
१. विभाजनको जगमा उभिएको अस्थिरता
आजको आधुनिक राजनीति धेरै हदसम्म ‘विभाजन’ को दर्शनमा टिकेको छ। लिङ्ग, जात, बर्ग, धर्म, र रङ्गका कृत्रिम पर्खालहरू खडा गरेर मानिसहरूलाई एउटा कित्तामा उभ्याइन्छ। ती पर्खालभित्र जन्मिएका नेताहरूले ति नागरिकलाई आफ्नो सत्ता-यात्राको सिँढी मात्र बनाउँछन्। यसले समाजको जग कमजोर बनाउनुको साथै मानिसलाई वास्तविक समस्याबाट विमुख गराउँछ।
विशेषगरी गरिब राष्ट्रहरूमा राजनीति अत्यधिक सक्रिय र उग्र हुनुको पछाडि आर्थिक अभाव र राज्यप्रतिको गहिरो निराशा जिम्मेवार छ। बेरोजगारी, भोको पेट, र खाली गोजीले मानिसलाई उत्तेजित बनाउन सजिलो हुन्छ। नेपाल, बंगलादेश, पाकिस्तान, र सुडान जस्ता मुलुकहरूमा देखिने राजनीतिक अस्थिरता यही गरिबी र निराशाको चक्रको उपज हो।
२. सामाजिक संरचना र विचारको प्रतिस्पर्धा
हाम्रो समाज भावनात्मक र पारिवारिक रूपमा एकाकार छ—जहाँ पुस्ताौँदेखि मानिसहरू एउटै थलोमा मिलेर बस्छन्। तर, जब राजनीतिले व्यक्तिगत सम्बन्धमा दरार ल्याउँछ, तब समाजको मौलिक स्वरूप नै बिग्रिन्छ।
राजनीति वास्तवमा विचारको महासंग्राम हो, व्यक्तिको युद्ध होइन। कसैले ‘घण्टी’ रोज्ला, कसैले ‘सूर्य’ वा ‘रूख’—यी प्रतीकहरू केवल फरक दृष्टिकोणका प्रतिनिधि हुन्। फरक दलमा हुनु भनेको प्रतिस्पर्धी हुनु हो, शत्रु हुनु होइन। विचारमा भिन्नता हुनु लोकतन्त्रको सुन्दरता हो, तर त्यसलाई व्यक्तिगत गालीगलौज र वैमनस्यमा बदल्नु राजनीतिक चेतनाको खडेरी हो।
३. चेतनाका तीन आयाम: मार्क्स, स्मिथ र ओशो
राजनीतिलाई बुझ्न यी तीन चिन्तकका दृष्टिकोणहरू मननयोग्य छन्:
कार्ल मार्क्स (आर्थिक शक्ति): मार्क्सका अनुसार राजनीति मूलतः अर्थतन्त्रको छाया हो। “जसको हातमा उत्पादनका साधन हुन्छन्, राज्य-सत्ता पनि उसैको हुन्छ।” आर्थिक असमानता रहेसम्म वर्ग-संघर्ष जारी रहन्छ। सरल भाषामा भन्दा—आर्थिक रूपमा सबल नभई राजनीतिक स्वतन्त्रता सम्भव छैन।
एडम स्मिथ (नैतिकता र व्यवस्था): स्मिथले राजनीतिलाई अर्थतन्त्र र नैतिकतासँग जोडेका छन्। उनका अनुसार नैतिकता बिनाको राजनीति टिक्न सक्दैन। बिपी कोइराला, गणेशमान सिंह, वा मनमोहन अधिकारी जस्ता नेताहरूमा जुन नैतिक उचाइ थियो, त्यसको अभावले नै आजको राजनीति संकटग्रस्त बनेको हो।
ओशो (आन्तरिक क्रान्ति): ओशो भन्छन्, “वास्तविक क्रान्ति भित्र हुन्छ।” राजनीति बाहिर होइन, मानिसको अहंकार र मनोविज्ञानबाट जन्मिन्छ। जबसम्म मानिसले आफ्नै मन र भावनालाई शासन गर्न सिक्दैन, उसले समाजलाई सही नेतृत्व दिन सक्दैन। आफूलाई बदल्न नसक्नेले संसार बदल्ने कुरा केवल भ्रम मात्र हो।
४. साझा शत्रु र नवीन संस्कृतिको खोजी
हाम्रा वास्तविक शत्रुहरू कुनै व्यक्ति वा दल होइनन्। हाम्रा साझा सत्रुहरू त गरिबी, अशिक्षा, भ्रष्टाचार, र सेटिङतन्त्र हुन्। यी साझा चुनौतीसँग लड्न नागरिकहरू गोलबद्ध हुनुपर्नेमा उल्टै राजनीतिक स्वार्थका लागि विभाजित गरिनु दुखद छ।
राजनीति ‘धमिलो पानीमा माछा मार्ने’ दाउपेच हुनुहुँदैन। यो त राज्यको स्रोत र साधनलाई न्यायोचित ढङ्गले परिचालन गर्ने पारदर्शी व्यवस्थापन हो। राजनीति नागरिकमाथि शासन गर्ने ‘लाइसेन्स’ होइन, बरु उनीहरूको सेवा गर्ने ‘जिम्मेवारी’ हो।
निष्कर्ष:
शक्तिले राज्य टिकाउँछ, तर अनियन्त्रित शक्तिले राज्यलाई भत्काउँछ। राजनीति शक्तिको होडबाजी मात्र होइन, बरु त्यो शक्तिको उचित र विवेकपूर्ण प्रयोगको परीक्षा पनि हो। जब नेतामा नैतिकता र नागरिकमा चेतनाको स्तर वृद्धि हुन्छ, तब मात्र राजनीतिले समाजको वास्तविक रूपान्तरण गर्न सक्छ।
शंकर पौड्याल
प्रतिक्रिया