युगकवि सिद्धिचरण र बालकविता 

सुरेन उप्रेती पाँचथर हाल भिक्टोरिया क्यानडा  २०८३ जेठ ७ गते २१:४५ मा प्रकाशित

नेपाली साहित्यको आकाशमा एक चम्किलो नक्षत्रको  नाम हो  सिद्धिचरण श्रेष्ठ । राणाकालिन समयमा नेपाली जनताहरूलाई अन्धकारमा राखिएको थियो। जनताहरू शिक्षा, स्वास्थ, रोजगारी, देखि खाना र नाना सम्मका आधारभूत आवश्यकताबाट बञ्चित थिए । राणाहरू र भाइभारदारहरूका आशेपासेहरूबाट जनता सताइएका थिए। लुटिएका थिए । अशुरिक्षत थिए अड्डाअदालत, न्याय भन्नेकुरा लहडबाज राणाका मौखिक आदेशमा निहित थिए । राणाको सवारी हुँदा  ननिहुरीएको र नढोगेको कशुरमा यातना दिन्थे । जाडो महिनामा पनि टाउको छोप्न पाउने अर्थात टोपी लगउन पाउँने अनुमति सिमित मानिसहरूलाई मात्र थियो । राजामहाराजाले जस्तै टोपी लगाएको निहुँमा यातना दिने र जरिवाना तिराउने प्रचनल थियो । बिवाह गरेर आए पछी दामराखेर राणालाई नढोगे सम्म बिवाहले मान्यता पाउँदैन थियो । राम्री बेहुली देखेभने राणासँग रात बिताएरमात्र घरजान पर्ने हुकुम चलाउँथे । जातिय भेदभावको चरम पराकाष्टा थियो । तल्लो जात घोषित मानिसलाई बाटोमा हिँड्न पनि अनुमति नहुँने । कोही मानिस आएमा बाटोमुनी लाग्नु पर्ने जस्ता अमानविय कार्यले गर्दा जनतालाई कैदी बन्दी जस्तै बनाएको थियो । मठ मन्दिरमा जान जात्रा र पर्वहरूमा जानलाई बन्चित गरीएको थियो । जातका आधारमा लुगा र गहना लगाउनु पर्ने नियम लगाएका थिए । त्यस्तै अनेकानेक ससाना नियम र कानूनले जनतालाई बन्दि बनाएको थियो । 

यस्तो अँध्यारो अवस्थामा  चेतनाको ज्योति बनेर कवि सिद्धिचरण श्रैष्ठ उदाएका थिए । सिद्धिचरणको पारिवारिक पृष्ठभूमि भने चेतनाको ज्योतिले उज्यालिएको थियो । उनका बुबा बिष्णुचरण श्रेष्ठले त्यसबेला नै  उपन्यास सुमती लेखेर नेपालकै पहिलो उपन्यासकारमा आफ्नो नाम दर्ज गराएका थिए । बिष्णुचरण ८७ बर्षको उमेरमा पनि समकालिन र प्रौढहरूको समुहमा राणा बिरोधी कार्यक्रमहरू संचान गर्दथे । बालाजु स्थिति छापाखानामा राणा विरोधि पर्चा छपाएर ठाउँ ठाउँमा छर्थे । राणा विरोधी पर्चा बाँडेको दोषमा बृद्ध बिष्णुचरण पक्राउ परेका थिए । राणा बिरोधी गतिविधीको गरेको आरोपमा अठार बर्षको जेल सजाय भयो । आफ्ना  पिता बिष्णुचरण श्रेष्ठको देहवशान हुँदा सिद्धिचरणलाई बाबुको मुख हेर्न जान सम्म दिइएन ।  हिन्दूपरंपरा अनुशार बाबुलाई छोराले दागबत्ती दिने चलन छ । तर सिद्धिचरणलाई राणाहरूले जेलबाट बाहिर जान नै दिएनन् ।  अन्तिम संस्कारबाट बञ्चित गराए । सायद यो सन्सारकै एक क्रूर यथार्थ हो ।  

