
(क्यालिफोर्निया संवाददाता)
सान फ्रान्सिस्कोमा “नेपाल डे परेड” मे १०, २०२६ मा भव्य तथा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। नेपाली कला, संस्कृति, भेषभूषा, भाषा, परम्परा तथा नेपालको मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
(एनआरएनए क्यालिफोर्निया) तथा विभिन्न नेपाली सामाजिक संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अमेरिकाका विभिन्न शहरहरूमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। लास एञ्जलस, सान डिएगो, साक्रेमेण्टो, बेकर्स्फ़िल्ड, लंग बीच लगायत आसपासका राज्य तथा शहरहरूबाट नेपालीहरू सान फ्रान्सिस्को पुगेर कार्यक्रममा सहभागी भएका थिए। सान फ्रान्सिस्को सिटि हलबाट सुरु भएको नेपाल डे परेड करिब १.६ माइल दूरी पार गर्दै Embarcadero Plaza सम्म पुगेको थियो। परेडका क्रममा शहरको मुख्य क्षेत्र मार्केट स्ट्रिटमा सवारी आवागमन बन्द गरी पैदलयात्रीका लागि खुला गरिएको थियो।

विभिन्न जातीय तथा क्षेत्रीय संघ–संस्थाहरूले प्रस्तुत गरेका झाँकी, नेपाली मौलिक पोशाक, सांस्कृतिक प्रस्तुति तथा राष्ट्रिय झण्डाहरूले San Francisco का सडकहरूलाई “नेपालमय” बनाएका थिए। कार्यक्रममा प्रदर्शित नेपाली कला, संस्कृति र परम्पराप्रति स्थानीय अमेरिकी समुदायले समेत विशेष चासो र उत्साह देखाएको आयोजकहरूले बताएका छन्।

परेड फेरी बिल्डिंग अगाडि पुगेर विशाल सभामा परिणत भएको थियो। सभाको सभापतित्व आयोजक संस्थाका अधक्ष कुल प्रसाद ढकाल (केपी) ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा एन आर एन एन सी सी यु एस का अधक्ष सत्यन्द्र शाह सहभागी हुनुभएको थियो।
कार्यक्रममा नेपाल सरकारका तर्फबाट कन्सल जनरल लक्षमण खनाल , हर्कुलिस शहर का काउन्सिलर डिल्ली भट्टराई, नेपाली कम्युनिटी सेन्टरका वरिष्ठ उपाध्यक्ष यज्ञ नेपाल, एन आर एन एन सी सी यु एस का सल्लाहकार मणि नेपाली पनेरु, सुजित सिंह लगायत विभिन्न देशका कन्सुल जनरल, मेयर तथा सामुदायिक अगुवाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचीव कैलास कार्की र का अधक्ष प्रीतेश कार्की ले गर्नुभएको थियो। साथै अमेरिकी स्थानीय जनप्रतिनिधिहरूले पनि कार्यक्रममा सहभागी भई नेपाली समुदायलाई प्रोत्साहन प्रदान गरेका थिए।

नेपाल डे परेडका प्रमुख आकर्षणहरूमा पञ्चकन्या, पञ्चेबाजा, शंखध्वनि, कुमारी, धिमे बाजा तथा लाखे नृत्य रहेका थिए। नेपाली भाषा, कला, संगीत र सांस्कृतिक विविधताको झल्को दिने विभिन्न झाँकीहरूले सहभागीहरूलाई विशेष रूपमा आकर्षित गरेका थिए।

सान फ्रान्सिस्को स्थित विभिन्न देशका कन्सुलेट कार्यालयका कूटनीतिक अधिकारीहरू, बे एरियाका मेयरहरू तथा सिटी काउन्सिल सदस्यहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। नेपालको पहिचान, एकता, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित “नेपाल डे परेड” ले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायबीच आपसी एकता, गौरव र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया