
अमेरिकाको ट्रम्प प्रशासनले हालै ल्याएको स्थायी आवासिय पत्र(ग्रीन कार्ड) सम्बन्धी एउटा नयाँ नियमका कारण अहिले अमेरिकामा व्यापक बहस र चिन्ता सुरु भएको छ।
सुरुमा सरकारले ल्याएको नियम अनुसार अमेरिकामा अस्थायी रूपमा बसिरहेका र ग्रीन कार्ड (स्थायी बसोबासको अनुमति) आवेदन दिन चाहने धेरैजसो विदेशीहरूले अब अमेरिका भित्रै बसेर प्रक्रिया पूरा गर्न पाउने छैनन्। उनीहरूले प्रक्रिया पूरा गर्न आफ्नै देश फर्कनु पर्ने बताइएको थियो।
यो नियम सार्वजनिक भएलगत्तै अमेरिकामा रहेका आप्रवासी, ठूला व्यापारी र वकिलहरू निकै चिन्तित भए।
उनिहरुलाई यस्तो लाग्यो कि यसले गर्दा लाखौँ मानिसले अमेरिका छोड्नु पर्नेछ र कतिपय त कडा यात्रा प्रतिबन्धका कारण फेरि अमेरिका फर्कनै पाउने छैनन्।
तर, चौतर्फी विरोध र दबाबपछि सरकारले आफ्नो बोली केही नरम बनाएको छ। अमेरिकी गृह विभागले एक विज्ञप्ति जारी गर्दै यो नियम पहिलेदेखि चल्दै आएको कानुन जस्तै भएको र यसले योग्य मानिसहरूलाई असर नगर्ने दाबी गरेको छ।
सरकारका अनुसार, जसले नियम र कानुन पालना गरेका छन् र जो दक्ष पेशेवरहुन्, उनीहरूलाई यसले कुनै असर गर्ने छैन।
एपिले प्रकाशित गरेको समाचारमा विज्ञहरूले बताए अनुसार सरकारले विरोधका कारण आफ्नो कडा भाषालाई केही नरम बनाए पनि नयाँ नियमले आप्रवासी र वकिलहरूको झन्झट भने पक्कै बढाउनेछ।
अब आवेदकहरूले आफू किन अमेरिका छोडेर आफ्नै देश जानु पर्दैन भन्ने कुरा प्रमाणित गर्न धेरै कागजात र प्रमाणहरू बुझाउनु पर्ने हुन्छ।
यसले गर्दा कानुनी रूपमा स्थायी आवासिय पत्र(ग्रीन कार्ड )पाउने प्रक्रिया पहिलेभन्दा केही ढिलो र अलि गाह्रो हुने देखिएको छ।
प्रतिक्रिया