Screenshot

   सिद्धिचरणले शोकलाई शक्तीमा परिणत गरे । जनताको चेतना जगाउन र यूवाहरूमा  जोश र शाहस भर्ने थुप्रै  कविताहरू लेखे । नेपालकै निजिस्तरमा निस्किएको पहिलो पत्रिका आवाजको प्रधान सम्पादक बनेर प्रकाशनको थालनी गरे । त्यो भन्दा पहिला नेपालमा पत्रिकाहरू कलकत्तामा छापेर ल्याउने चलन थियो । खास गरेर हिन्दी र अंग्रेजी भाषामा मात्र पत्रिकाहरू फाट्टफुट्ट गोप्यरूपमा आउने गर्दथे । सिद्धिचरणले क्रान्ति बिना शान्ति हुँदैन भन्ने बिचारलाई स्थापित गराए । उनका कविताहरू जनतालाई उर्जा दिने शिक्षा दिने र चेतना दिने हुन्थे । तिम्राबासँग पैसा छैन , अक्षुतयुगको उर्दी, बा आउनु भएको छैन, काग , संकट ,हलचोक जस्ता कालजयी कविताहरू लेखे । जसले युवाहरूका रगत उमाल्ने र मातृभूमि प्रति समर्पित हुन प्रेरित गर्दछन् । त्यस समयमै जातिय भेदभाव विरूद्ध कविता लेखेका थिए ।  नेपाल प्रज्ञाप्रतिष्टानमा हाल सम्म पनि निस्किरहेको कविता पत्रिका र कविता वाचन कार्यक्रमको उनेले नै शुरूवात गरेका थिए। उलले हड्ताल, क्रान्ति जस्ता शब्दहरूको नेपाली शब्दकोषमा प्रयोगकको शुरवात गरे ।।

उनको एउटा कविताको अंश यस्तो छ 

रोई रोई बाच्न पुग्यो अब हाँसी हाँसी मर्न सिकूँ
रुखमा झुन्डिनलाई डोरी गरम ओठले चुम्न सकूँ ?
छोरा, छोरी, आमा, स्वास्नी रोएको बाधालाई
केही नगरी देश भक्तिको आगोमा होमिन म सकूँ ।

यस्ता देशभक्ती कविताले यूवाहरूका नशाको रगत उमालेको थियो । उनले प्रकृतिका रमणिय दृष्य हिमाल पहाड र उक्काली ओरालीकामात्र कविता लेखेनन् । समाज परिवर्तनका कविता लेखे ।  अन्याय र दमनका बिरूद्धमा साहित्य सिर्जना गरे । बालबालिकाहरूका भावनालाई समेटेर कविता लेखे । सामाजिक र नैतिक चेतनाको बालमस्तिष्कमा विजारोपन गरे । जसले गर्दा समाजको भविष्य एक नैतिकवान नागरिकको हातमा पुग्न जान्छ । देशप्रेमका कविताहरू लेखेर बालबालिकाहरूलाई जननी र जन्मभूमि प्रति सम्मान गर्ने भावना जन्माइ दिए । 

