नेतन्याहु र ट्रम्पबिच विशेष कुराकानी: इरानलाई आणविक हतियार बनाउन नदिने अडान कायमै

इनेप्लिज २०८३ जेठ १० गते २१:१९ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार राती अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विशेष कुराकानी गरेका छन् । उनिहरू बिच इरानको आणविक कार्यक्रम र त्यसलाई रोक्न भइरहेका प्रयासहरूका बारेमा छलफल भएको थियो।

सिबिएसन्यूजका अनुसार कुराकानीका क्रममा दुवै नेताहरू इरानबाट आउन सक्ने आणविक खतरालाई पूर्ण रूपमा समाप्त पार्नुपर्ने कुरामा सहमत भएका छन्। प्रधानमन्त्री नेतन्याहुले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा लेख्दै भनेका छन् , “खतरामुक्त गर्नुको अर्थ इरानमा रहेका आणविक केन्द्रहरूलाई पूर्ण रूपमा बन्द गर्नु र त्यहाँ जम्मा पारिएका आणविक सामग्रीहरूलाई देश बाहिर हटाउनु हो।”

छलफलका क्रममा राष्ट्रपति ट्रम्पले इजरायलको सुरक्षाप्रति आफ्नो बलियो समर्थन दोहोर्‍याएका छन् । लेबनान लगायत जुनसुकै क्षेत्रबाट आउने खतरा वा आक्रमण विरुद्ध आफ्नो रक्षा गर्ने इजरायलको पूर्ण अधिकार रहेको कुरा ट्रम्पले स्पष्ट पारे ।

नेतन्याहुले अमेरिका र इजरायल बिचको मित्रता र साझेदारी युद्धमैदानमै प्रमाणित भइसकेको र यो इतिहासमै सबैभन्दा बलियो अवस्थामा रहेको दाबी गरेका छन् ।

अन्तमा, इजरायली प्रधानमन्त्री नेतन्याहुले आफ्नो र राष्ट्रपति ट्रम्पको नीतिमा कुनै परिवर्तन नआएको स्पष्ट पार्दै भनेका छन् , “हाम्रो नीति एकदमै प्रष्ट छ— इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन दिइने छैन।”

प्रतिक्रिया