अमेरिकी विदेशसचिव मार्को रुबियो र प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेट: ऊर्जा संकट समाधान गर्न सहकार्य हुने

इरान युद्धका कारण विश्वभर इन्धन संकट: भारतलाई सघाउन अमेरिका अघि सर्‍यो

इनेप्लिज २०८३ जेठ ९ गते १४:१७ मा प्रकाशित

अमेरिकी विदेशसचिव मार्को रुबियो चार दिने भ्रमणका क्रममा भारत पुगेका छन् । शनिबार बिहान कलकत्ता पुगेका रुबियोले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गरेका छन् ।

भेटका क्रममा उन्ली प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्याइट हाउस’ भ्रमणको निमन्त्रणा समेत दिएका छन् । दुई नेताबीच क्षेत्रीय र विश्वव्यापी शान्ति तथा सुरक्षाका विषयमा कुराकानी भएको छ।

अहिले इरान युद्धका कारण विश्वभर इन्धन (तेल र ग्याँस) को ठूलो संकट चुलिएको छ। विशेषगरी ‘ हर्मुज जलडमरू’ भनिने एउटा साँघुरो समुद्री बाटो, जहाँबाट संसारको २० प्रतिशत तेल ओसारपसार हुन्छ, त्यो बाटो अहिले बन्द जस्तै छ। भारत आफूलाई चाहिने ८० प्रतिशतभन्दा बढी इन्धन विदेशबाट किन्ने गर्छ र त्यसको आधा हिस्सा यही बाटो भएर आउँथ्यो। यो बाटो बन्द हुँदा भारतलाई ठूलो मर्का परेको छ।

यस्तो अवस्थामा अमेरिकी विदेशसचिव रुबियोले अमेरिकाले भारतलाई आवश्यक पर्ने इन्धन बेच्न तयार रहेको बताएका छन् । उनले भने , “अमेरिकाले इरानलाई विश्वको ऊर्जा बजार बन्धक बनाउन दिने छैन। भारतले अमेरिकासँग तेल र ग्याँस किनेर आफ्नो संकट टार्न सक्छ।”

तर, अमेरिकासँग इन्धन किन्नु भारतका लागि त्यति सजिलो र सस्तो भने छैन, किनभने अमेरिकाबाट भारतसम्म तेल ल्याउने समुद्री बाटो निकै लामो र खर्चिलो छ। विश्लेषकहरूका अनुसार भारतले अहिले अमेरिकाबाट इन्धन आयात बढाएमा दुई देशबीचको व्यापारिक सन्तुलनमा पनि सुधार आउनेछ।

बिबिसीका अनुसार यो भ्रमण इन्धनमा मात्र सीमित छैन। गत वर्ष भारत र पाकिस्तानबीच भएको छोटो द्वन्द्व कसले शान्त पार्‍यो भन्ने विषयमा दुई देशबीच केही मतभेद छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैँले मध्यस्थता गरेर शान्ति ल्याएको दाबी गर्दै आएका छन् , तर भारतले भने आफ्नो मामिलामा तेस्रो पक्षको हस्तक्षेप स्वीकार नगर्ने अडान राख्दै यसको खण्डन गर्दै आएको छ।

यस्ता केही मतभेदका बाबजुद पनि दुवै देश अहिले आफ्नो आर्थिक र रणनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन प्रयासरत छन्।

प्रतिक्रिया