शिकागोमा नेपाललाई जोड्ने चिकित्सकरूको मेला : मातृभूमिका लागि ४ दिनपछि ऐतिहासिक सम्मेलन हुदै

३० वर्षदेखि नेपालको दुःखमा निरन्तर मलम लगाउदै

इनेप्लिज २०८३ जेठ ११ गते १६:५४ मा प्रकाशित

आफ्नो जन्मभूमि नेपालबाट हजारौँ माइल टाढा अमेरिकाका विभिन्न राज्य र शहरहरूमा बसेर चिकित्सा क्षेत्रमा ठूलो सफलता हासिल गरेका नेपाली-अमेरिकी चिकित्सकहरू अबको ठीक ४ दिनपछि एउटै छानोमुनि भेला हुँदैछन्।

अमेरिकामा रहेका नेपाली चिकित्सकहरूको प्रतिष्ठित संस्था ‘अमेरिका नेपाल मेडिकल फाउन्डेसन’ (एएनएमएफ ) को ३०औँ वार्षिक साधारण सभा मे २९ देखि ३१ सम्म शिकागोको ‘द वेस्टिन शिकागो नर्थ शोर’ होटलमा भव्य रूपमा आयोजना हुँदैछ।

यो सम्मेलन केवल चिकित्सकहरूको छलफल गर्ने ठाउँ मात्र होइन, बरु अमेरिकामा आएका नेपाली-अमेरिकी चिकित्सकहरूले आफ्नो मातृभूमि नेपाललाई कसरी सहयोग गरिरहेका छन् । उनीहरूको काम कति उत्कृष्ट छ भनेर देखाउने गौरवमय उत्सव पनि हो।

संस्थाका अध्यक्ष डा. विष्णु सापकोटाका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। बाहिरका राज्य तथा शहरहरूबाट चिकित्सक ,अतिथि ,स्वास्थ्यकर्मी,पदाधिकारी र सदस्य हरू आउने क्रम बिहीबारदेखि नै सुरु हुनेछ र शुक्रबार साँझसम्म सबै जना शिकागो आइ पुग्ने छन् ।

यस पटकको सम्मेलनलाई निकै रोचक र फरक बनाउन चिकित्सा छलफलका साथै खेलकुद र सांस्कृतिक कार्यक्रमहरू पनि थपिएका छन्। मे २९, शुक्रबारका दिन चिकित्सकहरू आफ्नो स्टेथस्कोप अर्थात् “मुटुको धड्कन नाप्ने यन्त्र” र एप्रोन(सेतो पोशाक) छोडेर खेल मैदानमा उत्रिनेछन्।

सोही दिन बिहान ८ बजे ‘हेरिटेज ओक्स गल्फ क्लब’ मा गल्फ प्रतियोगिता हुनेछ भने दिउँसो १ बजेदेखि ४ बजेसम्म ह्विलिङ स्थित ‘हेरिटेज पार्क स्पोर्ट्स कम्प्लेक्स’ को मैदान नम्बर ३ मा मैत्रीपूर्ण भकुण्डो (फुटबल) को घमासान खेल हुनेछ। बिरामी जाँच्ने चिकित्सकहरू मैदानमा फुटबल खेल्दाको दृश्य निकै रोमाञ्चक र रमाइलो हुने अपेक्षा गरिएको छ।

सम्मेलनको दोस्रो दिन, अर्थात् मे ३० शनिबार मुख्य कार्यक्रम हुनेछ। सोही दिनको साँझ नेपालका विभिन्न स्वास्थ्य परियोजनाका लागि रकम जुटाउन ‘फन्ड रेजिङ’ अर्थात् कोष वृद्धि कार्यक्रम गरिनेछ। यसबाहेक, युवा पुस्ताका नेपाली-अमेरिकीहरूको विचार सुन्न ‘युथ फोरम’ र नयाँ स्वास्थ्य खोजहरू प्रस्तुत गर्न ‘पोस्टर प्रिजेन्टेसन’ (पर्चापत्र प्रस्तुति) पनि गरिनेछ।

साना बालबालिकाहरूको बौद्धिक विकासका लागि डा. नारायण धरेलले बाल वादविवादको जिम्मा लिएका छन् । त्यस्तै, डा. जीवन लामिछाने, डा. रामु खरेल, डा. किरण सापकोटा र डा. शैलेन्द्र शर्मा जस्ता दिग्गज विशेषज्ञहरूले उपचार पद्धति र जनस्वास्थ्यका महत्त्वपूर्ण विषयहरूमा छलफल चलाउने तयारी गरेका छन् ।

सन् १९९७ मा डा. अर्जुन कार्कीको नेतृत्वमा न्यूयोर्कबाट सुरु भएको यो पवित्र यात्रा आज ३०औँ वर्षको शिखरमा पुगेको छ। अमेरिकामा व्यस्त र सफल जीवन बिताइरहेका यी चिकित्सकहरूले नेपाललाई कहिल्यै बिर्सेका छैनन्।

नेपालमा २०७२ को महाभूकम्प आउँदा होस् वा कोभिड-१९ को महामारी, यो संस्थाले जहिले पनि नेपाल र नेपालीको ढाल बनेर काम गरेको छ। हालसम्म ३०० भन्दा बढी स्वास्थ्य परियोजनाहरू पूरा गरिसकेको यस संस्थाले नेपालका गाउँ-गाउँमा अस्पताल निर्माण गर्नेदेखि अन्तर्जाल (इन्टरनेट)मार्फत दुर्गममा उपचार पुर्‍याउने (टेलिमेडिसिन) सम्मका उत्कृष्ट कामहरू गरेको छ।

यो ऐतिहासिक भेलामा सहभागी भई नेपालको स्वास्थ्य क्षेत्रलाई अझ बलियो बनाउने अभियानमा जोडिन आयोजकले अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई हार्दिक आह्वान गरेको छ।

दर्ताका लागि संजालस्थल (वेबसाइट): https://conference.anmf.org/
सोधपुछका लागि बि-डाक (इमेल) [email protected]

प्रतिक्रिया