
नाम : लक्ष्मीकान्त पौडेल
जन्म : विसं १९२७
जन्म स्थान: सैपु डाँडाघर
बुबा : जयमंगल पौडेल
आमा : जानुका काफ्ले (सालु)
श्रीमती : कृष्ण पिंगला पौडेल (विसं १९३०–१९६४) — अल्पायुमै निधन
लक्ष्मीकान्त पौडेल वरपरका गाउँमा असाधारण बलशाली, हक्की र जुझारु व्यक्तिका रूपमा प्रसिद्ध हुनुहुन्थ्यो। अग्लो र मोटो शरीर, ठूलो निधार, टाउकोमा फेटा, घाँटीमा सानो रुद्राक्षको माला र निधारमा खरानीको तेर्सो टिका उहाँको पहिचान थियो। अनुहार पनाति टेकराजसँग केही मिल्दोजुल्दो भनिन्थ्यो।
उहाँको भोजन क्षमता पनि अद्भुत थियो। सखरखण्ड, तरुल र पिँडालु प्रिय भोजन थिए। छ माना च्याँख्ला बाह्रमाने ठेकीको दहीसँग काँचै खान सक्ने सामर्थ्य थियो। तीन बिसौली नौनी घिउ कमारी बाजी राखेर खाने सर्त भयो। गाउँलेहरू भेला भएर निगरानी गर्थे, पचाउन दही चाट्दै खाएपछि पच्यो पनि । मृत्यु हुनुभन्दा केही महिना अघिसम्म पनि पन्ध्र मुठी भात खान सक्नुहुन्थ्यो।
बलका चर्चित प्रसंगहरू:-
डाँडाघरमा घर बनाउँदा भस्मे खोलाबाट पिठ्यूँमा बोकेर ल्याइएका विशाल छपुवा ढुङ्गा आज पनि उहाँको शक्तिको प्रमाण मानिन्छन्। एकपटक छिमेकमा दुईवटा भैंसी एउटै गहिरो खाल्टोमा खसे। निकाल्ने उपाय गरियो गाउँलेहरूले तलबाट भत्काएर निकाल्ने प्रयास गरे तर कठोर पत्थर काट्न सकेनन्। लक्ष्मीकान्त साहस बटुलेर खाल्टोभित्र रहेको भैंसीको टाँगामुनि छिर्नुभयो। एक जोड लगाउँदा भैंसीले पनि बाहिर निस्कन बल गर्यो र सफलतापूर्वक निस्कियो। यही उपायले अर्को भैंसी पनि निकालियो। त्यसपछि उहाँको ख्याति झन् टाढासम्म फैलियो।
त्यसपछि उहाँ भैंसी किन्ने सन्दर्भमा दुरागाउँ पुग्नुभयो। त्यहाँका ठालु भक्तिबेलासका बाबुले ठूलो भैंसी देखाउँदै त्यसको प्रशंसा गरे। लक्ष्मीकान्तले हाँस्दै, “यो त पाडा रहेछ, म त भैंसी खोज्दै आएको,” भन्नुभएछ। ठालुले पनि शक्ति जाँच्न चाहेछन् र भनेछन्—
“यदि यो पाडा उचाल्नुभयो भने सित्तैमा दिन्छु।”
गाउँभरिका गुरुङ, थापा, भण्डारी लगायत तमासा हेर्न जम्मा भए। लक्ष्मीकान्तले कुल, पितृ,देवता सम्झेर कछाड कसेर भैंसीको टाँगामुनि छिर्नुभयो। भैंसी उफ्रिन खोज्दा उहाँ जुरुक्क उठ्नुभयो। केही क्षण चारै खुट्टा नियन्त्रणमा राख्दै उभिरहनुभयो। उपस्थित सबैले बाजी जितेको ठहर गरे। ठालुले पुरस्कारस्वरूप अर्को भैंसीसमेत थपी दिए र आफैं बसेरीसम्म पुर्याउन साथ लागेर आए।
अर्को प्रसंगमा दशैंका लागि खसी खोज्न दुरागाउँ पुगेका बेला गुरुङहरूले भनेछन्—
“बाजे, तपाईंले भैंसी उचाल्नुभयो रे, अब यी दुईवटा भेडा एकैचोटि बोकेर घर घुमाउनुभयो भने सित्तैमा दिन्छौँ।”
