कर्तव्य, बाध्यता कि रहर? एक अनुभूति

इनेप्लिज २०८३ वैशाख २८ गते २१:५८ मा प्रकाशित

गंगा पौडेल
सैपु डाँडाघर रामेछाप

२०५2 साल जेठ महिनाको कुरो हो । नयाँघर काकी (मेघनाथ पौडेलको श्रीमती) पारी घुम्तीखर्क भिरबाट लड्नु भएछ । गर्भिणी हुनुहुन्थ्यो । छिमेकीको सहयोगले भीरदेखि बोकेर घरमा ल्याइसक्नु भएको रहेछ । त्यो दिन म घरमा थिइन । बेलुका घरमा आएँ, यथार्थ घटनाको बारेमा थाहा भयो ।


भोलिपल्ट बिहानै, बिचारसिंङ तामाङ दाइलाई बोक्ने मान्छे खोजेर काकीलाई लिएर रुँदै काका काठमाण्डु हिँड्नु भयो ।

पर चण्डीडाँडासम्म नियालें सहयोगी मनकाधनी साथमा अरु कोही थिएनन् । मात्र काका, डोकोमा काकी र बोक्ने मान्छे ।

जेठमा रोपाइँ गर्ने बेला छिमेकी सबै आफ्नै काममा ब्यस्त भन्ने कुरो बुझियो । छिमेकमा परेको दुख, कष्ट हेरेर बस्नुहुन्न भन्ने सोचको कारण घरमा सल्लाह गरें, खाना खाएँ त्यसपछि खल्ती रित्तै भए पनि एउटा ओड्ने प्लास्टिक बोकेर लागेँ टार, लामिडाँडा, माझकटेरी, कान्ले, अम्फे, नामाडी, चोरसाँघु, सहरे हुँदै मालु अमले दिदीको घरमा पुगेर बास बसेँ ।

यता काका मेघनाथलाई गङ्गा सहयोग गर्न पछिलागेको छ भन्ने कुरो थाहा नै थिएन । काका चाहिँ दिलौरी, धोबी, केउरिनी, खिम्ती, भोर्लेको पहरो, सित्तली मालुखोलातिरको बाटो लाग्नु भयो ।

त्यो समयमा मालुखोलासम्म गग्र्याङ्गु ग्रुङ अर्थिन रोड मात्र थियो । मेरो सोच चरिकोट पुगेर ज्ञान प्र पौडेललाई (सैपु चापाबोटे, हाल हेटौंडा) भनेर गाडी मालुखोलासम्म ल्याएर केही हदसम्म बिरामीलाई छिट्टै काठमाण्डौ पुर्‍याउन सकिन्छ कि भन्ने थियो । दाइ ज्ञान प्र पौडेल चरिकोट सडक विभागमा काम गर्नु हुन्थ्यो ।

मालु दिदीकोमा सुतेर बिहानै ५ बजे नै उठेंर लागेँ जफे, भिर्कोट कटेर नयाँपुल पुगें । नयाँपुलबाट चरिकोट जानुपर्ने नभन्दै जिरीको काठमाण्डौ जाने बस आइपुग्यो त्यसैमा चढें । कन्टेक्टरलाई यथार्थ बताएँ, चरिकोटसम्मको भाडै लिएन, छँदापनि थिएन ।

चरिकोटमा पुगेर ज्ञान दाइलाई भेटें, काकी भीरबाट लडेको, काका काकी लिएर आउँदै गरेको कुरो बताएँ । दाइले गालामा फोको भएको ड्राइभर र गाडी (अगाडि तीन जनाजती बस्न मिल्ने पछाडि चाहिँ ट्रक जस्तो “पिकअप” सानो गाडी) लानु भन्नुभयो, सोही गाडी लिएर ड्राइभर र म लाग्यौं मालुखोलातिर । मालुखोला पुगियो तर बिरामी लिएर आइपुग्नु भएको रहेनछ काका त ।

गाडी त्यहीँ मालुखोलामा राखेर हिँड्यौं दुई भाइनै बिरामी खोज्दै सित्तलीतिर नभन्दै खाना खान लाग्नु भएको रहेछ । मलाई देखेर काका छक्क पर्नुभयो । केही भन्नु भएन । काकाको मुखै हेर्दा सबै बताएको थियो । आँखाले त सबै बताएको थियो नै । काकीलाई भात ख्वाइदे भन्नुभयो । म खाना खुवाउन लागें । काकाहरुले हिजो बेलुका पनि खाना खानु भएको रहेनछ ।

काका खाना खान लाग्नु भयो । त्यही समयमा एक जना अपरिचित महिलाले होटेलभित्रै काकालाई भनीन् “श्रीमती भीरबाट लडेर यस्तो हुनुभएको रहेछ यो बाजेलाई न पीर न चिन्ता मेरिबास्सै ! कत्रा गाँस हालेर भात खाएको ?”

