समीक्षा

“युद्ध, हिंसा र आपत्कालमा पनि न्यूनतम मानवताले स्थान पाउनुपर्छ” भन्ने मान्यता राख्ने स्विट्जरल्यान्डको जेनेभामा जन्मेका जाँ हेनरी ड्युना (८ मई १८२८ – ३० अक्टोबर १९१०) ले सन् १८६२ मा प्रकाशन गरेको ‘सल्फेरिनोको सम्झना’ नामक पुस्तक नै रेडक्रस स्थापनाको आधार हो । यस पुस्तकमा अभिव्यक्त विचारसँग सहमत हुँदै सन् १८६३ फरबरी ९ मा ड्युनासहित पाँच जनाको एउटा समिति बन्यो जसलाई केही दिनपछि ‘घाइतेहरूको सहयोगका निम्ति अन्तर्राष्ट्रिय समिति’ नामकरण गरियो जुन कालान्तरमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति बन्यो । १६ राज्यका प्रतिनिधिहरूले सन् १८६३ को अक्टोबर २६ देखि २८ सम्म जेनेभाको एथेनी दरबारमा एउटा सम्मेलन भयो जसलाई विश्व प्रसिद्ध ‘जेनेभा सम्मेलन’ भनिन्छ । जसमा केही प्रस्तावहरू पारित गरिएको थियो । यसै प्रस्तावअनुसार सन् १८६३ अक्टोबर २९ का दिन रेडक्रसको जन्म भएको मानिन्छ । जेनेभा सम्मेलनलाई सन् १८६४ अगस्त ६ देखि २२ सम्म आयोजना गरिएको अन्तर्राष्ट्रिय कूटनीतिक सम्मेलनले पनि मान्यता दिएपछि रेडक्रसको गतिविधि विश्वव्यापी रूपमा बढ्ने अवसर खुलेको थियो । सन् १८६४ मै रेडक्रस सोसाइटी बेल्जियम, फ्रान्स, इटली र स्पेनमा स्थापना भएको थियो । नेपालमा भने रेडक्रसको स्थापना सन् १९६३ सेप्टेम्बर ४ (वि.स. २०२० भदौ १९) मा भएको हो । अहिले विश्वका अधिकांश देशमा रेडक्रस युद्ध तथा मानवीय र प्राकृतिक विपद्मा निस्वार्थ रूपमा मानवसेवामा खटिइरहेको छ ।
रेडक्रसकर्मीद्वय सपूतबहादुर कार्की (२०२३) र पुष्पराज पौडेल (२०११)द्वारा संयुक्त रूपमा अनुसन्धान गरिएको ‘विश्व रेडक्रस अभियानमा नेपाल रेडक्रस’ पुस्तक (२०८२) मा रेडक्रसको नालीबेली प्रस्तुत गरिएको छ । अनेकौँ सामाजिक संघसंस्थामा आबद्ध कार्की (रौतहट) र पौडेल (तनहुँ) साहित्यिक प्रतिभा भएका अनुसन्धानकर्मी हुन् । दुवै जनाको प्रथम संयुक्त अनुसन्धानात्मक कृति ‘विश्व रेडक्रस अभियानमा नेपाल रेडक्रस’ रेडक्रसलाई चिनाउनको लागि पर्याप्त छ । यसमा समावेश गरिएका तथ्य, तथ्याङ्क तथा विवरणहरू रेडक्रसका आधिकारिक दस्तावेज हुन् । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालयको शुभकामनासँगै यसको प्रकाशन रेडक्रसको काठमाडौँ शाखाले गरेको छ । कृतिमा प्रस्तुत गरिएका सामग्रीहरूको सङ्कलनदेखि सम्पादनसम्ममा आधिकारिक र संस्थागत प्रत्यक्ष संलग्नता रेडक्रसकर्मीहरूकै रहेको लेखकीयमा स्वीकार गरिएकाले यसलाई रेडक्रसको आधिकारिक कृति मान्न सकिन्छ ।
