
अमेरिकाका विदेशसचिव मार्को रुबियोले विश्वकै सबैभन्दा महत्त्वपूर्ण व्यापारिक समुद्री मार्गमध्ये एक, ‘स्टे्रट अफ हर्मुज’ (हर्मुज जलमार्ग) लाई जसरी पनि खुला गराइने बताएका छन् ।
विभिन्न देशहरूको कूटनीतिक भ्रमणमा रहेका मन्त्री रुबियोले इरानसँग सम्झौता हुनासाथ यो मार्ग पूर्ण रूपमा खुला हुनुपर्नेमा जोड दिए । उनले स्पष्ट शब्दमा भने , “यो जलमार्ग खुला हुनेछ—चाहे जे सुकै गरेर होस्।”
इरानले सो समुद्री मार्ग भएर जाने जहाजहरूसँग जबर्जस्ती पैसा उठाउने (टोलिङ प्रणाली) नियम लागू गरेको छ। विदेशसचिव रुबियोले यसको कडा आलोचना गर्दै इरानको यो कदम पूर्ण रूपमा गैरकानुनी र संसारकै लागि स्वीकार गर्न नसकिने खालको रहेको बताए ।
संसारका ठूला र शक्तिशाली देशहरू पनि इरानको यो कदमको विरुद्धमा छन्। रुबियोका अनुसार, इरान सरकारबाहेक संसारको कुनै पनि देश यसरी समुद्री बाटोमा पैसा उठाउने पक्षमा छैन। यहाँसम्म कि इरानका मित्र मानिने रुस र चीनले समेत यसलाई समर्थन गरेका छैनन्।
यसैबीच, अमेरिका र इरानबीच चलिरहेको नयाँ सम्झौताका बारेमा बोल्दै रुबियोले केही दिनभित्रै एउटा निष्कर्ष निस्कने आशा व्यक्त गरे । अमेरिकी राष्ट्रपतिले भर्खरै त्यस क्षेत्रका धेरै नेताहरूसँग ऐतिहासिक र महत्त्वपूर्ण कुराकानी गरेका छन् , जहाँ सम्झौताको प्रारम्भिक मस्यौदा (ड्राफ्ट) मा सबैको बलियो सहमति जुटेको छ।
अन्तमा मन्त्री रुबियोले भने , “यस्ता ठूला विषयहरूमा सहमति जुट्न केही दिन त लाग्छ नै। यदि सम्झौता भयो भने त्यो निकै राम्रो र ठूलो सम्झौता हुनेछ, अन्यथा कुनै सम्झौता हुने छैन।”
प्रतिक्रिया