काका खाना खाँदा खाँदै जुरुक्क उठेर त्यो महिलालाई तुरुन्तै भन्नुभयो “जन्म दिने आमा मर्नुभयो लिखुको बगरमा लगेर पोलेर घरमा आएर घिउभात खाएँ, बा मर्नु हुन्छ म त्यसै गर्दछु । यो मरिभने यही तामाकोसीको बगरमा पोल्छु । मैले यसलाई भीरमा लगेर हुत्याएको हैन । ए रा..! मैले तेरो बाबुको सम्पत्ति खाएँ ? मैले सम्पत्ति तिरेर खाना खाएँ । मैले भोक लाग्दा खाना खान पनि नपाउनु ! यस्तै…….” ती महिला चुपचाप बसिन् ।

त्यसपछि हामी बिरामी लिएर सित्तलीबाट हिँड्यौं, मालुखोला पुगेर गाडीमा काकीलाई राखियो । काका छक्क पर्नुभयो । काकालाई अघिल्लो दिन बिहानदेखि मैले के के गरें ? कसरी गरेँ ? कहाँ गएँ ? गाडी कसरी ल्याएँ ? केही थाहा नै थिएन । काकाले सोध्नुनै भएन मैले पनि भनिनँ ।

हामी चरिकोट पुग्यौं । चरिकोटमा १०, १५ मिनेटजति भेटघाट गरेर लागियो काठमाण्डौतिर । ड्राइभर, काका काकी अगाडि । म उभिएँ गाडीको बाहिर । सानो गाडी द्रुत गतिमा अघि बढ्यो । मकैबारी पुगेपछि भीषण पानी पर्न लाग्यो । गाडीको अगाडि खाँदिएर बस्ने ठाउँ पनि थिएन । म पछाडि खुल्ला आकाश मुनि, गाडी स्पिडले गर्दा त चिसो ह्वात्तै बढ्यो । हलहले पुग्दा त म गाडीको पछाडि उभिनै नसक्ने भएँ । बोलाउँदा खै कसले सुनिदिने । आँखा हेर्न सक्ने, बोल्न सक्ने अवस्था थिएन । भीषण वर्षा, हावाहुरीले जब खरिढुङ्गा पुगियो नि बाउको बिहे आमाको रतेउली सबै देखियो । गाडीको पछाडि माथि समाएर बसेको थिएँ समातेको ठाउँ छोडिएको पत्तै भएन । गाडीको पछाडिको खुला टेकिएको भागमा छत्याङ गर्दै पछारिएँ ।

हात ककृएर समाउने अवस्थै थिएन । खरिढुङ्गाबाट गाडी ओरालो लाग्यो अलि सहज महसुस गरें । ओरालोमा गाडी पनि ओरालो पर्ने मैले पनि ड्राइभर भन्दा पछाडिको बाहिरको भागमा पिठ्युँ अड्याउन पाएँ नि । मुडे पुगियो, ठुलोपाखर कटियो, वर्षा हावाहुरी रोकिएको थिएन । मुटुको धड्कन त चलिनैरहेको थियो, म बाँचेकै थिएँ, म त्यसैमा ढुक्क थिएँ । खाडिचौर पुगियो झन मुसलधारे पानी । चिसो त खरिढुङ्गाको भन्दा अलि कम्ती थियो कम्पन उस्तै थियो हातका औंलाहरु चलेकै थिएनन्, जेठको दिन, मेरो अवस्था त्यस्तो ।

बनेपा पुगियो पानी त्यस्तै झन्डै गाडी पानीले बगाएन । बनेपामा त आधाउधी जति गाडी पानीमा डुबाउँदै तारेको पो थियो ड्राइभरले । मेरा दुबै हातका औंला हल्का चल्न लागेका थिए । काठमाण्डौको बीर हस्पिटल पुगियो पानी भीषण नै आइरहेको थियो । म गाडीबाट ओर्लिएँ ड्राइभर र म गएर ह्विलचियर ल्यायौं बिरामीलाई त्यसैमा राखेर हस्पिटल भित्र लग्यौं । बेड भर्ना गरियो ।

त्यसपछि काका काकीसँग बिदा मागेर सोही गाडीमा बसेर ड्राइभरसँगै बाटो लागियो । बनेपा पुगेपछि ड्राइभरले सोध्यो “आज के खानु भयो ?” “चरिकोटदेखि काठमाण्डौसम्म मज्जाले खाएँ त ड्राइभर साहेब पेट टन्नै छ” मैले उत्तर दिएँ । हैट !! भनेर ड्राइभरले होटलमा लगेर चिया नास्ता गरायो । खाडिचौरमा पुगेर ४ बजे खाना खायौं । आफ्नो त खल्ती भित्रका कान्छीनानी घर देखिनै बसाइँ गएका थिए । सबै जिम्मा ड्राइभरलाई दिएँ खै ! के के गरे ?

