भर्जिनिया राज्यमा विवाहको खुसी शोकमा बदलियो: बस दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु

इनेप्लिज २०८३ जेठ १६ गते २२:१८ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा एउटा ठूलो बसले गुडिरहेका गाडीहरूलाई ठक्कर दिँदा म्यासाचुसेट्स राज्यमा बस्ने एकै परिवारका चार जनाको ज्यान गएको छ। 

मृत्यु हुनेहरूमा ४५ वर्षका बुबा डिमिट्री  दोन्सेभ, ४४ वर्षकी आमा एकातेरिना दोन्सेभ र उनीहरूका दुई छोराछोरी एमिली र मार्क रहेका छन्। 

यो दुर्घटनामा अर्का एक जना २५ वर्षीया युवती प्रिसिला माफाल्डाको पनि मृत्यु भएको छ।

यो परिवार आफ्नै आफन्तको विवाहमा सहभागी हुन साउथ क्यारोलाउनातर्फ जाँदै थियो। आमा एकातेरिनाले विवाह उत्सवका लागि आफ्नै हातले धेरै प्रकारका मिठाईहरू बनाएर गाडीमा राखेकी थिइन्।

 तर, शुक्रबार बिहान सबेरै २:३५ बजेतिर अन्तरराज्य ९५ को सडक खण्डमा तीव्र गतिमा आएको एउटा यात्रुवाहक बसले अगाडि रहेका गाडीहरूलाई ठक्कर दियो। 

बाटो मर्मत भइरहेका कारण त्यहाँ गाडीहरू बिस्तारै गुडिरहेका थिए। बसले ठक्कर दिएपछि गाडीहरू एकआपसमा ठोक्किएका थिए, जसमा परेर यो परिवार सवार गाडी पूर्ण रूपमा दुर्घटनामा पर्‍यो।

मृतक डिमिट्री पेसाले स्वास्थ्यकर्मी(नर्स )थिए भने उनकी श्रीमती एकातेरिना कपाल कटाई सम्बन्धी काम गर्थिन्। 

उनीहरू सन् २००८ मा माल्दोभा देशबाट अमेरिका आएका थिए। डिमिट्रीका भाइ अर्को गाडीमा अगाडि जाँदै थिए। 

एपिले आफ्नो समाचारमा जनाए अनुसार बाटोमा छुट्दा डिमिट्री ‘तिमी अगाडि बढ्दै गर, म पछि आउँछु’ भनेका थिए। तर, उनी समयमै नपुगेपछि र दूरभाष गर्दा पनि नउठेपछि परिवारमा चिन्ता सुरु भएको थियो।

दुर्घटना गराउने यात्रीबाहक गाडी( बस)का चालक ४८ वर्षका जिङ एस. डोङ हुन्, जो न्यूयोर्कका बासिन्दा हुन्। प्रहरीका अनुसार उनी चिनियाँ मूलका हुन् र उनलाई अंग्रेजी भाषा बोल्न आउँदैन। उनलाई लापरबाहीपूर्वक गाडी चलाएर मानिसको ज्यान लिएको आरोपमा पक्राउ गरी मुद्दा चलाइएको छ। 

अमेरिकी यातायात विभागले यस भयानक दुर्घटनाको गम्भीर अनुसन्धान गरिरहेको छ। 

विवाह समारोह पूर्वनिर्धारित समयमै हुने भए तापनि अहिले सिङ्गो परिवार नै गुमाउनु पर्दा आफन्तहरू ठूलो शोकमा डुबेका छन्।

प्रतिक्रिया