उहाँले पटुकाले दुवै भेडालाई जोल्ठ्याएर काँधमा बोकी घर घुमाउनुभयो। ती भेडा काट्दा अठार–अठार धार्नीका भएका थिए। त्यस समय ढाँडेखेतमा ठूला-ठूला ढुंगाको ढाँडैढाँड थियो । उहाँले विशाल ढुङ्गा तह लगाएर खेत बनाएको हो। यो अहिले लालप्रसादको घर भएको ठाउँ र त्यसै अगाडिको मूलखन्ड खेत हो। तर नियतिले पनि एक दिन उहाँलाई पराजित गर्यो। घरको निदाल बोकेर ल्याउँदा अगाडितिर उहाँ एक्लै र पछाडि चार जना थिए। पछाडिका चारैले थेग्न नसकेर छोडेपछि निदालसहित काँडाघारीमा लड्नुभयो। त्यस घटनाबाट काँध झर्यो र उहाँ गम्भीर घाइते हुनुभयो। त्यसपछि कहिल्यै बाजी जित्न पाउनु भएन। नियतिले जीवनमा शोक,सन्ताप र दुःखका एकपछि अर्को श्रृंखला थप्दै गयो।
जेठा छोरा कृष्णप्रसाद (तल्लाघर) — एक मात्र छोरा भूपहरि जन्मिएपछि विसं २००२ मा निधन।
माइला छोरा जगन्नाथ (माथ्लाघर) — टेकप्रसाद, हरिकृष्ण, देवीप्रसाद र तीन छोरी जन्मिएपछि विसं २००० मा निधन।
साहिँला छोरा शक्ति बल्लभ (ठूलाघर) — पशुपति, मोहन र चार छोरी जन्मिएपछि विसं २०१५ मा निधन।
१५वर्षको उमेरमा दुई बिबाह गरेको नाति पशुपति विसं २०१५ सालमा नै लिखुमा बगेर बेपत्ता।
जेठा छोराकी बुहारी (भूपहरिकी आमा) को विसं २०१४ मा निधन।
साइँली छोरी हरिमायाका श्रीमान र दुई छोरा बितेपछि उनलाई बसेरी–दुरागाउँमा ल्याएर राख्नुभयो।
जेठी छोरी तुलसा गौतम (राताघर) को अल्पायुमै निधन।
माइली छोरी दमयन्ता बख्रेलका श्रीमान बितेपछि भस्मेबारीमा घर बनाएर राख्नुभयो।
कान्छी छोरी चन्द्रमायालाई(रगनीमा बिबाह गरी दिएको मा) घरबाट भकारी लिएर माइत आँउदा लिखु नदीले बगायो। यिनकी छोरी चन्द्रबदनालाई भाँगे दिए पनि सानैमा निधन भयो। यी सबै पीडाले थिचिँदा उहाँ भन्नुहुन्थ्यो—
“जीवन असार रहेछ।”
लक्ष्मीकान्त पौडेल जडीबुटी, झारफुक र घरेलु उपचारमार्फत बिरामीहरूको सेवा गर्नुहुन्थ्यो। उहाँ हक्की, स्पष्टवक्ता र साहसी स्वभावका हुनुहुन्थ्यो। फलामजस्तो शरीरमा पनि समयसँगै खिया लाग्यो। अन्ततः विसं २०१७ साल असार १७ गते बिहीबार, आषाढ शुक्ल षष्ठी तिथिका दिन नब्बे वर्षको उमेरमा उहाँले भौतिक शरीर त्याग गर्नुभयो।
यस वर्ष उहाँको पुण्यतिथि श्रावण ३ गते आइतबार परेको छ। त्यस दिव्य आत्माप्रति हार्दिक श्रद्धासुमन अर्पण ।
मेरी आमा भन्नुहुन्छ—
“त्यो बेला हाम्रो अवस्था निकै नाजुक थियो। सानो झुप्रो घर, खरको छानो, पकाउने–खाने, ओढ्ने–ओछ्याउने सबै अभाव। बुढाबाजे आइपुग्दा म आत्तिन्थेँ। उहाँले मेरो मनको पीडा बुझ्नुहुन्थ्यो होला, र त अर्ति दिनुहुन्थ्यो—
‘दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु। दिन फेरिन्छ, धैर्य गर्नुपर्छ। यो फुच्चो (भूपहरि) लाई राम्रोसँग खान दे, हुर्काइदे,यो बाँचोस् ,मलाई केही पर्दैन,तँलाई म माथिबाट हेर्छु।’
आज उहाँ हुनुहुन्थ्यो भने म पेटभरि खान दिन्थेँ, बस्न एउटा कोठा पनि त दिन्थेँ…”
यति भन्दै आमा भक्कानिनुभयो। त्यसपछि उहाँले बोल्न सक्नुभएन, अनि मैले पनि फेरि केही सोधिनँ।
प्रतिक्रिया