिप्पणी गरेका थिए। इरान भित्रको यही आन्तरिक कलहका कारण उनीहरू बीचको युद्धविरामको अवधि थपिएको थियो।

प्रतिक्रिया