रेडक्रससम्बन्धी सैद्धान्तिक आधार, अन्तर्राष्ट्रिय रेडक्रसको सङ्गठन, भूमिका तथा कार्य र नेपाल रेडक्रसको स्थापना र कार्यक्रमसमेतलाई यस कृतिमा विभिन्न सात खण्डमा विभाजन गरी अध्ययन गरिएको छ । कृतिको पहिलो खण्ड (क) ‘अन्तर्राष्ट्रिय रेडक्रस अभियान’मा अन्तर्राष्ट्रिय रेडक्रस अभियानः सामान्य जानकारी, रेडक्रसको अभ्युदय, रेडक्रसका प्रवर्तक जँ हेनरी ड्युना र अन्य संस्थापकहरु, अन्तर्राष्ट्रिय रेडक्रस अभियानका अङ्गहरु, अन्तर्राष्ट्रिय रेडक्रस अभियानका महत्त्वपूर्ण वैधानिक निकायहरु, अन्तर्राष्ट्रिय मानवीय कानुन (जेनेभा महासन्धिहरु) र राज्यका दायित्वहरु, रेडक्रस तथा रेडक्रिसेन्ट अभियानका आधारभूत सिद्धान्तहरु, रेडक्रस प्रतीक (चिह्न) तथा सारांशमा रेडक्रस अभियान र यसको विकासलाई समावेश गरिएका छन् । यस खण्डमा रेडक्रसको इतिहास तथा सिद्धान्त बुझ्न सकिन्छ ।
खण्ड (ख) ‘नेपाल रेडक्रस, यसको सङ्गठन, विकास र तहगत भूमिका’मा नेपाल रेडक्रस स्थापनाको पृष्ठभूमि, स्थापना, विकास, चरणबद्ध सङ्गठनात्मक विकास, सङ्गठन र तहगत जिम्मेवारी, उपशाखासम्बन्धी व्यवस्था र सारांशमा ऐतिहासिक विकासक्रमलाई समावेश गरिएका छन् । यस खण्डले नेपाल रेडक्रसलाई सैद्धान्तिक तथा सङ्गठनात्मक रूपमा बुझाएको छ ।
सैद्धान्तिक तथा सङ्गठनात्मक जानकारीको दृष्टिकोणले खण्ड (ग) निकै महत्त्वपूर्ण छ । ‘जुनियर तथा युवा रेडक्रस’ उपशीर्षकमा पृष्ठभूमि, उद्देश्यहरू, लक्ष्य, क्षेत्रहरू, नीतिहरू, रणनीतिहरू, सदस्यता प्राप्ति र जुनियर तथा युवा रेडक्रस सर्कल गठन तथा समितिको व्यवस्था आदिबारे स्पष्ट जानकारी दिइएको छ । सबै उमेर समूहका मानिसका लागि रेडक्रसले सेवा गर्ने तथा मानवीय सेवामा सहभागिता जनाउने अवसर दिने गरेको यस खण्डले स्पष्ट पारेको छ ।
रेडक्रसको आन्तरिक संरचना तथा कार्यको व्यवस्थापनबारे खण्ड (घ) ‘विकास योजना, व्यवस्थापन र स्रोत परिचालन’मा विस्तृत चर्चा गरिएको छ । यस खण्डको ‘विकास योजनाहरू’ उपखण्डअन्तर्गत नेरेसोका विकास योजनाहरू, योजनाको बजेट, मुख्य प्राथमिकता र उपलब्धि तथा योजनाले पारेको प्रभावको बारेमा तथ्यगत विश्लेषण गरिएको छ । यसै गरी ‘जनशक्ति व्यवस्थापन’अन्तर्गत व्यवस्थापन समिति र प्रशासनिक अवस्था, व्यवस्थापन समितिको गठन, काम, कर्तव्य र अधिकार, प्रशासनिक संरचना, जनशक्ति विकास प्रतिष्ठान र प्रशिक्षण, सदस्य तथा स्वयंसेवक परिचालनबारे विस्तृत जानकारी दिइएको छ । यसै गरी पदपूर्ति समिति र कर्मचारी व्यवस्थापन, पुरस्कार व्यवस्थापन तथा पुरस्कारहरूबारे सङ्क्षेपमा निकै महत्त्वपूर्ण जानकारीहरू राखिएका छन् । आर्थिक र भौतिक स्रोत व्यवस्थापन उपशीर्षकमा पनि चाखलाग्दो तरिकाले रेडक्रसमा स्रोत परिचालनबारे विशिष्ट जानकारीहरू रहेका छन् । रेडक्रसलाई आन्तरिक रूपमा बुझ्न यो खण्ड आफैँमा महत्त्वपूर्ण छ ।
