विश्वलाई ठूलो राहत, इरान युद्ध अन्त्यको सहमति नजिक: राष्ट्रपति ट्रम्पद्वारा ऐतिहासिक सम्झौताको घोषणा

इनेप्लिज २०८३ जेठ ९ गते २१:०७ मा प्रकाशित

विश्वभर इन्धन र ऊर्जाको ठूलो संकट निम्त्याएको इरान युद्ध अन्ततः रोकिने सङ्केत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सामाजिक सञ्जालमार्फत इरानसँगको ऐतिहासिक सम्झौता ‘लगभग टुङ्गिएको’ र विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग ‘हर्मुज जलडमरू’ पुनः खुला हुने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पका अनुसार यस सम्झौताका अन्तिम बुँदाहरूमाथि अहिले छलफल भइरहेको छ र यसको औपचारिक घोषणा चाँडै गरिनेछ।

यो ठूलो सफलताका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यपूर्वी क्षेत्रका प्रमुख देशहरू इजरायल, साउदी अरब, संयुक्त अरब इमिरेट्स ,कतार, टर्की, इजिप्ट, जोर्डन, बहराइन र मध्यस्थता गरिरहेको पाकिस्तानका नेताहरूसँग दूरवार्ता (फोन)मा विशेष कुराकानी गरेका छन् ।

पाकिस्तानले तयार पारेको शान्ति सम्झौताको मस्यौदालाई अहिले अमेरिका र इरान दुवै पक्षले गम्भीरतापूर्वक अध्ययन गरिरहेका छन्। एपीले जनाए अनुसार स्रोतका अनुसार आगामी ४८ घण्टाभित्र यस विषयमा अन्तिम निर्णय आउन सक्छ।

प्रस्तावित सम्झौता अनुसार दुवै देशले औपचारिक रूपमा युद्ध अन्त्यको घोषणा गर्नेछन्। यसका साथै इरानको आणविक कार्यक्रम माथि दुई महिनासम्म विशेष वार्ता हुनेछ।

सहमति लागू भएपछि अमेरिकाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउनेछ भने इरानले विश्वभरको २० प्रतिशत तेल ओसारपसार हुने हर्मुज जलडमरू पूर्ण रूपमा खुला गर्नेछ। इरान भ्रमणमा रहेका पाकिस्तानी सेना प्रमुखको वार्तापछि इरानले पनि अमेरिकासँगको दूरी घट्दै गएको सङ्केत दिएको छ।

यसैबीच, भारत भ्रमणमा रहनुभएका अमेरिकी विदेशसचिव मार्को रुबियोले पनि वार्तामा ‘राम्रो प्रगति’ भएको र केही समयमै सुखद समाचार आउन सक्ने बताएका छन् । तर, रुबियोले अमेरिकी अडान दोहोर्‍याउँदै इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिइने र हर्मुजको समुद्री बाटो सधैँ खुला रहनुपर्ने कुरा स्पष्ट पारेका छन् ।

अहिले दुवै देश ६० दिने युद्धविराम थप गर्ने प्रस्तावमाथि पनि विचार गरिरहेका छन्। यद्यपि, केही क्षेत्रीय देशहरू यो युद्धविराम थप्ने कुरामा विभाजित छन् र अन्तिम समयमा आउन सक्ने प्राविधिक विवादले सम्झौता बिग्रन सक्ने डर पनि उत्तिकै छ। तर, यदि यो सम्झौता सफल भएमा यसले भारत लगायत विश्वभर चुलिएको इन्धन संकट र महँगीलाई ठूलो राहत दिनेछ।

प्रतिक्रिया