
अमेरिकामा रहेका नेपाली समुदायका एक अत्यन्तै सम्मानित व्यक्तित्व, वरिष्ठ समाजसेवी तथा ‘एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज’ (एएनए ) का पूर्व अध्यक्ष डा. श्याम कार्कीकी धर्मपत्नी श्रीमती इन्दिरा कार्कीको मे २४, २०२६ मा मेरिल्याण्डमा दुःखद निधन भएको छ। यो दुःखद खबरले यतिबेला अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई गहिरो चोट पुर्याएको छ र स्तब्ध बनाएको छ।
डा. श्याम कार्की र स्वर्गीय इन्दिरा कार्की विगत ५० वर्षभन्दा अघि अमेरिका आएका थिए। उनीहरू दशकौँदेखि मेरिल्याण्ड राज्यमा बस्दै आएका थिए। डा. कार्कीले नेपाली समुदायका मात्र नभई धेरै एसियन-अमेरिकन संस्थाहरूको नेतृत्व सम्हाल्दै समाजको सेवामा आफ्नो जीवन समर्पित गरेका छन् ।

कार्की दम्पती समाजमा अत्यन्तै आदरणीय, दयालु र आध्यात्मिक विचार भएका व्यक्तित्वका रूपमा चिनिन्थे। इन्दिरा कार्कीले सधैँ पर्दा पछाडि बसेर डा. कार्कीको सामाजिक कार्यमा बलियो साथ दिँदै आएकी थिइन् । उनको यही निस्वार्थ सेवा र ममतामयी स्वभावका कारण आज उनको बिदाइले सिंगो समाजलाई अभिभावकविहीन बनाएको महसुस गराएको छ।
यस अपूरणीय क्षतिको घडीमा अमेरिकाकै राष्ट्रिय स्तरको पुरानो र प्रतिष्ठित संस्था ‘एएनए’ ले आधिकारिक रूपमा एक शोक वक्तव्य जारी गर्दै स्वर्गीय इन्दिरा कार्कीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। एएनएका वर्तमान अध्यक्ष खगेन्द्र अधिकारीले सम्पूर्ण एएनए परिवारका तर्फबाट शोक सन्तप्त डा. श्याम कार्की र उनका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “हामी यस दुःखद खबरले स्तब्ध छौँ। दुःखको यस घडीमा हामी डा. श्याम कार्की र शोकमा डुबेको परिवारप्रति हार्दिक सहानुभूति प्रकट गर्दछौँ र दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछौँ।” एएनए परिवार र सिङ्गो नेपाली समुदायले यस घडीमा डा. कार्की र उनको परिवारलाई यो ठुलो बज्रपात सहन सक्ने शक्ति मिलोस् भनी प्रार्थना गरेको छ।

प्रतिक्रिया