नेपाल रेडक्रसका कार्यहरुलाई बुझाउने सबैभन्दा महत्त्वपूर्ण खण्ड हो – (ङ) । नेरेसोले सङ्गठन तथा क्षमता अभिवृद्धि सम्बन्धी अनेकौँ कार्य गरिरहेको हुन्छ । विपद् तथा सङ्कट व्यवस्थापन, राष्ट्रिय स्वास्थ्य तथा सामुदायिक सशक्तीकरण, शरणार्थी सहयोग, भूकम्पपीडित उद्धार, राहत, व्यवस्थापन, पुनर्लाभजस्ता कार्यक्रम सञ्चालन गर्दछ । देशभर आपत्कालीन अवस्थाको लागि रहेको गोदामको व्यवस्थापन तथा सञ्चालनको कार्य पनि नेरेसोले गर्दै आएको छ । प्राथमिक उपचार, एम्बुलेन्स सेवा तथा रक्तसञ्चार सेवा त जनसाधारणसम्म नेरेसोको पहिचान नै बनिसकेको छ । स्वस्थ खानेपानी तथा विभिन्न रोग र महामारी अनि प्राकृतिक विपद्को पूर्व र पश्चात सचेतना तथा सेवाजस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गरिरहेको छ । नेरेसोले सम्पूर्ण मानवीय मूल्यहरूलाई आत्मसात गर्दै समाजमा स्थापित गर्ने कार्यमा सदैव लागेको साक्ष्यको रूपमा यो खण्ड देखिन्छ ।
नेरेसो अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका सङ्घसंस्थाहरुसित सम्बन्ध स्थापित गरी कार्यक्रमहरुलाई अगाडि बढाउने काम गरिरहेको छ । खण्ड (च) मा अन्तर्राष्ट्रिय सम्बन्धमा नेपाल रेडक्रसको नीति, नेपालमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति र महासङ्घको भूमिकाको बारेमा सैद्धान्तिक जानकारी दिइएको छ । साथै, अन्तर्राष्ट्रिय क्षेत्रमा नेरेसो र सम्बन्धित व्यक्तिहरुबाट भएको योगदानको पनि चर्चा छ । यसै गरी अन्तर्राष्ट्रिय विशिष्ट पाहुनाहरुबाट भएका महत्त्वपूर्ण भ्रमणहरूको बारेमा पनि उल्लेख गरिएको छ । नेरेसोले नेपालभित्र नेपाल सरकार, विभिन्न मन्त्रालय तथा विभाग र निकायहरूका साथै अन्य सङ्घसंस्थाहरूसित मिलेर नीति, कार्यक्रम तथा सहयोग र चेतना विस्तारलाई लागु गरिरहेको सोदाहरण प्रस्तुत गरिएको छ ।
अनुसूचीहरू खण्ड (छ) पनि उत्तिकै महत्त्वपूर्ण छ । यसमा निर्वाचित केन्द्रीय कार्यसमितिको नामावली, महत्त्वपूर्ण दस्तावेजहरू, जिल्ला शाखाहरूको स्थापना विवरण, नेरेसोका नीति, नियमावली तथा निर्देशिकाहरू, नेरेसो सदस्यता र आचारसंहिता तथा नेरेसोको केन्द्रीय सभाको आयोजना, मिति, स्थान र पारित प्रमुख प्रस्ताव (निर्णयहरू)बारे यथार्थ उल्लेख गरिएको छ । कृतिभित्र रेडक्रससित सम्बन्धित दुर्लभ फोटाहरू पनि राखिएका छन् ।
सामाजिक तथा मानवीय सेवामा रुचि हुने तथा रेडक्रसको बारेमा जान्न चाहने हरेकका लागि यो कृति आफैँमा महत्त्वपूर्ण छ । नेपाल रेडक्रस सोसाइटीको लागि यो ऐतिहासिक दस्तावेज पनि हो । सामाजिक सेवाका लागि नीति निर्माताहरूदेखि विद्यालयस्तरका विद्यार्थी, सबै किसिमका बुद्धिजीवी तथा सर्वसाधारणसमेतका लागि उपयोगी यो पुस्तक हरेकको लागि अध्ययनयोग्य छ । अति परिश्रमपूर्वक अनुसन्धान गरिएको ‘विश्व रेडक्रस अभियानमा नेपाल रेडक्रस’ इतिहासको धरातलमा वर्तमान बुझाउँदै भविष्य अनुमान गर्ने गहन पुस्तक हो, भन्न सकिन्छ ।

पत्रकार/लेखक
प्रतिक्रिया