इरानको समुद्रमा अमेरिकी आक्रमण :अमेरिकी सेनाद्वारा इरानी नौसेनाका जहाज र क्षेप्यास्त्र स्थल ध्वस्त

अमेरिकी विमा धराप थाप्ने दुईवटा इरानी जहाज पानीमै डुबे

इनेप्लिज २०८३ जेठ १२ गते १:०३ मा प्रकाशित

वासिङ्टन डीसी । अमेरिकी सेनाले सोमबार दक्षिण इरानमा ‘आत्मरक्षा’ का लागि भन्दै ठूलो हवाई आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यस सैन्य कारबाहीमा इरानका क्षेप्यास्त्र प्रहार गर्ने ठाउँहरू (लन्च साइट) र सेनाका जहाजहरूलाई निसाना बनाइएको छ।

केन्द्रिय कमाण्डका प्रवक्ता सह सेनानी (क्याप्टेन )टिम हकिन्सले भने , “इरानी सेनाबाट हाम्रा सैनिकहरूमाथि हुन सक्ने ठूलो खतराबाट बचाउनका लागि आज दक्षिण इरानमा आत्मरक्षाका लागि यी आक्रमणहरू गरिएका हुन्।”

अमेरिकी अधिकारीका अनुसार इरानको विशेष सैन्य दस्ता ‘आईआरजीसी’का दुईवटा जहाजले समुद्रमा ‘माइन’ (लुकाएर राखिने बम) बिछ्याइरहेको बेला अमेरिकी सेनाले ती जहाजहरूलाई ध्वस्त पारिदिएको हो।

यसका साथै, इरानको बन्दर अब्बास भन्ने ठाउँमा रहेको सतहबाट हावामा प्रहार गर्ने एउटा क्षेप्यास्त्र केन्द्रले अमेरिकी युद्धक विमानहरूलाई निसाना बनाएपछि अमेरिकी सेनाले उक्त क्षेप्यास्त्र केन्द्रलाई पनि पूर्ण रूपमा नष्ट गरिदिएको छ। यो आक्रमणपछि हर्मुज स्ट्रेट र त्यसका आसपासका क्षेत्रहरूमा ठूला–ठूला विस्फोटका आवाजहरू सुनिएका थिए।

एक वरिष्ठ अमेरिकी अधिकारीले फक्स न्यूजलाई दिएको जानकारी अनुसार यो अमेरिकाको तर्फबाट केवल आफ्नो बचाउका लागि गरिएको रक्षात्मक आक्रमण मात्र थियो। अहिलेका लागि यो आक्रमण सकिएको छ।

दुईवटा अन्य स्रोतहरूका अनुसार यस आक्रमणको अर्थ अमेरिका र इरानबीच चलिरहेको युद्धविराम अन्त्य भएको वा भत्किएको भने होइन। अमेरिकी सेनाले युद्धविरामको पालना गर्दै संयमता अपनाइरहेको तर आफ्ना सैनिकमाथि खतरा आएमा रक्षा गर्न पछि नहट्ने स्पष्ट पारेको छ।

प्रतिक्रिया