साँझपख चरिकोट पुगियो त्यहीँ बास बसेँ । भोलिपल्ट बिहानै भाउजुले खाना बनाउनु भयो, खाना खाएँ । ९ बजे त्यही ड्राइभरले नयाँपुल पुर्‍याइदियो ।

अब मालु दिदीको घर जान नयाँपुलबाट हिँडे । हातपाउ, ज्यान असाध्यै दुखेका थिए । बिस्तारै बिस्तारै अघि बढे करिब २, ३ बजे म जफेडाँडो (मालु स्कुल जाने बाटो) मा पुग्नु भन्दा ३०० मिटर नयाँपुलतिरै तेर्सो तेर्सो बाटो भन्दा मुनि वरदेखी परसम्म सिन्केबाँस, बाटो भन्दा ४, ५ कान्लामाथि ढुङ्गाले छाएको घरमा टाँसिएको हो त्यहीँ बाटोमा बाँसको दृष्टी हेर्दै हिँड्दै थिएँ ।

बायाँ खुट्टा टेकेपछि दायाँ खुट्टा चालेर भुइँमा टेक्नेबेला आँखा दृष्टि त्यतै गए । टेक्न आँटेको खुट्टा मुनि कालो बाटोमुनि आधा शरीरको भाग झार्दै गरेको कालो फुश्रो ग्यामरा उखु जत्रै गोलाई भएको सर्प । खुट्टो नटेकी फुत्तै झिकें भनेको चप्पलले चुस्स छोयो । म पछि फर्किएर दौडिएँ । माथ्लो गरामा जाने बाटोको भित्ताको तपिउँ तपिउँ उकालो चढेर यसो फर्किएर हेर्छु भगवान !!!! मेरो खुट्टाकै नजिकै पछिपछि त्यही सर्प हैट ! गराको भित्तै भित्ता अलि पर जोडले दौडिदै माथ्लो गरामा उक्लिएर हेर्दा त त्यही तल्लो गरामा मेरो गोहो पैलाउँदै पछिपछि तल्लो गराको भित्तामा आइनै पुगेछ ।

अब दुईटा अग्ला कान्ला जोडले दौडिदै उक्लिएँ । घर मतान मुनिको गरामा पुगियो । त्यो गरोमा वारपार त भर्खरै राखिएको कोदाको ब्याड पो रहेछ त्यही गराको ब्याडैब्याड सर्पबाट ज्यान बचाउन बतास झैं दौडिदै थिएँ । जब मतानमुनि पुगेको के थिएँ मतानको चरिकोटपट्टिको माथ्लो तलाको झ्यालमा मुन्टो निकाल्दै एक अपरिचित बहिनीले भनिन् “ए आँखा फुटेका मुर्दा ब्याड राखेको देखिनस र ब्याडैब्याड दौडिस !!!”

ब्याडको कुलासामा रहेको कालो गोलो सानो लोहोरो जत्रो ढुङ्गाले उत्तर दिएको । बहिनीले टाउको भित्र लुकाइन ढुङ्गाले सोही झ्याल हुँदै निदालमा बज्रिएर खन्द्र्याङ्ग आवाज सुनाउँदै थियो । म ब्याडैब्याड दौडिदै बाटोमा निक्लिएँ । शरीर काँप्दैकाँप्दै मालु दिदीकोमा पुगेर अघिका सबै वृत्तान्त कहें ।

खाना खाएर सुतेको थिएँ । राती सपनामा त सर्प घाँटीमा बेरिएको सपना देखेंछु । निन्द्रामै ह्या! ह्या!! गरेर कराएँछु । दिदीले कराएको सुनेर मलाई उठाउनु भयो । बिउँझिएर चिच्याउँदै घाँटीमा छामेको त जनै एक फन्को घाँटीमा बेर्ने चलन थियो त्यही जनै घाँटीमा अलि कसिएको रहेछ । त्यसै दिनदेखि घाँटीमा एक फन्को जनै बेर्न छोडिदिएँ ।

भोलिपल्ट बिहानै दिदीले पकाएको खाना खाएर मालुबाट सैपु घरतर्फ लागेँ । बाटो हिँड्दाहिँड्दै दिमागमा अनेकौं प्रश्नहरु उब्जिए । तँ किन सहयोग गर्न हिँडिस ? गाडीमै च्यापिएर मरेको भए नि ? सर्पले डसेर मरेको भए नि ? केटीलाई ढुङ्गाले लागेर मरेकी भए ? एक्लै हिँदा बाटोमा लडेको भए ? ड्राइभरले चिया नास्ता खाना नखुवाएको भए ?

के तँ चाहिँ घरमै बस्नु हुँदैन थियो र ? हो यस्तै यस्तै प्रश्न र प्रश्नको उत्तरको खोजी गर्दै घरमा आइपुगें । उल्लेखित प्रश्नको उत्तर अहिलेसम्म मैले प्राप्त गरेकै छैन । पाठकहरुलाई पनि मैले प्रश्न गर्ने अनुमति मागेँ । मानवीय नाताले घाइते, अपांग, बृद्ध बिमारीलाई सहयोग त गरिन्छ नै उल्लेखित सहयोग यी तीनमध्ये कुन चाहिँ सही होला ? (कर्तव्य, बाध्यता, रहर)

प्रतिक्रिया