तीन महादेशका केही तरङ्गको गृह विमोचन

इनेप्लिज २०८३ जेठ १० गते १०:५५ मा प्रकाशित

दर्शन र नियात्रा साहित्यमा सक्रिय कलम चलाउँदै आएका साहित्यकार पशुपति घिमिरेको नवीनतम कृति ‘तीन महादेशका केही तरङ्ग’ को गृह विमोचन गरिएको छ ।

कोलोराडोको डेन्भर शहरमा आयोजित अन्तर्राष्ट्रिय साहित्य समाजको नवौं अन्तरराष्ट्रिय सम्मेलनको विशिष्ट समारोहमा शनिवार बरिष्ठ साहित्यकार नवराज लम्साल,अनेसास अध्यक्ष सर्वज्ञ वाग्ले,बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा र लेखक घिमिरेले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

विमोचित पुस्तकमा एसिया, युरोप र उत्तर अमेरिकाका विभिन्न मुलुकहरूमा लेखकले गरेका यात्रा सम्बन्धि १७ सुललित निबन्धहरू संगृहीत छन्।

सो पुस्तकका बारेमा लेखक घिमिरेले भनेका छन्- ‘करीब आधा संसार ओगट्ने तीन महादेशको भूगोलको यात्रा हो यो । तर, यहाँ भूगोल मात्रै भेटिने छैन,छिचोल्दै जाँदा इतिहास,परम्परा,भाषा,धर्म,संस्कृति,सभ्यता,कला र साहित्य अनेक भेटिएला । कतै देवकोटा र घिमिरे भेटिएलान्,कतै सोफोक्लिज,सुकरात र शेक्सपियरहरू ।कतै मोनालिसाको मुस्कानमा लठ्ठ परियो होला,कतै ट्याक्सी चालकका दुखमा तप्त भइयो होला ।जुन जुन दृश्यले छोए आफूलाई,द्रष्टाका रूपमा तिनै दृश्यमा दृष्टि परेको होला । जे जे होला त्यो त यही पुस्तक भित्र होला ,जे यहाँभित्र नहोला सो प्रवुद्ध पाठकले औंल्याउनु होला । मेरा कमी कमजोरी देखाउनु होला ।’

शिखा बुक्सबाट प्रकाशित सो किताब अनलाइन स्टोर एमाजन र अन्य अनलाइन मार्फत संसारभर उपलब्ध रहेको जनाइएको छ ।

करीब एक दशक नेपालमा पत्रकारिता गरेर सन् २००८ मा अमेरिका आएका घिमिरेको यो दोस्रो कृति हो । सन् २०१३ मा नेपाली भाषामा बुद्धवादका तीन आयाम शीर्षकमा उनको पहिलो पुस्तक प्रकाशित भएको थियो । थ्री डाइमेन्सन्स अफ बुद्धिजम र वान्डरिङ वर्ड्स नाममा दुवै पुस्तकका अंग्रेजी संस्करण पनि एमाजनमा उपलब्ध भएको लेखक घिमिरेले बताए।

प्रतिक्रिया