उनको चर्चिति बालकविता संग्रह हो तिरमिर तारा । यो संग्रहमा बिभिन्न शिर्षकका १९ वटा कविताहरू संग्रहित छन् । यो संग्रहको चौथो संस्करण २०६८सालमा रत्नपुस्तक भण्डारले गर्यो । पुस्तकको सम्पादन शास्वत पराजुलीले गर्नु भयो । पहिलो कविता तिरमिर ताराले संग्रहको नाम पाएको छ । कवितामा बालबालिकाहरूले पनि आकाशका ताराहरूको बारेमा बुझेका छन् । परंपरागत शैलिभन्दा माथि उठेर ताराको बारेमा जानकारी राख्दछन् । धरतीका सुन्दरफूल लिएर तारा भेटन जाने र मानिसका बारेमा बताउने कुरा गर्दछन् । दोश्रो कविता आमा हो । यसमा आमाको महिमा गाएको छ । कुनै शब्दले आमाको महानता बारे व्यक्त गर्न सकिँदैन । आमाको मुहारमा खुशी लहराउन सपूत बन्ने प्रण गर्दै  रूख र फूलको विम्वले सजाएर आमाको मिठो बर्णन गरिएको छ । तेश्रो कविता हो भाइ बहिनी । एउटा दाजुले भाइ बहिनीको ममता व्यक्त गरेको छ । बालसुलभ जिज्ञासा र उत्सुकतालाई प्रस्तुत गरिएको छ । बालमनोविज्ञानमा आधारित खेलको बर्णन छ । चौथो कविता हो आँखा । सन्सार देखाउने आँखा । धेरै पढ्यो भने मनको आँखा पनि खुल्छ । सबै प्रश्नहरूको उत्तर बनेर ज्ञानको आँखा उघ्रिन्छ । पाँचौ कविता तोरीबारी हो । सुन्दर प्रकृतिको बर्णन भएको यस कवितामा सुन, बर्को, खास्टो, च्यादर जस्ता विम्वलाई प्रयोग गरेको छ । पुतलीहरूको सुन्दर घरबारीमा बटुवाहरू समेत लट्ठ पार्ने सौन्दर्यको बर्णन गरिएको छ । छैटौँ कविता हो आमा म बालक बनूँ । यस कवितामा प्रकृतिको अनुपम बर्णन गरिएको छ । अझ बालक बनेर पुतलीसँग दौडन सकूँ । नर्कट चढेर युद्ध जितूँ । कागजको टुकुरामा वेद पढौँ । बादल, आकाश, असिना, हिमाल, पर्वत जस्ता प्राकृतिक रमणिय पलको विम्व प्रस्तुत गरिएको छ । बालपनमा कुनै भय र त्रास हुँदैन । उन्मुक्त पंछी झैँ उड्न सकिन्छ ।  सातौँ कविता हो स्वावलम्बन । स्वावलम्बी मानिस कोहो भन्दै प्रश्नोत्तरका रूपमा यसलाई बर्णन गरिएको छ । आफ्नै खुट्टामा उभिने मानिस जो विधा, बुद्धि, बल प्रयोग गरेर अरूलाई उपकारमा जुट्दछ । जो श्रम गरेर अरूको सहार बनेर जीवन यापन गर्दछ । त्यो नै विश्व विजेता बन्दछ भन्दै शाहस र उत्शाह भर्न काम गर्दछन् । नानी कवितामा रोए फूल, हाँसे मोती, प्रकृतिका बरदान श्वर्ग, जस्ता सुन्दर विम्व प्रयोग गरेर बर्णन गरेको छ । पुतली शिर्षकमा प्रकृतिको सुन्दर बर्णन गरिएको छ । इन्देणी, हावा,पहरा ,खोलानाला र बगैँचाका फूलहरूमा रम्दै गरेका पुतलीको बर्णन छ । रंङ्गीविरंङ्गी पुतलीले गुनगुन गर्दै आफ्ना भावनाहरू पोखेको परिकल्पना छ । 

किताब शिर्षकको कवितामा किताबलाई ज्ञानको खानी भन्दै बर्णन गरेको छ  । इतिहाँस देखि विज्ञानसम्मका ज्ञानहरू किताबले दिन्छन् । मानिसको जीवनलाई सफलबनाउने, सत्मार्गमा हिँडाउने, पथप्रदर्शक हो भन्दै मिठो लयमा पुस्तक बर्णन गरिएको छ । त्यस्तै अर्को कविता आह्वान हो । यो कविताले बालमस्तिष्कमा चेतनाको बिज रोपेको छ । हामी बढे युग बढ्छ । हामी रूके युग रूक्छ । जस्ता वाक्यहरूले जरूक्क उठन प्रेरित गर्दछ । त्यस्तै गरी जानेर बुझेर पुराना कुरीतिलाई फ्यालेर नयाँ युग बनाउन प्रेरित गर्ने । यस कविताले बालबालिकामा चेतनाको सूर्य उदाउँछ । बुद्धिमान काग कवितामा कागको बुद्धिमानीका बारेमा बर्णन गरेको छ । सुख्खायाममा पानी नपाएर हाहाकार भएका समयमा एउटा तीक्ष्ण बुद्धिले गर्दा पानी पाएको कुरा कवितामा बर्णन गरिएको छ । कविताले बालबालिकालाई जहाँ ईच्छा, त्यहा उपाय भन्ने दर्शनको ज्ञान दिएको छ ।

Screenshot

फटाहा गोठालो कवितामा झुटटा बोल्दा हुने परिणामको बारेमा राम्रो ज्ञान दिएको छ । नैतिकवान र अशल मानिस बन्न झूटा बोल्नु हुँदैन । अरूलाई दुख दिने प्रवृतिले गर्दा गोठालालाई संकट परेको दृष्टान्त कविताले दिएको छ । भँगेरा र कमिलाको कथा शिर्षकको कवितामा दुई जीवको आत्मियताका बारेमा बर्णन गरिएको छ । साथीलाई खुशी तुल्याउन आफैँलाई समर्पित गरेको दृष्ट्रान्त यस कविताले बर्णन गरेको छ । भँगेराले आफ्नो रगत भोजन गराएर कमिलालाई खुशी तुल्याएको छ । त्यो गुण तिर्नलाई कमिलाले रगत दिँदा आफैलाई गुमाउन पुग्छ । कहिलै पनि आफ्ना कार्यहरू गर्दा त्यसको परिणामलाई ख्याल गर्नु पर्दछ । सोचविचार गर्नु पर्दछ । नत्र भँगेरालाई खुशी तुल्याउन लाग्दा मृत्यू भएको कमिलाको अवस्था झे हुन्छ भनेर नैतिक शिक्षा प्रदान गर्दछ । 

पढिरहेछौ हामी शिर्षकको कवितामा नेपालआमाको सुखशान्तिका लागि बालबालिकाहरू पढ्दैछौँ । विश्वमा दुख हराएर शान्तिधारा ल्याउँछौ ।  आज साना कोपिला छौ । भोलि फक्रँछौँ र सुवास छर्छौ । बुद्दको सन्देशलाई आत्मसात गर्दै बालबालिकालाई ज्ञानी र गुणवान बन्न प्रेरित गरेको छ । पाठी शिर्षकको कवितामा बालबालिकाको जनवारसँगको प्रेम प्रस्तुत छ । प्रकृतिका सुन्दर सिर्जनाकाबारेमा चर्चा छ । बालबालिकाहरूका जीज्ञासाहरूलाई चुलबुले पाठासँग खेल्ने छुने र बोक्ने जस्ता कृयाकलापले धरतीका उपहारसँग समिप बनाएका छन् । अर्को कविता सयपत्रीमा शरदको वेलामा सयपत्रीले धरालाई नै सुन्दर र सुनौलो बनाएको छ । चिसो बढेर सयपत्रीलाई गाह्रो पो होलाकी भन्ने चिन्ता छ । हाम्रो जीवनसँग तुलना गरेर बालबालिकालाई प्रकृतिसँग जोड्ने सुन्दर प्रस्तुति यस कवितामा छ । यस कविता संग्रहको अन्तिम कविता हो छात्रगीत । 

हामी अगाडि बढ्दछौँ हामी अगाडि बढ्दछौ

फिँजाई शान्ति विश्वमा समृद्धि शत्ति भर्दछौँ ।

हामी बिधार्थीले नयाँ सन्सार बनाउँछौँ । यो सन्सारमा भएका भेदभावको अन्त्य गर्दछौँ । सबैलाई एकतामा बाँधेर आत्मियताको मालामा सजाउँछौ भन्ने सन्देश कविताले दिएको छ ।

यस्ता मिठा कवितामा नैतिकताका  सन्देशहरूलाई पत्तै नपाई बालबालिकाहरूलाई आत्मसात् गराउने कला युगकविका कवितामा छ । देशभक्ती मानवियता प्रकृतिप्रेम अन्याय प्रतिको तिखो प्रहार छ । कवितामा उज्यालो भविष्य र शान्तिको कामना छ । बालबालिकालाई सहि र गलत पर्गेल्न सक्ने क्षमता बृद्धिका लागि ज्ञानको क्याप्सुल बनाएर कवितामा राखेकाछन् । बालबालिकालाई अशल नागरिक बन्न नैतिक शिक्षा प्रदान गरेको छन् । मे २१मा पर्ने  युगकविको जन्म दिनमा हार्दिक नमन र श्रद्धा व्यक्त गर्दछु ।

प्रतिक्रिया